Logo

३५ दिनमा ८६७ मिटर सडक ढलान : आजदेखि सवारी साधन सञ्चालन

३५ दिनमा ८६७ मिटर सडक ढलान : आजदेखि सवारी साधन सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १६ चक्रपथ बाहिर  ढुङ्गेधारादेखि ६८७ मिटर सडक ३५  दिनमा ढलान भएर सञ्चालनमा आएको छ । ढुङ्गेधारादेखि नर्सरी चोकसम्मको ४५१ मिटर सडकमा ८ इञ्च ढलान गरिएको छ भने बाबुछिरी मार्गको ४१६ मिटर खण्डमा ६ इञ्च मोटाइको ढलान गरिएको छ । यो काम २०८१ बैशाख ३१ गतेबाट सुरु भएको थियो ।

निर्माण सम्पन्न भएपछि सम्बन्धित अधिकारीहरुबाट आज कामको अवलोकन गरेर सवारी साधन सञ्चालनका लागि खुला गरिएको छ ।

अवलोकनका लागि वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जन, कार्यपालिका सदस्य ललिता खड्गी, वडा सदस्य हर्कबहादुर खाती, मनिता विश्वकर्मा, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, महाशाखा प्रमुख सुरेश राईसहित सहभागी हुनुहुन्थ्यो । यसको निर्माण लागत करिब १ करोड ९० लाख रुपैयाँ हो । 

अवलोकनका क्रममा सडक सुरक्षा र व्यवस्थापनका विषयमा स्थानीयहरुसँग छलफल समेत भएको थियो । 

अवलोकनका क्रममा कार्यवाहक अध्यक्ष महर्जन स्थानीयसँग कुरा गर्दै भन्नुभयो, ‘यो काम तपाईँले तिरेको करबाट बनाइएको हो । यसकारण आफ्नै सम्पत्ति सम्झेर यसलाई क्षति हुनबाट बचाउनुहोला ।’

त्यस क्रममा वडा सदस्य खातीले भन्नुभयो, ‘जीर्ण सडक बनाउन हामीले अघिल्लो कार्यकालदेखि थालनी गरेका हौँ । बोलपत्र आव्हान भएर पनि निर्माणका कबोल गर्नेहरु प्रतिस्पर्धामा  नआएपछि सम्भव भएन । यस पटक ४५ दिनको काम सकियो । यसबाट इच्छा भए काम गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको छ ।’

यस क्रममा प्रशासन विभागका प्रमुख अधिकारीले, विगतमा बस्ती बढेसँगै वृद्धि भएको डुवान समस्या समाधान गर्न उपभोक्ताका तहबाट सक्रियता आवश्यक रहेको बताउनुभयो । २०७६ सहित विभिन्न सालहरुमा यो ठाउँ डुवानमा परेर ठूलो जनधनको क्षति भएको थियो । डुङ्गाको प्रयोग गरेर व्यक्तिलाई उद्धार गर्नु परेको थियो । 

यस क्षेत्रमा सेतो गुम्बा, पाँचधारा, शिवपुरीलगायत जलाधार क्षेत्रको पानी जम्मा हुन्छ । यहाँको पानीको निकास प्वाल खोला हो । यसलाई पनि ठाउँ ठाउँमा छोपिएको छ । यही प्वाल खोला विभिन्न खोलासँग मिसिँदै मचाखुशी बन्छ र शोभा भगवती पुगेर विष्णुमतीसँग मिसिन्छ । 

अवलोकनका क्रममा स्थानीयका पूर्वाधारसँग सम्बन्धित अपेक्षा सुनिसकेपछि सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यले, आवश्यकताका आधारमा उचित समयमा महानगरपालिकाले उपयुक्त निर्णय लिने धारणा राख्नुभएको थियो । 
  

 

  • प्रकाशित मिति: सोमबार ३ असर २०८१ १९:००