Logo

शिक्षामा सिप सिकाउन इच्छुक प्रशिक्षकलाई विद्यालयमा सूचीकृत हुन आग्रह 

शिक्षामा सिप सिकाउन इच्छुक प्रशिक्षकलाई विद्यालयमा सूचीकृत हुन आग्रह 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ । यही शैक्षिक सत्रबाट थालिएको यो कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा शिक्षामा शिप सञ्चालन हुने सामुदायिक विद्यालयका लागि हो । यस्ता ५६ वटा विद्यालय छन् । त्यस बाहेक अरू कक्षामा पुस्तक विहीन शुक्रवार अन्तर्गतका अन्य कार्यक्रमहरू सञ्चालन भइरहेको छ । समग्रमा महानगर भित्र ८९ वटा विद्यालय सञ्चालनमा छन् । 
 
शैक्षिक सत्र २०८० देखि महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ र १०) मा ‘छोटो अवधिको सिपमूलक तालिम कार्यक्रम’ थालनी गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो । ९० घण्टे यो तालिमका लागि १० वटा विषय राखिएको  । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषय हुन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाकाअनुसार, प्रशिक्षकले निर्धारित पाठ्यक्रममा आफैँ प्रशिक्षण प्रदान गर्नुपर्ने । एउटा सूचीकृत हुने अर्कोलाई तालिम दिन पठाउन पाइनेछैन । 
 
१० वटा विधा मध्य कला र मूर्तिकला विधा तालिमका लागि महानरपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान बिच सम्झौता भइसकेकाले वाकी ९ वटा विधाको लागि मात्रै सूचीकृत गर्न पाइने छ । 
 
कुन विद्यालयमा कुन कुन विषयको तालिम सञ्चालन गर्ने भनेर तलको डकुमेन्टमा हेर्न सकिन्छ । 

 

 
अहिले ११ वटा सामुदायिक विद्यालयहरूमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरू पठन पाठन भईरहेका छन् । यस्ता कार्यक्रमबाट प्राप्त सिकाइ र सिपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने यसको मुख्य लक्ष्य हो । 
 
सूचीकृत हुने योग्यता
छोटो अवधिका लागि महानगरपालिकाले निर्धारण गरेका १० वटा क्षेत्रमा तालिम कक्षा सञ्चालन गरिरहेको व्यक्ति तथा संस्था सूचीकृत हुन योग्य हुनेछन् । सूचीकृत सेवा प्रदायक संस्थाको अनुभवलाई ४० अङ्कमा, जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण तालिमलाई ४० अङ्कमा, प्रविधि हस्तान्तरण सम्बन्धी प्रतिविद्धतालाई १० अङ्कमा र आर्थिक तथा प्राविधिक क्षमतालाई १० अङ्कमा मूल्याङ्कन गरेर प्रशिक्षक छनोट गरिनेछ । 
सेवा प्रदायक संस्थाको मूल्याङ्कन गरिने ४० अङ्कमध्ये सम्बन्धित विषयमा तालिम दिएका संंस्थाहरुलाई एक वर्षको अनुभवका लागि २ अङ्क दिइनेछ । यसमा अधिकतम १० अङ्क प्रदान हुनेछ । समूहमा तालिम चलाएको भए एउटा समूहमा २० जना भएको हुनुपर्नेछ । यसका लागि प्रति तालिम १ अङ्क प्रदान हुनेछ । यस सूचकमा अधिकतम १० अङ्क प्रदान हुनेछ । सरकारी क्षेत्रमा तालिम सञ्चालन गर्नेलाई ५ अङ्क र सामुदायिक विद्यालयमा तालिम चलाएको भए ५ अङ्क दिइनेछ । 
 
भौगोलिक क्षेत्रका आधारमा दिइने अङ्कमा महानगरपालिकाभित्रै तालिम सञ्चालन गरेको भए १० अङ्क, काठमाडौँ जिल्लामा चलाएको भए ८ अङ्क, बागमती प्रदेशमा चलाएको भए ५ अङ्क र यसबाहेक अन्य स्थानमा चलाएको भए ३ अङ्क प्रदान गरिनेछ । 
 
जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण सूचकमा, तालिम संयोजकको शैक्षिक योग्यता स्नातकोत्तर भए ५ अङ्क र स्नातक भए ३ अङ्क दिइनेछ । तालिम संयोजन गरेको अनुभवलाई प्रति वर्ष १ अङ्क र बढीमा ५ अङ्क दिइनेछ । ट्रेनिङ् इन्टिच्युट फर टेक्निकल इन्ट्रक्टर (टीआइटीआइ) वा मान्यता प्राप्त संस्थाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त योग्यतालाई ५ अङ्क दिइनेछ । 
 
मुख्य प्रशिक्षकको शैक्षिक योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षणलाई १५ अङ्कमा मूल्याङ्कन गरिनेछ । यस्तै सहायक प्रशिक्षकलाई १० अङ्कमा मूल्याङ्कन गरिनेछ । 
 
आर्थिक प्रस्तावमा, एक आर्थिक वर्षमा १० लाखभन्दा धेरै कारोबार गरेको भए ५ अङ्क र १० लाखभन्दा थोरै कारोबार गरेको भए ३ अङ्क प्रदान गरिनेछ । यस्तै पूर्ण क्षमताको प्रयोगशालालाई ५ अङ्क र आंशिक क्षमताको प्रयोगशालालाई ३ अङ्क प्रदान गरिनेछ । 
 

  • प्रकाशित मिति: बिहीबार १६ कात्तिक २०८० १६:२६