Logo
  • वि.सं.: २०८३, कात्तिक १५ शनिबार

  • इ.स.: 2026 October 31,SATURDAY

  • वि.सं.: २०८३, कात्तिक १५ शनिबार

  • ताजा अपडेट

    मेट्रो एफएम

    टुक्रिँदै गएको सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव 

    टुक्रिँदै गएको सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव 

    काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतकर्ताहरुबाट यो सुझाव प्राप्त भएको हो । 

    सहरमा बस्ने मानिसहरु असाध्यै व्यस्त भए । आपसमा कुराकानी गर्ने समय पाउँदैनन् । छिमेकीसँगको कुरा त परको कुरा । वडाध्यक्ष ईश्वरमान डंगोल भन्नुहुन्छ, ‘भेट भएर आत्मीय हुने वातावरण बनाउनु सामाजिक व्यवस्थापनका कोणबाट एक तहको सफलता हो ।’ मानिसको जीवनमा रस आवश्यक पर्ने भए पनि तनाव व्यवस्थापन गर्न नसकेर व्यक्तिहरु निरस जीवन विताइरहेको बताउँदै उहाँले, यसबाट व्यक्तिको स्वास्थ्य, परिवारसँगै समाजको अवस्था जीर्ण हुने धारणा राख्नुभयो । यो जोखिम घटाउन समाजका सदस्यहरुबिच आत्मीय सम्बन्ध स्थापना बनाउने कार्यक्रम चाहिएको डंगोलको भनाइ छ । 

    वडाले स्थानीयबासीका बिचमा चलाएको मनोसामाजिक परामर्श अहिलेका लागि जरुरी कार्यक्रम हो । कार्यक्रममा सहभागी वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले, यसप्रकारको सिकाइ विस्तार हुने अपेक्षा राख्नुभयो । 

    कार्यक्रममा वडाका जनप्रतिनिधि र कर्मचारीसँगै स्वास्थ्य स्वयमसेविका, महिला समिति, नागरिक समाज, संघसंस्था, क्लव, उपभोक्ता समिति, टोल सुधार समितिका प्रतिनिधिहरुलाई सहभागी गराइएको थियो । 

    एकलाई दुःख पर्दा छिमेकीलाई दुख्दैन । सहानुभूति हुँदैन । साथ हुँदैन । हाम्रा पूर्खाले छोडेर गएको समाजको स्वरुप यो होइन । कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले भन्नुभयो, ‘दुःखमा साथ दिने र सुखमा सँगै हाँस्ने समाज चाहिएको छ । यसअघि विभिन्न कारणले भत्किएको यो समाज पुनरुत्थानका लागि हामी काम गरिरहेको छौँ ।’

    मान मर्यादा तथा भौतिक सम्पत्तिको महत्वाकांक्षाले व्यक्तिलाई निराश र निरस बनाएको बताउँदै प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भन्नुभयो, ‘नैतिक शिक्षामार्फत मानवीय भाव वृद्धि हुने कार्यक्रमले मानसिक स्वास्थ्यमा गर्नु पर्ने खर्च र स्वास्थ्य क्षति बचाउन सकिन्छ ।’ 

    सरकारले लाभ दिनु पर्ने क्षेत्र र विषयमा लाभ वितरणका लागि वडाले स्थानीय व्यक्ति, टोलबासी, संघसंस्थासँग काम गरिरहेको बताउँदै वडा सचिव प्रमोद अधिकारीले भन्नुभयो, ‘सरकारले के गर्दैछ? जानकारी लिनदिन पनि आत्मीय सम्बन्ध चाहिएको छ ।’

    कार्यक्रममा मनोसामाजिक परामर्शदाता सनम पौडेलले, पारिवारिक सम्बन्धबाट व्यक्तिको खुशी सुरु हुने बताउँदै खुशी जोगाउन पारिवारिक सम्बन्ध जोगाउनु पर्ने बताउँदै अहिले यसैमा समस्या रहेको उल्लेख गर्नुभयो । ‘प्रविधिको प्रयोगले नजिककालाई टाढा र टाढाकालाई नजिक बनाएको छ । यसले व्यक्तिमा समस्या पर्दा नजिकका बाट साथ नपाउने अवस्था निर्माण भएको छ ।’ उहाँले भन्नुभयो, ‘व्यक्तिमा यस्तो विचार आउन थालेपछि मनोवैज्ञानिक असर सुरु हुन्छ ।’ 

    वडाले यस अघि सामाजिक तथा भौतिक विकासका लागि स्थानीय सहकार्य प्रक्रियाका विषयमा वडाका संघसंस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिसकेको छ । यस्तै स्थानीय विवाद, ती विवाद समाधानका लागि अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण सञ्चालन गरिसकेको छ । 

     
      

  • प्रकाशित मिति आइतबार​ २ असर २०८१ ०४:४३ PM