विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्न गुरुयोजना बनाएर एकद्वार प्रणालीबाट लगानी गर्नु पर्ने देखियो - उपप्रमुख डंगोल

माघ ४, २०८०
काठमाडौँ 

‘विद्यालयको पूर्वाधार विकास गर्नु पूर्व गुरुयोजना बनाउनु पर्ने, यसका आधारमा एकद्वारबाट लगानी हुनु पर्ने अनुगमनका क्रममा महसुस भएको छ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन तथा मूल्याङ्कन समितिकी संयोजक सुनिता डंगोल भन्नुहुन्छ, ‘टुक्रा टुक्रामा गरिने निर्माण कार्यले विद्यालयका अधिकांश पूर्वाधार अधुरा देखिए । लगानी ठूलो देखिन्छ तर, लगानीअनुसारको भौतिक समृद्धि र सुविधा उपलब्ध भएको देखिँदैन । विद्यालयको ध्यान थालिएका पूर्वाधारको निर्माण सम्पन्नतातिरभन्दा अन्य योजना कहाँबाट ल्याउन सकिन्छ भन्नेमा देखियो ।’ आज डिल्लीबजार कन्या माध्यमिक विद्यालयको अनुगमनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

अनुगमनका क्रममा निर्माणाधीन र निर्माण सम्पन्न भएका संरचनाहरु ( प्रदेश सरकारले निर्माण गरेको मन्टेश्वरी भवन, वडा कार्यालयले निर्माण गरिदिएको माथिल्लो तलाको ट्रस, सवलीकरण गरिएको पुरानो भवन, चमेना गृह, सीमा पर्खाल) हेरिएको थियो ।

गएको आर्थिक बर्षमा गरिएका कामहरु पूरा नहुँदा संरचनाहरु प्रयोगमा आउन सकेका छैनन् । ट्रसका पिलर डण्डीमा प्लेट राखिएको छैन । छाना र पर्खाल तथा डण्डी आपसमा जोडिएका छैनन् । नयाँ एक तले भवनलाई थप तला कसले कहिले बनाउने एकिन छैन । सवलीकरण गरिएको पुरानो भवनको छतबाट पानी रसाउन छोडेको छैन । चेन गेट सर्दैन । अनुगमनका क्रममा देखिएका समस्या हुन् । 

यसरी बनाइएका पूर्वाधारमा प्रदेश सरकारबाट प्राप्त ८५ लाख रुपैयाँमा मन्टेश्वरी भवन, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त १२ लाख रुपैयाँमा चमेना गृह, छत तलामा ट्रस राखेर आइटी ल्याब बनाउन, सुरक्षाका लागि सीमा पर्खाल लगाउन वडा कार्यालयबाट प्राप्त भएको ३५ लाख रुपैयाँबाट काम भएको हो । पुरानो भवन सवलीकरणका लागि ५ करोड रुपैयाँ खर्च भएको छ । यसपछि मैदानलाई बालमैत्री बनाउनेलगायतका काम बाँकी छन् । 

विद्यालयले आन्तरिक आम्दानी पनि गरेको छ । परिसरमा बनाएका सटरबाट भाडामा लगाएको छ । 

विद्यालयको यो अवस्था बुझिसकेपछि उपप्रमुख डंगोलले, विद्यालयको आन्तरिक आम्दानी र खर्चको विवरण बुझाउन निर्देशन दिनुभएको छ । 

यस्तै सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, पूर्वाधार निर्माणसँग सम्बन्धित कागजपत्र (निर्माण सामग्री, श्रम र उपकरण प्रयोगको विस्तृत सूची) अध्ययन गर्नु पर्ने बताउनुभयो ।

खरिद र मूल्य निर्धारणका लागि तयार पारिएका आधारलाई अनुगमन सूचक मानेर परियोजनाको अवस्था हेर्न थालिएको उपाध्यक्ष राजभण्डारीको भनाइ छ । 

ठूला योजना तथा कार्यक्रमको अनुगमनलाई निरन्तरता दिएको छ । 

विद्यालयको भौतिक सुधार र बाल क्रियाकलापका लागि वडाबाट लगानी गरिएको छ । अनुगमनका क्रममा वडा सदस्य सन्तोष ढुङ्गेल र रेनु श्रेष्ठले जानकारी गराउनुभएको थियो । 

योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछानेले, आवश्यकता पहिचान गर्दा प्रयोगकर्ता को हुन् भन्ने हेर्नु पर्ने खाँचो देखाउनुभयो । विद्यालयको मैदानमा विछ््याइने सामग्रीमा बालबालिका लडे भने चोट नलाग्ने खालको हुनुपर्छ । ब्लक छाप्दा उबडखावडलाई सम्म बनाउन सकिन्छ तर यसलाई बालमैत्री मान्न सकिँदैन । लामिछानेको भनाइ थियो । 

विषयगत अनुगमन टोली गठन 
अनुगमन तथा मूल्याङ्कन समितिप्रति उत्तरदायी हुने गरी ३ वटा विषयगत अनुगमन टोली गठन गरिएको छ । उपप्रमुख एवं समितिकी संयोजक डंगोलको अध्यक्षतामा आज नै बसेको बैठक टोली गठन गरेको हो । 

यसरी गठन गरिएका टोलीमा सहरी योजना आयोगका विज्ञ सदस्य डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास, आयोगका विज्ञ सदस्य इञ्जिनियर सरस्वती मानन्धरको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण, आयोगका विज्ञ सदस्य इञ्जिनियर बाबुराम भट्टराईको संयोजकत्वमा सम्पदा तथा भौतिक पूर्वाधार अनुगमन टोली गठन गरिएको हो । हरेक टोलीमा क्षेत्रगत ५ जना सदस्य हुनुहुन्छ । 

 

 

सम्बन्धित समाचार

Facebook Comments