माथेमाले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा
काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।
आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको हो ।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पुर्याउन काम गरिएको बताउनुभयो । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भन्नुभयो, ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलीदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’
माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानव सेवा आश्रम उहाँकै नामबाट बनाउने योजनामा छौँ । उपप्रमुख डंगोलको भनाइ थियो ।
सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताउनुभयो । अधिकार प्राप्तिका कोणबाट नागरिकहरुलाई प्राप्त भएको सुविधा जोगाउन सहिदले देखेको सपनालाई साक्षी राखेर काम गर्नुपर्ने होडाको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्नुभयो, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो ।’
माथेमा गुथीका अध्यक्ष नरेशरामभक्त माथेमाले, निरंङ्कुश राणा शासनबाट मुक्त गराउने जत्तिको महत्वपूर्ण काम अन्य केही हुन नसक्ने बताउनुभयो । सहिदको सम्मानमा दिइने राष्ट्रिय विदा कटौती हुनु हुँदैनथ्यो । महानगरपालिकाले यो सन्देश संघ सरकारलाई दिनुपर्छ । उहाँको भनाइ थियो ।
यो तुच्छ नश्वर सरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य । — धर्मभक्त माथेमा
माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिनुभयो । शारिरीक सुगठन प्रतियोगितामा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाउनुभएको थियो । वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद गठन गर्नुभएको थियो ।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उहाँलाई प्राणदण्ड दिइएको थियो । उहाँ बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । ३ पटकसम्म प्रयास गरेपछि मात्र उहाँलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उहाँ ३१ बर्षको मात्र हुनुहुन्थ्यो ।
देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरु सदैव कटिवद्ध हुनुहुनेछ । — धर्मभक्त माथेमा
वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो ।
धर्मभक्तले प्रतिवन्धित समयमा राणाहरुको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरुलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।
तस्विर : सुजन तिमल्सिना