Logo

८ दिनमा छात्रवृत्तिका लागि १,०८३ जनाको आवेदन : सबैभन्दा धेरै विज्ञान विषयमा ७७६ जना आवेदक

८ दिनमा छात्रवृत्तिका लागि १,०८३ जनाको आवेदन : सबैभन्दा धेरै विज्ञान विषयमा ७७६ जना आवेदक

काठमाडौँ । ८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ । काठमाडौँ महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ः३० बजेसम्ममा यो संख्या देखिएको हो । यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ । 

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ । 

कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘हामी साउन महिनाको दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ । विवरण सार्वजनिक गर्नेछौँ ।’ 

विद्यालयहरुबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाको भनाइ छ । 

विद्यार्थीहरुले साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दर्ता गराउन सक्नेछन् । 

अनलाइन आवेदन फाराम पेस गर्ने विधि 
काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np  वा http://entrance.kathmandu.gov.np/  मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ । 

तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ । 

पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ । 

अनलाइन फाराम भर्दा एसईई प्रवेश पत्रको विवरण भरेपछि मात्र मुख्य फारम खुल्नेछ । विवरण गलत भए फारम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नु पर्नेछ । माग गरिएका सवै विवरणहरू भरे पश्चात स्वघोषणा स्वीकार (सेल्फ डिक्लियरेसन स्टेटमेन्ट एसेप्ट) गर्नु पर्छ । यसो नगर्दासम्म फाराम सुरक्षित (सेभ) हुँदैन । 

फाराम सुरक्षित (सेभ) गर्दा त्रुटी भएमा, विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा रातो अक्षरले दर्शाएको हुन्छ । यी विवरणहरू सच्याएर फेरि माथिबाटै सबै विवरण रुजु गरेर फारम भर्नु पर्छ । एकपटक फारम भरेर सुरक्षित (सेभ) गरे पछि फारम पेश (समिट) नगर्दासम्म जति पटक पनि सच्याउन सकिन्छ । 

आफ्ना सबै विवरणहरू भरि सकेर सुरक्षित (सेभ) गरेपछि अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । यो पेजमा माथिबाट सबै विवरण पढेर सही भए नभएको जाँच गर्नुपर्छ । सही नभएमा पेजको माथि दिइएको संशोधन गर्ने बटन (इडिट बटन) मा क्लिक गरेर सच्याउन सकिन्छ । आफूले भरेको विवरण ठिक भएमा पेश गर्ने बटन (समिट बटन) मा क्लिक गर्नुपर्छ । 

यो बटनमा थिचेपछि सुनिश्चित गर्ने बक्स (कन्फरमेसन बक्स) आउँछ । आफूले भरेको विवरण सही भएमा ठिक बटन (ओके बटन) मा थिच्नुपर्छ । फारम अनलाइन पेस (फम समिट) भएपछि कुनै पनि विवरण सच्याउन सकिँदैन । 

आवेदन फारम अनलाइन पेस (फर्म समिट) भएपछि सुनिश्चित गर्ने (कम्फरमेसन) पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ । 

यो पेज अनलाइन फारम भरेको प्रमाण हो । 

आवेदन दिन योग्यता र छनोट प्रक्रिया  
छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्छ । 

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो । उहाँकाअनुसार दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई  २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ । 

आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ । 

पेश गर्नुपर्ने सिफारिस 
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिफारिस प्राप्त गर्नुपर्छ । अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले बसोबास भएको स्थानीय तहको वडा कार्यालयबाट शिफारिस लिनुपर्छ । 

पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ । त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता पेश गर्नुपर्छ । नागरिकता नभए जन्म दर्ताको प्रमाणपत्र पेश गर्नु पर्छ । 

घाइते वा अपाङ्गता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस आवेदन साथ पेस गर्नु पर्छ । 

प्रवेश पत्र र परीक्षा  
छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था यसै कार्डमा उल्लेख हुनेछ । 

परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट लगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् । 

परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेल पेन) विद्यार्थी आफैँले ल्याउनु पर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो (बबल) मा पुरै पोत्नु पर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्स जस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन ।परीक्षार्थी निर्धारित समयको २ घण्टा सकिएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाउनेछन । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ । 

नतिजा प्रकाशन 
परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङ्को मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङ्मार्फत परीक्षार्थी आफैँको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यता क्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।

प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क 
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन । 

  • प्रकाशित मिति: बुधबार १० साउन २०८० २०:०९