स्थानीय उत्पादनको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ तालिम सुरु
पुस २१, काठमाडौँ ।
रैथाने सिपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ् तथा प्रवर्धनको चक्रबाट अन्तरराष्ट्रिय बजारमा पुर्याउन काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । निर्यातमा काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले आजदेखि सुरु गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिम उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी सिप प्रदान गर्दा निर्यातमा प्रोत्साहन हुने हाम्रो विश्वाश हो ।’ उहाँले बताउनुभयो ।
तालिमपछि सोच र जीवनशैलीमा परिवर्तन आउनेछ । उद्यम गर्ने शैलीमा सुधार भएर सहज हुनेछ । व्यापार सञ्जाल बढ्नेछ । यसबाट समग्र आयमा वृद्धि हुनेछ भन्ने अपेक्षा गरेका छौँ । डंगोलले तालिमको नतिजा स्पष्ट पार्नुभयो ।
२ सय जना वडाबासीलाई तालिम दिएर स्थानीय उत्पादनलाई निर्यातमा प्रोत्साहन गर्ने योजनाअनुरुप तालिम थालिएको वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिनुभयो । ‘पहिलो समूहमा २० जनालाई सहभागी गराएका छौँ । वडा वडाहुँदै सबै महानगरबासीलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम दिन्छौँ । यसबाट आय र रोजगारीका लागि अवसर सिर्जना हुन्छन् । यी कार्यक्रम प्राथमिकतामा छन् ।’ महर्जनको भनाइ थियो ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले तालिममा प्रस्तुतिकरण गर्दै भन्नुभयो, सामग्री उत्पादन गर्दागर्दै त्यसका उपभोक्ताहरुलाई सामग्रीका विषयमा जानकारी दिने योजना बनाउनु पर्ने बताउनुभयो । उत्पादित सामग्रीको उचित मूल्यका लागि उचित बजारमा पुर्याउनु पर्छ । यसको रणनीतिले निर्यात बढाउन सकिन्छ । उहाँको भनाइ थियो ।
तालिममा सहभागीमध्ये ४० प्रतिशत युवाका अभिभावक अहिले पनि कुनै न कुनै उत्पादन कार्यमा हुनुहुन्छ । सहभागीले, आफ्ना अभिभावकका उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिनुभयो ।
तालिममा बजारको मागका विषयमा जानकारी तथा सूचना लिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ्, लेभलिङ्ग, बजारीकरणको सिप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित बस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सिप सिकाइनेछ ।
तालिम हरेक शनिवार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।
वडाले यस अघि सामाजिक विकासको काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रम माग गर्ने, सञ्चालन गर्ने, प्रतिवेदन दिने, कार्यक्रम फस्र्योट गर्ने प्रक्रियाका विषयमा अभिमुखीकरण तालिम र विपद व्यवस्थापन क्षमता विकास तालिम सञ्चालन गरिसकेको छ । वडाबासीको क्षमता विकास गराउन सञ्चालन गरिएको यो तेस्रो समूहको तालिम हो ।