वि.सं.: २०८२, पुस १८ शुक्रबार
इ.स.: 2026 January 2, FRIDAY
वि.सं.: २०८२, पुस १८ शुक्रबार
महानगरपालिकाका वडा वडामा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने सीसीटिभी क्यामरा जडान तीव्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुले आफ्नो क्षेत्रभित्र अत्याधुनिक सीसीटिभी क्यामरा जडान गरेर फाइवर इन्ट्रानेटका माध्यमबाट निगरानी कक्षमा जोडिरहेका छन् । फाइबर इन्ट्रानेटका लागि नेपाल टेलिकमसँगको सहकार्य गरिएको छ । यस क्रममा वडा नम्बर २६ ले ७७ वटा क्यामरा जोडेर वडामा स्थापना गरेको निगरानी कक्ष सञ्चालनमा ल्याइसकेको छ । वडा नम्बर ३० ले महानगरीय प्रहरी वृत्त मालीगाउँमा प्रणाली जडान गरेर बिहीबारबाट सञ्चालन प्रारम्भ गरेको छ । वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा छ । वडा नं. १४ को बोलपत्र आव्हान भइसकेको छ । वडा नं. ३ को बोलपत्र आव्हान हुने चरणमा छ ।
भूमिगत प्राइमरी नेटवर्कबाट प्रणाली चल्ने भएकोले सीसीटिभी विग्रिने समस्या कम हुनेछ । विग्रको ठाउँ तत्काल पत्ता लाग्नेछ । यसबाट तत्काल मर्मत गर्न सकिनेछ । यी विशेषताका कारण विगतको तुलनामा अहिलेको प्रणाली दिगो र भरपर्दो छ ।
सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्रा एचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । तथ्याङ्क र विवरण प्राप्त हुन्छन् । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको नोटिफिकेसन पुग्छ । कुनै स्थानमा अपराध भए अपराधीलाई तत्काल पक्राउ गर्न सकिन्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ भन्नुहुन्छ, ‘विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सीसीटिभी क्यामरामा क्षति गरेको देखिन्छ । एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जोगाउनु पर्छ । यसका लागि काम गर्दैछौँ ।’
महानगरपालिकाभित्र विगतमा तारबाट क्यामराका दृश्य संकलन गर्ने गरिएको थियो । यसले सहरी सुन्दरतामा ह्रास गरेको त थियो नै । यससँगै तार चुँडियो भने प्रणाली नै नचल्ने अवस्थामा पुग्थ्यो । फाइबर सञ्जालमा प्रणाली जोडिएपछि दिगोपनाको स्तर बढ्दै गएको छ । वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की भन्नुहुन्छ, ‘सडक तथा सार्वजनिक स्थलमा गल्ती गरेर अब कोही उम्किन पाउँदैन । यसले अपराध गर्नेको मात्र होइन । विकासमा दोहोरोपना गर्ने र गलत विकास संरचना बनाउनेको पनि निगरानी गर्नेछ ।’
वडा नम्बर ३० मा एउटा पीटीजेड र २८ वटा बुलेट क्यामरा जडान भएका छन् । वडासचिव देवराज जोशीका अनुसार ६९ लाख ९७ हजार रुपियाँको लागत अनुमान गरिएकोमा ४३ लाख ९३ हजार रुपियाँ कबोल गर्ने बोलपत्रदाता नयाँ किरण अल नेपाल जेभीबाट काम गराइएको हो । आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट २०८२ बैशाख २६ गते बोलपत्र आव्हान गरिएको थियो ।
छनोट भएको बोलपत्रदातालाई ९० दिनको कार्य अवधि दिएर कार्तिक १४ गते कार्यादेश दिइएको थियो । पुस ८ गते जडान कार्य सम्पन्न भएको हो । प्रणाली सञ्चालन अवसरमा बोलपत्रदाताले कार्य सम्पन्न प्रतिवेदन पेश गरेका थिए ।
अहिले जडान भएका क्यामराहरु एआइ प्रविधिमा आधारित ८ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छन् । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले, सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ ।
यो प्रणाली त हाम्रा लागि तेस्रो आँखा नै हो । महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोरा भन्नुहुन्छ, ‘काठमाडौँबाट चोरी गरेर भागेको चोरलाई हामीले दाङ्बाट पक्राउ गर्न सक्यौँ । यो सीसीटिभी क्यामराकै कारण सम्भव भएको हो । महानगरपालिकाले प्रणाली जडान गरिदिएपछि त्यसबाट सबैभन्दा खुशी चाहिँ हामी नै भएका छौँ ।’
बत्ती गए पनि यी क्यामरा चल्ने व्याकअप पावरको व्यवस्था गरिएको छ । पीटीजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने)’ यी क्यामराबाट प्राप्त हुने तथ्याङ्कलाई भविष्यमा तर्जुमा गरिने स्मार्ट सहरको नीति तथा कार्यक्रम र विनियोजन गरिने बजेटका लागि आधारका रुपमा प्रयोग गर्न सकिन्छ ।
वडा वडाबाट जडान हुने प्रणालीसँगै महानगरपालिकाको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमका ५ वटा प्याकेज मूल्याङ्कन चरणमा छन् । यी क्यामराको विशेषता पनि वडामा जडान गरिए समान हुनेछन् ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App