वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
सेवा प्रारम्भ भएको दिन अपरान्ह ३ बजेसम्ममा ४० हजार १ सय शुल्क संकलन
काठमाडौँ । बालाजु पौडी पोखरी सञ्चालन भएको पहिलो दिन २ सय ५ जनाले सेवा लिँदा ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको छ । जसमा १३२ जना पूरा शुल्क तिर्ने हुनुहुन्थ्यो भने विद्यार्थी छुट लिने ७३ जना हुनुहुन्थ्यो । विद्यार्थी छुट शुल्क १५० रुपैयाँ हो । उहाँहरुमध्ये ५५ जनाले लकर सुविधा लिनुभयो । बालाजु वाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतका अनुसार यो तथ्याङ्क दिउँसो ३ बजेसम्मको हो ।
आज विहान वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले नरिवल फोडेर पोखरी सञ्चालनको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा उहाँले भन्नुभयो, ‘पोखरीमा स्थानीयहरुले सहुलियत पाउनु पर्नेसहित माग राख्नुभएको छ । अहिले, आर्थिक वर्ष २०८१÷०८२ का लागि महानगरपालिकाले जारी गरेको आर्थिक ऐन अनुसारको शुल्क लिइएको हो । पौडी पोखरी सञ्चालनका लागि मस्यौदा कार्यविधि तयार भइसकेको छ । यो कार्यविधि र आर्थिक वर्ष २०८२/०८३ को लागि जारी गरिने आर्थिक ऐनबाट स्थानीयका माग सम्बोधन गर्नेछौँ ।’
वडा सचिव प्रकाश खड्का भन्नुहुन्छ, ‘खुला र सार्वजनिक स्थानको व्यवस्थापन गरेर स्थानीय पहुँचलाई बढाउँदै लगिएको छ ।’
१८ लाख लिटर पानी भएको पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली छ । स्नान घर, शौचालय र लकर सुविधा उपलब्ध गराइएको छ । पोखरीको छेउमा १५० जना दर्शक बस्ने क्षमताको ठाउँ छ ।
पोखरीमा जीवन रक्षाका लागि नेपाल पौडी संघसँगको सहकार्यमा १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति परिचालन गरिएको छ ।
बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा एक्काइसवटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बिचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । वि.सं. २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि २०२१ सालदेखि खुला भएको हो ।
पौडी पोखरी पुनःनिर्माण
२०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App