वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
प्रमुख शाहबाट नगर सभामा आर्थिक विधेयक पेश
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नगर सभामा आर्थिक बर्ष २०७९÷०८० का लागि आर्थिक विधेयक पेश गर्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको नगर सभाको ११ औँ अधिवेशनमा उहाँले अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न तयार पारिएको विधेयक पेश गर्नुभएको हो । विधेयकमा स्थानीय कर, दस्तुर, शुल्क, जरिवाना संकलन तथा छुट तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्थापनको प्रबन्ध गरिएको छ ।
विधेयकमा सम्पत्ति कर, भूमिकर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधनजस्ता शीर्षकका कर सम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, बहाल विटौरी शुल्क, सवारी साधन पार्किङ् शुल्क, से्वा शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घर जग्गा रजिष्ट्रेसन शुल्क, राजस्व तथा शुल्क संकलन कार्यविधिलगायत व्यवस्था छन् ।
यी व्यवस्थालाई १७ वटा अनुसूचीमा दर निर्धारण गरिएको छ । सम्पत्ति करको दरमा सुरु १ करोडमा ०.०१० अर्थात् १ हजार हुनेछ । त्यसपछिका हरेक १ करोडमा क्रमशः ०.०१५, ०.०२०, ०.०४०, ०.०६०, ०.१००, ०.३००, ०.४५० प्रस्ताव गरिएको छ । १० करोडभन्दा माथि जतिसुकै भए पनि ०.६०० प्रतिशत हुनेछ ।
भवन मूल्याङ्कन दर, भवनको ह्रास कट्टी प्रतिशत र ह्रास कट्टी गर्ने अवधि, सम्पत्ति कर प्रयोजनका लागि घरजग्गाको प्रतिआना मूल्य अनूसूचीहरुमा क्रमश राखिएको छ । घर जग्गाको प्रतिआना मूल्यलाई १७७ बुँदामा उल्लेख गरिएको छ । यसैगरी निकास भएका र नभएका सडकका दायाँ वायाँ सहायक पिच मोटर बाटो, पिच मोटर बाटो र गोेरेटो बाटोमा बाँडेर छुट प्रतिशत उल्लेख गरिएको छ ।
बहाल करमा आवासीय, कार्यालय प्रयोजन र व्यवसायिक गरी ३ भागमा बाँडेर फ्लोर एरिया, कार्पेट एरियाका आधारमा बहाल दर निर्धारण गरिएको छ । वार्षिक १ लाखभन्दा कम बहाल आय भएका र अन्य कुनै पनि आम्दानीको स्रोत नभएका करदातालाई वडा समितिले निर्णय गरेर छुट दिन सक्नेछ ।
पुँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोवारका आधारमा व्यवसाय करको दर प्रस्ताव गरिएको छ । यसमा ९ क्षेत्रका व्यवसायअन्तर्गतका ३९६ वटा व्यवसायको दर उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा धेरै व्यापारिक बस्तुमा ९० प्रकार छन् । व्यवसाय करका क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवा, उत्पादनमुलक व्यवसाय तथा उद्योग, कृषि तथा खाद्यान्न व्यवसाय, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा व्यवसाय, वित्तिय सेवा व्यवसायसहितका शीर्षक समेटिएका छन् । स्वास्थ्य सेवा व्यवसाय, शिक्षा तथा तालिम व्यवसाय, मर्मत तथा सम्भार व्यवसाय, निर्माण व्यवसाय र अन्य सेवा तथा व्यवसाय रहेका छन् ।
सवारी पार्किङ्लाई व्यवस्थित गर्न क्षेत्र र सवारीको प्रकृतिलाई बर्गीकरण गरेर शुल्क तोकिएको छ । यसरी तोकिएका क्षेत्र २ वटा छन् । यस्तै सवारीका प्रकार २ पाङ्ग्र, ४ पाङ्ग्र र ४ पाङ्ग्रेभन्दा ठूला सवारी साधन छन् ।
पार्किङ्का लागि सडकको २५ प्रतिशतभन्दा धेरै भाग ओगट्न पाइनेछैन । पार्किङ् स्थल रेखाङ्कन गरेर महानगर आफैँले वा निजी क्षेत्रबाट सञ्चालन हुनेछ । यसमा प्रवेश गर्ने र बाहिर निस्कने ठाउँ छुट्टाछुट्टै हुनुपर्नेछ ।
सेवा शुल्क दस्तुरमा ८ क्षेत्र छन् । व्यक्तिगत सिफारिस, घरजग्गा सम्बन्धी सिफारिस, व्यवसाय उद्योग तथा संघ संस्था सम्बन्धी शिफारिस, कन्सल्टेन्सीसहित शिक्षा सम्बन्धी शिफारिस रहेका छन् । यस्तै भवन निर्माण नक्सा प्रमाणित सम्बन्धित सिफारिस दस्तुर, हनुमान ढोका दरवार संरक्षण कार्यक्रमअन्तर्गतका शुल्क तथा दस्तुर, फोहोरमैला तथा सरसफाइ व्यवस्थापन सम्बन्धी दस्तुर र अन्य शुल्क तथा दस्तुर समावेश छन् ।
पटके जरिवानामा अनधिकृत रुपमा पार्किङ् गरिएका सवारी साधनसहित विभिन्न क्रियाकलाप समावेश छन् ।
छुटको व्यवस्था
कोविडको सञ्चयी प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा लिजमा लिएकाहरुलाई आ. व. २०७८÷०७९ सम्मको कर चुक्ता गरेमा आ. व. २०७९÷०८० को करमा ४० प्रतिशत छुट दिइनेछ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट वक्यौतामा दिइनेछैन । यस्तै यस क्षेत्रका व्यवसाय करमा २५ प्रतिशत छुट दिइनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App