वि.सं.: २०८२, कात्तिक २ आइतबार
इ.स.: 2025 October 19,SUNDAY
वि.सं.: २०८२, कात्तिक २ आइतबार
१२ स्वर्ण पदकसहित राष्ट्रपति रनिङ्ग शिल्ड विश्व निकेतन मा. वि. लाई
पुस २०, काठमाडौँ
१२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ । आज पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार के. सी., निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालयलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।
गएको बर्ष शिल्ड प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयलाई शिल्डको रेप्लिका प्रदान गरिएको छ ।
प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्ने पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित पुरस्कृत गरियो । ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वाना स्थान हासिल गरेको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, खेलमा सहभागी सबै खेलाडीले कुनै न कुनै रुपमा खेल जितेको बताउँदै खेलमा सफल हुनेहरु व्यवहार र आचरणमा असल हुन सुझाव दिनुभयो । त्यस्तै सामाजिक समितिका संयोजक के. सी. ले, महानगर स्तरमा जितेका खेलाडीहरुले जिल्ला स्तरमा हुने प्रतिस्पर्धामा पनि उत्कृष्ट नतिजा ल्याउनेमा विश्वाश व्यक्त गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी कोइरालाले, खेलमा सहभागी कोही पनि विद्यार्थीले नहारेको बताउनुभयो । खेलबाट जागृत भएको आत्मविश्वाशले आउँदा दिनका प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।
प्रतियोगितामा छात्रा भलिबलतर्फ वडा नं. ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ । कन्या माध्यमिक विद्यालय, न्होखामा विहीबार फाइनल खेल भएको थियो । खेलमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो र कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाले तेस्रो स्थान हासिल गरे । यस्तै गीताञ्जली कलेजले सान्त्वाना स्थान हासिल गरेको छ ।
पुरुष भलिवल खेलको अन्तिम प्रतिस्पर्धा आज भएको थियो । खेलमा न्युटन चिल्डे«न एकेडेमी, बालुवाटारले प्रथम, शान्ति शिक्षा मन्दिर, ठँहिटीले दोस्रो र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारले तेस्रो स्थान हासिल गरे ।
हिजो सकिएको कवड्डी खेलमा छात्रतर्फ नासा इन्टरनेशनल कलेज पहिलो भएको छ । भानु माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल ग¥यो । एक्स्पोडेल पब्लिक स्कूल र शान्ति विद्या मा. वि. गरी २ वटा विद्यालयले तेस्रो स्थान हासिल गरे ।
कवड्डी छात्रातर्फ पद्मकन्या माध्यमिक विद्यालयले प्रथम, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरे । त्यस्तै कन्या मन्दिर माध्यमिक विद्यालय र कोटदेवी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।
महानगर स्तरीय खेलबाट जिल्ला स्तरीय खेलका लागि १०१ जना खेलाडी छानिएका छन् । शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार भलिबल छात्रतर्फ २० जना, छात्रातर्फ २० जना, एथलेटिक्समा २८ जना, तेक्वान्दो, उसु र कराँतेमा १२/१२ जना खेलाडी छानिएका हुन् ।
यसरी छानिएका विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतिस्पर्धा हुनु एक साता अगाडि प्रशिक्षण प्रदान गरिने कार्यक्रम रहेको दाहालको भनाइ छ ।
पुस १७ गते दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले खेलको उद्घाटन गर्नुभएको थियो । यस सत्रमा नेपाल प्रहरीको व्याण्ड, महानगर प्रहरी बल र करिब ५० वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । यस्तै संस्कृत माध्यमिक विद्यालयका १२१ जना विद्यार्थीले स्वस्ति वाचन गरेका थिए । उद्घाटन समारोहमा शिक्षक, विद्यार्थीसहित करिब १५ व्यक्तिको उपस्थिति रहेको थियो ।
त्यसपछि सुरु गरिएको खेलमा एथलेटिक्सतर्फ (त्रिपल जम्प, विभिन्न दुरीका दौडसहित) का खेल, उसु र कराँते दशरथ रङ्गशालामा भए । तेक्वान्दो खेल तेक्वान्दो प्रशिक्षणालय सातदोबाटोमा भयो । कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल भए । कन्या विद्याश्रम मा. वि. डिल्लीबजारमा पुरुष भलिवल खेल भयो ।
खेलमा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खेलका दौरानमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलले प्रोत्साहन गर्नुभएको थियो ।