Logo
  • वि.सं.: २०८३, जेठ १८ सोमबार

  • इ.स.: 2026 June 1,MONDAY

  • वि.सं.: २०८३, जेठ १८ सोमबार

  • १६१ अङ्कसहित वडा नं. २९ महानगर स्तरीय पौडी प्रतियोगिताको टीम इभेन्टस विजेता

    'प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिनेछौँ' – वडाध्यक्ष, ढकाल

    काठमाडौँ । महानगर स्तरीय पौडी प्रतियोगितामा आयोजक वडा नं. २९ टीम इभेन्टस विजेता बनेको छ । शनिवार र आइतबार बालाजु बाइसधारामा रहेको पौडी पोखरीमा सञ्चालन भएको प्रतियोगितामा १६१ अङ्क सहित आयोजक वडाको टीम विजेता बनेको हो । आयोजक टीम संयुक्त रिलेको पनि विजेता बन्यो । प्रतियोगितामा १२१ अङ्कसहित वडा नं. ७ को टीमले दोस्रो र ११० अङ्कसहित वडा नं. २२ को टीमले तेस्रो स्थान हासिल गरे । 

    विजेता टीमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । 

    खेलमा पुरुषतर्फ वडा नं. ५ का सक्षम श्रेष्ठ र महिलातर्फ वडा नं. १८ की लुमना महर्जन उत्कृष्ट खेलाडी बन्नुभयो । उहाँहरुलाई नगद २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । 

    महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ्य सरीर, स्वस्थ्य वडा, स्वस्थ्य महानगर’ नारासहित प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा विभिन्न वडाहरुबाट ७६ जना पुरुष र ६१ जना महिलासहित १३७ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुथ्यो । 

    समापन अवसरमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गर्दै वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले, आफ्नो वडामा भएको पौडी पोखरीमा प्रतियोगिता आयोजना हुनुले आफूलाई गौरव प्रदान गरेको उल्लेख गर्नुभयो । आगामी वर्ष पोखरीलाई इनडोर बनाइने योजना रहेको उहाँको भनाइ थियो । 

    वडावासीलाई नियमित रुपमा पौडी प्रशिक्षण प्रदान गर्ने, प्रतियोगिताहरु निरन्तर आयोजना गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने दिशामा वडाले नियमित काम गर्ने वडाध्यक्ष कुश ढकालले बताउनुभयो । 

    समापन अवसरमा प्रतियोगिताका संयोजक एवं वडा सदस्य सन्तोष ढुङ्गेलले, पौडी खेल स्वस्थ्य रहनुको सूचक भएको उल्लेख गर्दै अलिअलि अस्वस्थ्य हुँदा अरु खेल खेल्न सकिने तर पौडी खेल्न पूर्ण स्वस्थ्य हुनु पर्ने भएकोले निरोगी हुन वडाबासीलाई पौडी खेल्न प्रोत्साहन गरिने बताउनुभयो । यस्तै वडा सदस्य अनिल श्रेष्ठले, वडाबासीको प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता गर्ने योजना सुनाउनुभयो । 

    महानगरपालिकासँगको सहकार्यमा जेठ २३ र २४ गते राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीका बिचमा पौडी प्रतियोगिता हुँदैछ । पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले, महानगरपालिकासँगको सहकार्यमा पौडीलाई निरन्तरता दिन संघ सक्रिय हुने बताउनुभयो । 

    यस पटकको प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई विधामा प्रतिस्पर्धा भएको थियो । २ सय मिटरको इन्डिभिज्युअल मेडले भएको थियो । ४५० को महिला पुरुषको संयुक्त रिले पनि भएको थियो । 

    महानगरबासीहरुलाई सक्रिय जीवनका लागि प्रोत्साहित गर्न, शारीरिक अभ्यासमा क्रियाशील बनाउन, अन्तर वडा समन्वय बढाउन, स्थानीय स्तरबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन गर्न खेल आयोजना गरिएको हो । 

  • प्रकाशित मिति सोमबार १८ जेठ २०८३ ०९:५८ AM