‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ महानगर गौरव योजनाको औपचारिक शुभारम्भ 

माघ २, २०८०। 

काठमाडौँ । १० वटा महानगर गौरव योजनामध्ये काठमाडौँ महानगरपालिकाले आज ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको संकेत चिन्ह सार्वजनिक गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराउने क्रियाकलाप सञ्चालन हुनेछन् । 

महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । 

यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने, जसमध्ये ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने लक्ष्य राखिएको छ ।  

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘जनशक्तिको माग र आपूर्तिको चक्रलाई अध्ययन गरेर आवश्यकताका आधारमा तालिमका विधा छानिएको हो । जनशक्तिको माग हुने क्षेत्रबाट सिपयुक्त जनशक्ति नभएको गुनासो आउँछ । अर्कोतिर शैक्षिक योग्यता प्राप्त गरेका विद्यार्थीहरु आफ्नो योग्यताअनुसारको रोजगार नपाएको गुनासो गर्नुहुन्छ । माग र आपूर्तिका विचमा भएको यो कमीलाई तालिमबाट घटाउने हाम्रो लक्ष्य हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘महानगरपालिकाले आयोजना गरेका कार्यक्रमबाट मेरो वृत्ति विकास भयो । म रोजगार भएँ भन्ने व्यक्तिहरुको संख्या बढ्ने आशा लिएका छौँ । आय वृद्धि गराउन सिपयुक्त हुन जरुरी छ । यो जरुरी पूरा गराउने हाम्रो प्रयास हो ।’

‘पूर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक विकासका कार्यक्रममा महानगरपालिकाले काम गरिरहेको छ । यसबाट अनुभव गर्न सकिने नतिजा आउनेछ ।’ कार्यपालिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘आज जनजीविका, पेशा र सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यक्रम थालिएको छ ।’

कार्यक्रममा प्रस्तुतिकरण गर्दै सूचना प्रविधि विज्ञ सुदीप ढकालले, तालिम कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । तालिमका क्षेत्र र लक्षित वर्गका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘रोजगारमूलक तालिम दिएर उनीहरुको सिप र क्षमता बढाउने, आय आर्जनका क्रियाकलापमा सक्रिय बनाउने र रोजगारदातासँग आवद्ध गराउने यसको लक्ष्य हो । सिप सिकेका व्यक्तिहरु श्रम वैङ्कमा आवद्ध हुने र रोजगारदाताले श्रम बैङ्कबाट जनशक्ति लिन सक्ने संयन्त्र निर्माण गरिएको छ ।’

उद्घाटन कार्यक्रममा सहभागी हुन इच्छुकहरुलाई अनलाइन इच्छा व्यक्त गर्ने अवसर दिइएको थियो । यसबाट ८ हजार ३७६ जनाले कार्यक्रममा सहभागी हुन इच्छा देखाउनुभएको थियो । जसमध्ये करिब ४ हजार व्यक्ति कार्यक्रम स्थलमा आउनु भएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीमध्ये साइबर सेक्युरिटी तालिम लिन इच्छा हुनेलाई रुचि फाराम भर्न दिइएको थियो । यसमा करिब २ हजार व्यक्तिले इच्छा देखाउनुभएको झाको भनाइ छ ।

कार्यक्रममा तालिमसँग सम्बन्धित विधाका प्रदर्शनीहरु राखिएका थिए । यसमा विद्यालयहरुमा चलिरहेको शिक्षामा सिप कार्यक्रमका प्रशिक्षक तथा प्रशिक्षण संस्थाहरु सहभागी थिए ।  

तालिम लिन कसरी फाराम भर्ने 
चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ । अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । 

साइबर सेक्युरिटी तालिममा सहभागी हुन चाहनेले दिइएको क्युआर स्क्यान गरेर प्राप्त हुने फाराम भरेर पठाउन सक्नुहुनेछ । 

फाराममा इच्छुक व्यक्तिले नाम थर, शैक्षिक योग्यता, हाल सम्लग्न पेशा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरुका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ । 

शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन् । फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ । 

अहिलेसम्ममा सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् ।

साइबर सेक्युरिटी तालिम
महानगरपालिकाले आजै साइबर सेक्युरिटी तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । यो तालिमका साझेदार इसी काउन्सिल र ग्याप टेक्नोलोजिज हुन् । यो तालिम ४ हजार व्यक्तिलाई दिइनेछ । 

कार्यक्रममा उपप्रमुख डंगोलले, साइबर सेक्युरिटी व्यक्तिको दैनिक जीवन, पेशागत जीवनसँगै संस्थाहरुका लागि अपरिहार्य बनेको उल्लेख गर्नुभयो । यसलाई सम्भावित जोखिमबाट बचाउन तालिम दिन अहिलेको सापेक्ष कार्यक्रम हो । उहाँको भनाइ थियो । 

