आगामी आ. व. को आय प्रक्षेपणका लागि विज्ञ समूहबाट अवस्था अध्ययन गराउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
‘राजस्वको दर निर्धारण गर्दा करदातालाई भार महसुस नहोस् । बजारको अवस्था करको दर र दायरालाई सुक्ष्म विश्लेषण गरौँ ।’ उहाँले भन्नुभयो, ‘दर कम भएर आय कम हुने होइन । आय बढाउन दायरा पनि बढाउनुपर्छ ।’
चालु आर्थिक बर्षमा राजस्वको वडास्तरीय अनुगमन भइरहेको छ । यसबाट दायरा बढेको निष्कर्ष निकाल्दै बैठकले यसलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ ।
करदाताको संख्यामा वृद्धि
बैठकमा अहिलेसम्मको राजस्व संकलनको अवस्था प्रस्तुत गर्दै समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, आजसम्ममा ६ अर्व ३८ करोड ५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको विवरण पेश गर्नुभएको थियो । गएको बर्ष आजकै मितिसँगको तुलनामा यो २६ करोड ७ लाख ७३ हजार रुपैयाँ धेरै हो । यस्तै चालु आर्थिक बर्षको लक्ष्यको ५९.०४ प्रतिशत हो ।
गएको आर्थिक बर्ष र चालु आर्थिक बर्षको पुस मसान्तसम्मको कर संकलनको तुलनात्मक अवस्थालाई हेर्दा यो बर्ष सकारात्मक देखिएको छ । काफ्लेका अनुसार गएको बर्ष सम्पत्ति करमा ६५ करोड २० लाख १० हजार ८२० रुपैयाँ संकलन भएकोमा चालु आर्थिक बर्षमा ६७ करोड ३१ लाख ७८ हजार ५९० रुपैयाँ संकलन भएको छ । यो २ करोड ११ लाख ६७ हजार ७६९ (३.२५ प्रतिशत) रुपैयाँ धेरै हो । बहाल करमा १७ करोड ४८ लाख १७ हजार ६९ रुपैयाँ (१४.८० प्रतिशत) धेरै राजस्व संकलन भएको छ । गएको बर्ष १ अर्व १८ करोड १५ लाख १३ हजार ४६८ रुपैयाँ संकलन भएकोमा यस बर्ष १ अर्ब २५ करोड ६३ लाख ३० हजार ५३८ रुपैयाँ संकलन भएको छ ।
यस्तै व्यवसाय करतर्फ १ करोड १७ लाख ७८ हजार २ सय रुपैयाँ (३.७५) धेरै राजस्व संकलन भएको छ । गएको बर्ष ३१ करोड ४१ लाख ५९ हजार २८२ रुपैयाँ संकलन भएकोमा यस बर्ष ३२ करोड ५९ लाख ३७ हजार ४८३ रुपैयाँ संकलन भएको थियो ।
करदाताको संख्यासँगै कर रकम बढेको हो । गएको बर्षभन्दा यस बर्षको पुस मसान्तसम्ममा सम्पत्ति करतर्फ १ हजार ७३९ जना, बहाल करतर्फ ५ हजार ४० जना र व्यवसाय करतर्फ १ हजार ७३९ जना करदाताको संख्या थपिएको छ । यी शीर्षकहरुमा गएको बर्ष करदाताको संख्या क्रमशः ५४ हजार ७१८ (सम्पत्ति कर), ३६ हजार ५६८ (वहाल कर) र २७ हजार ७७९ (व्यवसाय कर) थियो । यो बर्ष ५६ हजार ४५७ (सम्पत्ति कर), ३९ हजार ६०३ (वहाल कर) र ५६ हजार ४५७ (व्यवसाय कर) करदाताको संख्या पुगेको छ ।