मंसिर ८ र ९ गते नन्दीकेशर वगैँचा (नारायण चौर) मा महोत्सव
काठमाडौँ । काठमाडौँको नन्दीकेशर वगैँचा (नारायण चौर) मा सम्पन्न वुमन अफ द वर्ल्ड (वाउ), सातौँ संस्करणको महोत्सव, पहुँच र सहभागिताका कोणबाट अनुकरणीय रुपमा सम्पन्न भएको महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । सम्पदा तथा पर्यटन विभागका अधिकारीहरुसँग छलफल गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको छ ।
‘महोत्सव अनेक आयाममा सम्पन्न भयो । हरेक आयामका छुट्टै विशेषता छन् । यसमध्ये दृष्टिविहिन व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरुले निर्वाध सार्वजनिक कार्यक्रम सहभागी हुन पाउनु महत्वपूर्ण पक्ष हो ।’ उहाँले भन्नुभयो, ‘महिलाका पृथक परिस्थिति बुझ्न, सुन्न, हेर्न पूर्वाधार वाधक थिएन । भाषानुवाद र सांकेतिक भाषानुवादको व्यवस्था गरिएको थियो । यसका लागि पूर्व तयारी गरिएको थियो ।’ उहाँले भन्नुभयो, ‘सार्वजनिक कार्यक्रममा सबैको पहुँच बढाउने यो नमूना कार्यक्रम हो । अहिलेको सिकाइलाई प्रयोगमा निरन्तरता दिइनेछ ।’
मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड-वाउ), को सातौँ संस्करण आयोजना भएको थियो । महिला, बालिकाहरु र नन–बायनेरी (गैर–द्वायसांख्यिक) व्यक्तिले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयासका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।
नेपालमा यो महोत्सव पहिलो पटक सन् २०१७ मा ललितपुरमा मनाइएको थियो । महोत्सव वाउका संस्थापक जुड केलीले आयोजना गर्नुभएको थियो । यसमा ब्रिटिश काउन्सिलको साझेदारी रहेको थियो । दोस्रो पटक पनि सन् २०१८ मा ललितपुरमा, सन् २०१९ मा जनकपुरमा सन् २०२० र २०२१ मा अनलाइनबाट आयोजना गरिएको थियो । छैटौँ संस्करण सन् २०२२ मा लुम्बिनीमा आयोजना भएको थियो ।