मेट्रो एफ. एम. को वार्षिकोत्सव : प्रतियोगितात्मक चित्रकला र तस्विरकलाका विजेतालाई पुरस्कार वितरण
काठमाडौं । काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जले २४ औँ वार्षिकोत्सव मनाएको छ । प्रतियोगितात्मक चित्रकला र तस्विर प्रदर्शनीका विजेतालाई पुरस्कार प्रदान गर्दै दिवसका कार्यक्रम सम्पन्न गरिएको हो । २८ औँ महानगर दिवस २०७९ का अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । ती चित्र र तस्विर बसन्तपुरमा प्रदर्शन गरिएका थिए । चित्रकलातर्फ शुशिल श्रेष्ठ, सुनिल शर्मा र महेश प्रधान क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । यस विधामा आर्यन धिमाल र अर्चना श्रेष्ठले सान्त्वाना स्थान हासिल गर्नुभएको थियो । प्रथम पुरस्कार ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २० हजार रुपैयाँ, तेस्रो र सान्त्वाना पुरस्कार क्रमशः १५ हजार रुपैयाँसहित प्रमाण पत्र दिइएको थियो ।
यस्तै चित्रकलातर्फ निरज चित्रकार, प्रवीण श्रेष्ठ, कुन्तीश्री थापा र अमन महर्जनलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वाना पुरस्कार प्रदान गरियो । उहाँलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १५ हजार राशीसहित प्रमाण पत्र दिइएको थियो ।
विपद पूर्वतयारीलाई समुदाय स्तरमा प्रवर्धन साझेदार र सचेतना तथा क्षमता विकासका लागि कृतिम अभ्यासमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ शाखालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
वार्षिकोत्सव अवसरमा बोल्दै, महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, सहरी विकास र व्यवस्थापन, जीवन पद्धतिको सरलता तथा सहजताका लागि सूचना सञ्चारको व्यवस्थित प्रयोगमा ध्यान दिएको उल्लेख गर्नुभयो । अपेक्षा र आवश्यकताबमोजिम नतिजा प्राप्त हुन नसकेको होला, तर महानगरपालिकाका सञ्चार माध्यमहरुले प्रभावकारी काम गरेका छन् । मानन्धरको भनाइ थियो । त्यस क्रममा वडा नंं १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, व्यवस्थापनले जनशक्तिको प्रोत्साहनका लागि र जनशक्तिले संस्थाका कामहरुको प्रवर्धनका लागि काम गर्नु पर्ने बताउनुभयो । कमीकमजोरी हुन सक्छन् । सुधारेर नयाँ गतिमा जान सकिन्छ । के. सी. को भनाइ थियो ।
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, उत्तरदायी सरकारका लागि निगरानी गर्न सक्ने क्षमता सञ्चार माध्यमले विकास गर्नुपर्ने खाँचो देखाउनुभयो । यसका भोगाइ र सिकाइलाई सामयिक रुपान्तरण गरेर समयले मागे अनुसारको ढाँचामा विषयलाई अभिव्यक्त गर्न सक्नु पर्छ । महानगरले सञ्चालन गरेको रेडियोको अबको बाटो यतातिर हुनुपर्छ । अधिकारीले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समितिका समापति श्याम डोटेलले, रेडक्रसका सामाजिक रुपान्तरणका लागि सञ्चालित कार्यक्रम महानगरको सञ्चार सामग्री हुनु पर्ने धारणा राख्नुभयो । यस्तै फोटो पत्रकार शुशिल श्रेष्ठले, समाचारका विभिन्न अङ्गमा काम गर्ने जनशक्तिमध्ये फोटो पत्रकारलाई प्रोत्साहन गर्ने कार्यक्रम कम मात्र हुने बताउँदै महानगरपालिकाले यस क्षेत्रलाई अगाडि ल्याइदिएकोमा आभार व्यक्त गर्नुभयो ।
रेडियो सेवा
वि. सं. २०५४ फागुन २५ गते महानगरले एफ. एम. रेडियो सञ्चालनका लागि १ सय वाट क्षमताको अनुमति प्राप्त गरेको हो । करिब १ बर्ष असन कमलाक्षीमा परीक्षण प्रसारणपछि २०५६ साल असोज १ गते बसन्तपुरमा औपचारिक कार्यक्रम आयोजना गरेर शुभारम्भ गरिएको हो । दक्षिण एशियाली महानगरहरुमध्ये काठमाडौँ महानगरले सुरु गरेको एफ. एम. रेडियो सेवा तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले शुभारम्भ गर्नुभएको हो । स्थापना कालमा १०६ दशमलव ७ मेगाहर्जमा रेडियो बज्ने गर्दथ्यो । सर्कुलर्ली पोलराईज्ड ओम्नी डिरेक्सन एन्टेनाबाट प्रसारण हुने यस एफएमलाई श्रोताको नजिक पुर्याउन मेगाहर्ज परिवर्तन गरेर २०६१ सालदेखि ९४ विन्दु ६ मेगाहर्ज र ५ सय वाट क्षमताको बनाइयो । २०७९ बैशाख १ गतेबाट ५ सय वाटबाट क्षमता बढाएर १ हजार वाट पुर्याइएको छ ।
स्थापना भएपछि २ बर्षसम्म असनबाट सञ्चालन गरिएको २०५८ सालमा कालिकास्थानको एउटा भाडाको भवनमा सारियो । १० बर्ष त्यसै ठाउँबाट रेडियो चल्यो । २०६८ सालमा राष्ट्रिय सभा गृहमा लगिएको रेडियो अहिले पनि त्यहीँबाट चलिरहेको छ ।
सहरी गतिविधि तथा मानवीय आचरणसँगै महानगरले अबलम्बन गरेको वार्षिक नीति, रणनीति, योजना तथा कार्यक्रमका आधारमा रेडियोबाट प्रसारण हुने विषय छनौट हुने गरेको छन् । एफएमबाट नेपाल, नेपाली, तामाङ्, मैथिलीलगायत बिभिन्न भाषामार्फत समाचार र समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रसारण हुँदै आएका छन् ।
तस्विर : महेश प्रधान