Logo
  • वि.सं.: २०८२, मंसिर ११ बिहीबार

  • इ.स.: 2025 November 27,THRUSDAY

  • वि.सं.: २०८२, मंसिर ११ बिहीबार

  • पूर्वाधार निर्माणको योजना तयार पार्दापार्दै वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

    हरेक विहीबार योजना अनुगमन 

    काठमाडौँ । पूर्वाधार योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमान जस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न, काम गरिने ठाउँमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले विभागीय निर्देशन दिनुभएको छ । आज जमल-कमलाछी-असन, भोटाहिटी-असन, असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा विछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनभरण प्रणालीको कुरा गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

    ‘सडक आफैँलाई पानी पुनःभरण हुन सक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज पीट राखेर भए पनि पानी पुनः भरण गराउनु पर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ । अनि मात्र योजना दिगो र समुदायले अपनत्व गर्ने खालको हुन्छ ।’ डंगोलको भनाइ थियो । 

    ‘यस सडक खण्डमा सतहको पानी कसरी निकास हुन्छ? सडकमा पानी जम्मा भएर पैदल यात्री, स्थानीयबासी तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन?’ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले योजना तर्जुमादेखि कार्यान्वयन चरण सम्मका प्रक्रियाका बारेमा अधिकारीहरुसँग जानकारी माग्नुभयो । 

    यस सडक खण्डमा पानी पुनःभरण हुने विधिबाट ढुङ्गा विछ्याउने योजना थियो । यसका लागि १ सय मिटर सडकमा करिब १ महिना परीक्षण गरियो । सवारी साधनको नियमित आवतजावतले पानी पुनभरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि  तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो । अनुगमनका क्रममा सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले जानकारी गराउनुभयो ।  

    करिब ९ सय मिटर लामो यो सडक खण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, ८ इञ्च चौडाइ र ४ इञ्च मोटाइ भएका ढुङ्गा छापिएका छन् । ४ करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ३ करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुनःभरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको विभागीय प्रमुख राईको भनाइ छ ।

    योजना मूल्याङ्कन तथा अनुगमन एकाइका उपनिर्देशक गंगाधर गौत्तमका अनुसार अनुगमनका क्रममा सामान्य त्रुटि देखिएका छन् । यी त्रुटि सुधारका लागि निर्माण पक्षलाई पत्राचार गरिनेछ । 

    अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरुको सहभागिता थियो । 

  • प्रकाशित मिति बिहीबार ११ मंसिर २०८२ १२:०५ PM