इसी काउन्सिलका उपाध्यक्ष निसर्ग आचार्यले प्रविधिको बढ्दो प्रयोगसँगै व्यक्तिहरु व्यक्तिगत रुपमा, पेशाकर्मीहरु पेशागत रुपमा र संस्थाहरु संस्थागत रुपमै जोखिममा रहेको उल्लेख गर्नुभयो । यसबाट बच्ने उपायका बारेमा गम्भीर भएर सोचिएको छैन । अब सोच्ने बेला आएको छ । आचार्यको भनाइ थियो । 

ग्याप टेक्नोलोजिजका सहसंस्थापक तथा प्रमुख कार्यकारी प्रिन्स अग्रवालले प्रविधिलाई जोडेर तालिम चलाउने महानगरपालिकाको निर्णयबाट धेरै क्षेत्रमा लाभ पुग्ने बताउनुभयो ।

साइवर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।  

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइनेछ । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला यस्ता प्रणाली सञ्चालन हुने प्लेटफर्म, यस्ता प्लेटफर्महरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् । 

समूहगत छलफलमा साइबर सेक्युरिटी
व्यक्ति व्यक्तिमा साइबरसँग सम्बन्धित खतरा बढिरहेका बेला महानगरपालिकाले यसको सुरक्षासँग सम्बन्धित विषय तालिम चलाउनु, यसका प्रभाव, अवस्था र आवश्यकताका विषयमा छलफल चलाउनुलाई विषय विज्ञहरुले प्रशंशा गर्नुभएको छ । 

समाज परिवर्तनका पक्षहरुमा प्राज्ञिक क्षेत्रबाट छलफल चल्नु पर्ने थियो । महानगरपालिकाबाट थालियो । यसले भोलिको समाजलाई ठूलो योगदान दिनेछ । उहाँहरुको साझा मत थियो । 

‘साइबर सुरक्षा बढाउन आवश्यक लगानी नगरेको, नीति बलियो नदेखिएको सरकारका कमजोरी हुन् ।’ विज्ञहरुले वैङ्क तथा वित्तीय संस्थाहरु, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका प्रयोगकर्ता तथा व्यवसायीहरुमा पनि सुरक्षा संवेदनशीलता नदेखिएको दृष्टिकोण राख्नुभएको छ । 

आयोगका सदस्य झाले सहजीकरण गर्दै, साइबर सुरक्षाका लागि हामी कता जानु पर्ने थियो, कता जाँदैछौँ, के गर्नु पर्ने थियो, के गर्दैछौँ, सन्दर्भभित्र सामुहिक छलफल चलाउनुभएको थियो । 

छलफलमा राष्ट्र बैङ्कका डिजिटल करेन्सी महाशाखाका निर्देशक इञ्जिनियर कृष्णराम धुँजु, नेपाल प्रहरीको साइबर व्युरोका प्रमुख पशुपति राय, इनोभेट नेपाल समूहका अध्यक्ष सुलभ वुढाथोकी, एनसेलका सूचना सुरक्षा एकाइ प्रमुख यस्मिन भट्टराई सहभागी हुनुभएको थियो । 

तालिमका विधाहरु 
१)     प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम 
२)    सफ्टवेयर डिभलपमेन्ट तालिम 
३)    प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम 
४)    सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम 
५)    कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम 
६)    व्युटी पार्लर तथा सैलुन तालिम 
७)    मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम 
८)    लाइट भेहिकल मेन्टिनेन्स तालिम 
९)    कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम
१०)    हस्तकला तथा मूर्तिकला तालिम 
११)    आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम
१२)    सरसफाइ तथा माली तालिम
१३)    कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम
१४)    हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम 
१५)    फास्टफुड÷चाइनिज र इन्डियन कुक तालिम 
१६)    बारिस्ता ÷ बेकरी तालिम 
१७)    बार ट्रेण्डिङ्÷वेटर÷वेट्रिस तालिम
१८)    होम एप्लाइन्सेस मर्मत तालिम 
१९)    अनलाइन रोजगार (जब) तालिम 
२०)    सम्पदा निर्माण तथा मर्मत तालिम 
२१)    प्रोसेसनल अकान्टिङ् तालिम 
२२)    रिसेप्सनिष्ट तथा क्यासियर तालिम 
२३)    मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम 
२४)    ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् 
२५)    एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम 
२६)    टुटिस्ट गाइड तालिम 
२७)    सेक्युरिटी गार्ड तालिम
२८)    स्पा तथा थेरापी तालिम 
२९)    लघु उद्यम विकास सहजकर्ता तालिम 
३०)    जुत्ता बनाउने तालिम 
३१)    सहकारी व्यवस्थापक तालिम 
३२)    गरगहना बनाउने तालिम 
३३)    विभिन्न खेलकुदका लागि 
३४)    अन्य तालिमका लागि 

तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सकिने विभागले जनाएको छ ।  

साइबर सेक्युरिटी तालिममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरेर फाराम भरेर पठाउन सक्नुहुनेछ । 

सम्बन्धित समाचार

Facebook Comments