Logo
  • वि.सं.: २०८३, असर ६ शनिबार

  • इ.स.: 2026 June 20,SATURDAY

  • वि.सं.: २०८३, असर ६ शनिबार

  • घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराए ५ हजार रुपैयाँसम्म जरिवाना 

    घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराए ५ हजार रुपैयाँसम्म जरिवाना 

    पुस २४, काठमाडौँ । 

    घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई महानगर प्रहरी बलले कारवाही गराउन थालेको छ । काठमाडौँ महानगरपालिका कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो । 

    कार्यविधिले घरपालुवा कुकुर विरालालाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ । महानगरपालिकाले सामुदायिक कुकुर र बिरालाहरुको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था गरेको छ । 

    कार्यविधिले महानगरपालिका क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा रूपमा छोड्न रोक लगाएको छ । घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैँले गर्नु पर्नेछ । कार्यविधिका विषयमा जानकारी दिँदै कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झा भन्नुहुन्छ, ‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा पिसाब गराएर फोहोरमैला बनाउने वा पालेको कुकुर बिरालो छाडा छोडेका पाइएमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

    सहरी सुन्दरता र व्यवस्थापनका लागि महानगर प्रहरी बलले प्रचलित कानुन कार्यान्वयनमा सक्रियता बढाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘अनधिकृत क्रियाकलाप रोक्नु हाम्रो जिम्मेवारी हो । हाम्रा सबै ४ वटै (पूर्व, पश्चिम, उत्तर र मध्य) क्षेत्रबाट परिचालन हुने टोलीले घर पालुवा कुकुर विरालोलाई सार्वजनिक स्थलमा शौच गराएको देखे भने कारवाही प्रक्रिया अगाडि बढाउनेछन् ।’
     

     

  • प्रकाशित मिति मंगलबार २५ पुस २०८० ०७:०८ PM