Logo
  • वि.सं.: २०८२, फागुन १९ मंगलबार

  • इ.स.: 2026 March 3,TUESDAY

  • वि.सं.: २०८२, फागुन १९ मंगलबार

  • कार्यवाहक प्रमुख डंगोल र युजिन नगरका प्रमुख नडसन बिच भेटघाट

    'शैक्षिक कार्यक्रममार्फत नागरिकलाई सम्बन्धमा जोड्न सकिन्छ' - कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र अमेरिका ओरेगनस्थित युजिन नगरका प्रमुख कारिन नडसनबिच कार्यवाहक प्रमुख डंगोलको कार्यकक्षमा भेटवार्ता भएको छ । भेटका क्रममा भगिनी सम्बन्धको विगत समीक्षा गर्दै नगरनगर बिचको सम्बन्धलाई नागरिक स्तरमा जोड्ने सम्भावित कार्यक्रमका विषयमा कुराकानी भएको थियो ।  

    भेटमा कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धलाई नागरिक स्तरमा अनुभूति हुने कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । त्यस्तै प्रमुख नडसनले काठमाडौँले सञ्चालन गरेको पुस्तररहित शुक्रबार (वुक फ्री फ्राइडे) कार्यक्रमबाट आफू प्रभावित भएको उल्लेख गर्नुभयो । 

    कुराकानीका क्रममा काठमाडौँ र युजिन नगरका जनताहरुको आपसी र पारस्परिक सहयोग प्रवर्धन र सुदृढ बनाउने, सांस्कृतिक, वातावरणीय, सामाजिक, आर्थिक, व्यापार तथा वाणिज्य, शैक्षिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आपसी क्रियाकलाप आदानप्रदान तथा सञ्चालनका विषय उठेका थिए ।

    काठमाडौँ महानगरपालिकासँग अन्तरराष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ । जसमध्ये अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । युजिनसँग सन् १९७५ सालमा सम्बन्ध स्थापना भएको हो । सबैभन्दा पछिल्लो बोल्डर नगरसँग वि. सं. २०७६ बैशाख २९ गते (सन् २०१९ मे १२) भगिनी सम्बन्ध स्थापना भएको हो । 

    संख्याका आधारमा महानगरपालिकाको भगिनी सम्बन्ध भएका धेरै नगर भएको देश चीन हो । चीनका सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ । 


     

  • प्रकाशित मिति मंगलबार १९ फागुन २०८२ ०८:३० PM