वि.सं.: २०८२, जेठ २१ बुधबार
इ.स.: 2025 June 4,WEDNESDAY
वि.सं.: २०८२, जेठ २१ बुधबार
वडा नम्बर ३० को सार्वजनिक सुनुवाइ र योजना तर्जुमा कार्यक्रम सम्पन्न
काठमाडौँ । ‘टोलमा युवा छैनन् । पाका मानिसहरु मात्र बसोबास गर्नुहुन्छ? ठुलो भूकम्प आयो भने पाका मानिसहरु कसले कसलाई बचाउनुहुन्छ? या अरु को आएर बचाउँछ?’ काठमाडौँ महानगरपालिकाका वडा नम्बर ३० ले आयोजना गरेको चालु आर्थिक वर्षमा सम्पन्न योजनाको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा छलफलमा एक जना किशोरीले प्रश्न सोधेपछि कार्यक्रमका सहभागीहरुले एक आपसको मुख हेराहेर गर्नुभएको थियो । विकासको कुरा गर्दा, योजनाको कुरा गर्दा पूर्वाधार निर्माणमा मात्र ध्यान गएको समाज व्यवस्थापनमा ध्यान नगएकोप्रति लक्षित कुरा गर्दै उहाँले युवालाई रोजगार, स्वरोजगारमा उत्साहित बनाउन नसकेपछि सबै युवा विदेशिएपछि टोलहरु पाका मानिसहरुले भरिँदै गएको उहाँको भनाइ थियो ।
उहाँको प्रश्नको जवाफ दिँदै महानगरपालिकाको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भन्नुभयो, ‘महानगरपालिकाले सञ्चालन गरेका सिपमूलक, रोजगार तथा स्वरोजगारमूलक तालिममा स्थानीय युवायुवती सहभागी हुन चाहनुहुन्न ।’ अहिले टुँडिखेलमा चलिरहेको सिप मेलाका विषयमा जानकारी गराउँदै काफ्लेले भन्नुभयो, ‘तालिम लिने महानगरबासीको संख्या ज्यादै न्यून छ ।’
यी प्रश्नोत्तर सुन्दा सेवाप्रदायक र लाभग्राहीका विचका अन्तरसंवाद बढाउने खालका कार्यक्रम तर्जुमा गर्न आवश्यक देखियो ।
कार्यक्रममा चालु आर्थिक वर्षका कार्यक्रममाथि छलफल गर्ने सहभागीले वडा कार्यालय निर्माण हुन नसकेको प्रति खिन्नता प्रकट गरेपछि वडाध्यक्ष दलबहादुर कार्कीले भन्नुभयो, ‘भवन किनेर वडाको प्रशासकीय भवन राख्ने योजना थियो । उपयुक्त भवन प्राप्त हुन सकेन । कार्यालय बनाउन स्थान पहिचान गरेर योजना अगाडि बढाइयो । प्रस्तावित ४ वटा ठाउँ थिए । चारवटै ठाउँमा भवन बनाउन नदिन मुद्दा परेको छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘महानगरपालिकाले चाहेर वा जनप्रतिनिधिले चाहेर मात्र हुँदैन । स्थानीय साथ र सहयोग भएन भने योजना कार्यान्वयन गर्न सकिँदैन ।’
उहाँले, वडाका सबै सडक कालोपत्रे भएको वा ढुङ्गा छापिएको जनाउँदै कुनै ठाउँमा कालोपत्रे गर्नुपर्ने, खाल्टाखुल्टी पुर्नु पर्ने भए तत्काल काम गरिने प्रतिवद्धता जनाउनुभयो । आगामी आर्थिक वर्षका योजनाका विषयमा कुरा गर्दै उहाँले, स्थानीयबाट प्राप्त भएका माग र योजनाअनुरुप कार्यक्रम तर्जुमा गरिने बताउँदै विकास योजना माग गर्दा पूर्वाधार, सामाजिक क्षेत्र, समावेशीकरण, पहुँचजस्ता पक्षको सन्तुलन मिलाउन आग्रह गर्नुभयो ।
सुनुवाईमा वडा कार्यालयको प्रशासनिक भवन बनाउनु पर्ने, सहिद मार्ग र सगुन मार्गमा ढल चुहावटको समस्या समाधान गर्नुपर्ने, जनता मार्ग र महाकवि मार्गलाई फराकिलो बनाएर एम्बुलेन्स जान सक्ने बनाउनु पर्ने, कालोपुल क्षेत्रको पैदल मार्गलाई फराकिलो बनाउनु पर्ने, सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने, मनलाग्दी ठाउँमा धुमपान गर्ने परिपाटी अन्त्य गर्न वडाभित्र ४ ठाउँमा मात्र धुमपान गर्न सकिने ठाउँ तोकिनु पर्ने उहाँहरुको माग छ ।
महाकवि संग्रहालयमा पुस्तक थप्नुपर्ने, विभिन्न ठाउँका मन्दिरहरुको छानो फेर्नुपर्ने, ढल निकासको सतह नमिलेकाले तल्ला भागमा डुवानको समस्या छ । यसलाई समाधान गर्नुपर्ने उहाँहरुको माग छ ।
