Logo

चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि साझेदारबाट पृष्ठपोषण 

‘चलचित्र विधा’ बाट समग्र रचनात्मक उद्योगको विकास र प्रवर्धन गर्ने उद्देश्य छ - उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाले चलचित्र क्षेत्र सम्बद्ध अधिकारीहरु बिच ‘चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधि’ मस्यौदामा छलफल गराएको छ । महानगरपालिकाले तर्जुमा गरेको मस्यौदामाथि चरणवद्ध रुपमा क्षेत्रगत सुझाव लिने क्रममा आज उद्योगको विकास र प्रवर्धनमा काम गरिरहेका कार्यालय र संघसंस्थाका प्रतिनिधिबिच छलफल गराएको हो । छलफलका क्रममा महानगरपालिकाले गरिरहेको कामका विषयमा जानकारी र रचनात्मक उद्योगको विकास, विस्तार र व्यवस्थापनका लागि चलचित्र विधाबाट काम गर्ने योजना बताउँदै उपप्रमुख सुनिता डंगोलले, चलचित्र उद्योग बचाउन स्थानीय सरकारको तहबाट गर्न सक्ने कामसँग सम्बन्धित पृष्ठपोषण प्रदान गर्न आग्रह गर्नुभयो ।

‘हरेक कामसँग सम्बन्धित सम्भावना जति हुन्छन्, चुनौती पनि त्यति नै हुन्छन् । ती चुनौती छिचोल्न दायित्व निर्वाह गर्नुपर्ने कार्यालयहरुका बिचमा सहकार्य गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘चलचित्रमार्फत रचनात्मक उद्योगमा काम गर्न अहिलेसम्म कुनै पनि प्रकारको कानुनी व्यवस्था नभएकोले कार्यविधि तर्जुमा गरिएको हो । यसलाई सरोकारवाला, प्रयोगकर्ता तथा लाभग्राही सबैले अपनत्व बोध गर्न सक्ने बनाउन चाहेका छौँ । सम्भव भएसम्म धेरै व्यक्ति, पदाधिकारी र संघसंस्थाबाट पृष्ठपोषण लिने योजना बनाएका छौँ ।’

त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, सिर्जना बचाउन महानगरपालिकाले गरेको प्रयासमा सम्बद्ध पक्षबाट सहयोगको अपेक्षा प्राप्त हुने आशा राख्नुभयो । यस्तै विधायन समितिका संयोजक मचाराजा महर्जनले, चलचित्र उत्पादनका हरेक चरणमा काम गर्ने सबै पक्षको कुरा सुनेर मस्यौदालाई अन्तिम प्रारुप दिइने बताउनुभयो । 

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार, क्षेत्रगत पृष्ठपोषण लिएर कार्यविधिको मस्यौदालाई अन्तिम ढाँचा निर्माण भइरहेको छ । 

मस्यौदा समितिका संयोजक एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले मस्यौदा कार्यविधिमा प्रस्तुतिकरण गरेपछि महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, नेपाल चलचित्र बोर्ड, योजना शाखा प्रमुख गिरिश शर्मा, नेपाल पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अधिकृत जयशक्ति सर्राफसहित पदाधिकारीले तहगत कानुनी व्यवस्थाको एकरुपताका विषयमा सुझाव प्रदान गर्नुभयो । यस्तै नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले चलचित्र उत्पादनदेखि यसको बजारको चक्र समेटिनु पर्ने, नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र प्रवर्धनमा सहुलितय प्रदान गर्नुपर्ने सुझाव राख्नुभयो । यस्तै युनेस्को काठमाडौँ कार्यालय, संस्कृति विभागका प्रमुख नभा बस्न्यात थापा, व्रिटिस काउन्सिल, कला विभागका कार्यक्रम संयोजक प्रीतिका थापाले स्थानीय र राष्ट्रिय कार्यक्रमलाई अन्तरराष्ट्रिय क्षेत्रसँगको समन्वयका विषयमा जोड दिनुभयो । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष समीर बलामीले चलचित्रको प्रवर्धनका लागि चलचित्र पत्रकारहरुको स्थानलाई समेट्न आग्रह गर्नुभयो । 

छलफलमा सहरी योजना आयोगका सदस्यहरु बाबुराम भट्टराई, इञ्जिनियर शैलेन्द्र झा, अन्तरराष्ट्रिय सल्लाहकार सन्तोष गिरीसहित महानगरपालिकाका विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । 

चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि संस्थागत संरचना र काम, कार्यविधिमा प्रस्ताव गरिएको छ । उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गर्ने, समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन प्रस्तावित कार्यविधिअन्तर्गत हुने मुख्य क्रियाकलाप हुन् । 

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, महिला, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गर्ने, चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गर्ने काम यससँग सम्बन्धित छन् । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण सिर्जना गर्ने ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला सम्वर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पु¥याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराउने विषय मस्यौदा कार्यविधिमा छन् । 

चलचित्र स्टुडियो, पोष्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई प्रवर्धन गर्ने, अभिलेख, पुस्तकालय र संग्रहालयको विकास गर्ने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई, साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रम यसमा उल्लेख छन् । तथ्य तथ्याङ्क निर्माण गर्ने, व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवर्र्धन, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनी चलचित्र क्षेत्रको विकास र प्रवर्धनका क्षेत्र हुन् । 

अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई चलचित्र सहरसँग जोड्न अन्तरराष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता ठूला कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ । विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नुपर्छ । अन्तरराष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार योजना बनाउनुपर्छ । सदस्य अन्तरराष्ट्रिय नगरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदार बिच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण उपलब्ध गराउनु पर्छ । यी विषयहरु कार्यविधिमा प्रस्ताव गरिएको छ । 

    
 

  • प्रकाशित मिति: सोमबार १९ फागुन २०८१ १७:०१