सरसफाइमा सुधारको महसुस गरेका छौँ । राम्रा प्रयत्नहरुप्रति हर्षित छौँ । सरसफाइ र सम्पन्न पूर्वाधार निर्माणका कामको प्रशंशा गर्दै वडाबासीले संघीय र प्रदेश सरकारमातहतका कार्यालयमाभन्दा महानगरपालिकामा अधिकार ठानेर सेवा लिन पाइएको धारणा राख्नुभयो । त्यसक्रममा उहाँहरुले, यस वर्ष पानीजन्य जोखिम भएको उल्लेख गर्दै विपद पूर्व तयारीका काम थाल्नु पर्ने बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भइरहन्छन् । वडाभित्र ठाउँ ठाउँमा पेट्रोल पम्प छन् । यी पम्पहरुको सम्भाविता जोखिम पूर्वअनुमान गरेर अहिले नै व्यवस्थापनको काम गरौँ । घरका सानातिना काम गर्ने जनशक्ति पनि पाउन छोडेपछि घरायसी समस्या बढ्न थालेकोले यस्ता जनशक्ति उत्पादन गर्नुपर्ने, घरघरमा इन्टरनेट जोड्दा खर्च धेरै भएको र तारहरुको सञ्जाल पनि जोखिमपूर्ण भएकोले इन्टरनेट सेवा प्रदायकसँग सामुहिक रुपमा सेवा लिने योजना बनाउनु पर्ने कार्यक्रम माग गर्नुभयो ।
विद्युतका तार जोखिमयुक्त भए जोखिममुक्त बनाऔँ, ज्येष्ठ नागरिक सडकमा हिँड्दा हिँडदै थकाइ लागे बस्ने ठाउँ खोइ? महिला र बालबालिका भनेजस्तै ज्येष्ठ नागरिकका लागि भनेर योजना चाहियो । उहाँहरुको साझा माग राख्नुभयो ।
सडकका संकेत चिन्ह मधुरा भए । स्पष्ट बनाऔँ । उहाँहरुले यसरी माग गरिरहँदा नागरिकले पालना गर्नुपर्ने उत्तरदायित्वको विषय पनि छुटाउनु भएन । विषय जोड्दै भन्नुभयो, ‘आफ्ना जिम्मेवारीहरु निसर्त पूरा गर्नु र नागरिकले पूरा गर्नु पर्ने उत्तरदायित्व पनि बताइदिनू ।’
ढलमा बग्नु पर्ने पानी बग्न छोडेपछि सफा गर्ने क्रममा घरको भान्छामा प्रयोग हुने कचौरा, प्लेट, चम्चा, कप भेटियो । यसरी हेर्दा नागरिक आफ्नै कारणले गर्दा आफैँलाई समस्या परिरहेको देखिन्छ । यसलाई मिलेर सुधारौँ । वडा सदस्य मनोज डंगोलले, सरकार र नागरिकका समान उत्तरदायित्वले सहरी व्यवस्थापनलाई दिगो बनाउन सकिने धारणा राख्नुभयो । यस्तै वडा सदस्य इन्दिरा श्रेष्ठले, सहरी सेवा र सुविधालाई समान रुपमा वितरण गर्ने कार्यमा जनप्रतिनिधिले संवेदनशील भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडाले सम्पन्न गरेका योजनाका विषयमा कुरा गर्दै वडा सचिव देवराज जोशीले, जेठ १५ गतेसम्ममा वडाले १३ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको बताउनुभयो । गएको वर्ष यस अवधिमा १२ करोड १५ लाख रुपैयाँ संकलन भएको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षमा कार्यान्वयनमा आएका २६ वटा योजनामध्ये १६ वटा सम्पन्न भएको र १० वटा कार्यान्वयन चरणमा रहेको बताउँदै वडा सचिव जोशीले, पूर्ण विवरण आउँदो सार्वजनिक सुनुवाई कार्यक्रममा पेश गर्ने धारणा राख्नुभयो । उहाँले, आगामी वर्ष मैतीदेवी महोत्सव गर्ने, मैतीदेवीमा हरेक शनिवार सवारी साधन गुड्न रोकेर मौलिक खाना, चालचलन तथा परम्पराको प्रदर्शन प्रवर्धन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
२१ हजार ५६३ जनसंख्या भएको वडामा ६ हजार १ सय २९ घर संख्या छ । ९४.५९ वर्गमिटर (१८ सय ५६ रोपनी) क्षेत्रफल भएको वडाभित्र करिब ३० किलोमिटर सडक सञ्जाल छ । पूर्वमा धोवीखोला वडा नम्बर ७ र ७, पश्चिममा वडा नम्बर २८, उत्तरमा वडा नम्बर १ र ५ र दक्षिणमा वडा नम्बर २९ सिमानाभित्र वडा क्षेत्र रहेको छ ।