Logo
  • वि.सं.: २०८३, वैशाख २१ सोमबार

  • इ.स.: 2026 May 4,MONDAY

  • वि.सं.: २०८३, वैशाख २१ सोमबार

  • वडा नं. ६ को नयाँ प्रशासनिक भवनबाट सेवा प्रारम्भ : कार्यवाहक प्रमुख डंगोल र वडाध्यक्ष लामाबाट समुदघाटन 

    पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्दै वडाध्यक्ष भुवन लामाले नयाँ भवनबाट सेवा सुरु

    नवनिर्मित वडा प्रशासनिक भवनको समुदघाटन गर्दै कार्यवाहक प्रमुख डंगोल र वडाध्यक्ष भुवन लामा

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले नवनिर्मित भवनको उद्घाटन गरेपछि पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्ने फाइल स्वीकृत गर्दै वडाध्यक्ष भुवन लामाले नयाँ भवनबाट सेवा थालनी गर्नुभएको हो । सो अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडासहित वडावासीको बाक्लो उपस्थिति थियो । 

    स्थानीय भाषासहित वडा कार्यालयको परिचय पाटीनवनिर्मित भवनको परिचय पाटीमा देवनागरिक (नेपाली), रञ्जना (स्थानीय नेवार समुदायले प्रयोग गर्ने भाषा) र सम्बोटा (स्थानीय तामाङ्हरुले प्रयोग गर्ने भाषा) गरी ३ थरीका लिपि राखिएको छ । 

    उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, गुणस्तरीय सेवाका लागि सुविधा सम्पन्न पूर्वाधारले अहम भूमिका खेल्ने बताउँदै गुणस्तरीय वडा भवनबाट जनमैत्री सेवा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभयो । वडाध्यक्ष भुवन लामाले, वडावाट प्रवाह हुने सेवालाई एउटै तलामा सम्पन्न गर्ने गरी कार्यकक्ष मिलाइएको बताउनुभयो । नवनिर्मित भवनमा एकद्वार प्रणाली र धेरै कोठामा घुम्नु नपर्ने गरी सेवा प्रवाह गर्न सहज हुने गरी कार्यकक्ष मिलाइएको छ । लामाको भनाइ थियो । 

    १४ हजार वर्गफुट क्षेत्रफल भएको भवनको भूमिगत तलामा मोटरसाइकल, स्कुटर गरी ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने क्षमता छ । यसको क्षेत्रफल १ हजार ५० वर्गफुट हो । २ हजार ३५० वर्गफुट क्षेत्रफल भएको जमिन तलामा ४ वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । यो स्थान सेवाग्राहीको प्रतिक्षालयका रुपमा समेत प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ । 

    २ हजार ७ सय वर्गफुट क्षेत्रफल रहेको पहिलो तलाबाट सामाजिक सुरक्षासँग सम्बन्धित सेवा प्रदान गरिनेछ । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष दोस्रो तलामा छ । यस तलाबाट भूसेवा तथा राजस्व संकलन, वैङ्क काउन्टर, नागरिक सहायता कक्ष, दर्ता चलानीलगायत सेवा प्रदान हुनेछ । यो तलाको पनि क्षेत्रफल २ हजार ७ सय वर्गफुट नै छ । तेस्रो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । यस तलामा प्राविधिक र इञ्जिनियरिङ्, आर्थिक र लेखा, वडा सदस्यहरुको कार्यकक्ष, सम्पत्ति कर बुझाउने, व्यवसाय नविकरण गर्ने, घटना दर्ता गर्ने कक्ष छन् । चौथो तलामा ८० जना व्यक्ति अट्न सक्ने सभा कक्ष छ । यो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । पाँचौ तलामा भान्छाघर र मेलमिलाप कक्ष छ । यसलाई ४ सय वर्गफुट छानाले ढाकेको छ । 

    ६ करोड २८ लाख २७ हजार रुपियाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको बोनाफाइड कन्स्ट्रक्सन प्रा. लि. ले कवोल गरेको रकम ४ करोड ८८ लाख ५७ हजार रुपियाँमा कार्यादेश दिइएको हो । भवन निर्माणका लागि ४ करोड ७७ लाख ३२ हजार रुपियाँ खर्च भएको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यो भवनको डिजाइनर समेत रहनुभएका श्रेष्ठका अनुसार भवन राष्ट्रिय भवन संहिता २०२० को मापदण्ड अनुसार भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण भएको छ ।  

    भवनको वाहिरी स्वरुप मौलिक नेपाली शैलीको छ । भित्री स्वरुप आधुनिक छ । भवनमा र्‍याम र लिफ्ट राखेर अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सेवा लिन जान सकिने बनाइएको छ ।

    वडा सचिव कमल गौत्तमका अनुसार पहिले साढे ३ तला बनाउने योजना थियो । यसले सेवा सञ्चालन गर्न नपुग्ने भएपछि भेरिएसन गरेर साढे ५ तले बनाइएको हो । यो भवनलाई यसैको उत्तरतर्फको भवनसँग जोडिएको छ । यो भवन २०७९ जेठमा निर्माण सम्पन्न गरिएको साढे ४ तले छ । यी दुवै भवन, गणेश मन्दिर सहित १ रोपनी १० आना जमिन छ । यसको केही भाग अतिक्रमण भएको छ । गौत्तमले जानकारी दिनुभयो । 
     

    तस्विरमा पहिलेदेखि अहिलेसम्म
    १) नवनिर्मित वडा भवनमा स्थानीय भाषासहित ३ भाषामा राखिएको परिचय पाटी 
    २) रिवन काटेर वडा भवनको उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोल र वडाध्यक्ष भुवन लामा
    ३) पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई सेवजा दिँदै वडाध्यक्ष भुवन लामा 
    ४) कार्यालय भवन र कार्यकक्षका विषयमा कार्यवाहक प्रमुखलाई जानकारी दिँदै वडाध्यक्ष भुवन लामा 
    ५) नवनिर्मित भवन भएको ठाउँमा यस अघि भएको पुरानो वडा भवन 
    ६) पुरानो वडा कार्यालय भत्काएर बनाइएको नयाँ वडा कार्यालय भवन 
    ७) सडकतर्फको पुरानो वडा भवन, यसलाई पनि भत्काएर पुननिर्माण गरिएको हो 
    ८) अघिल्लो तस्विरमा देखिएको भवन भत्काएपछि निर्माण गरिएको नयाँ भवन । अहिले यो भवन र नवनिर्मित भवनलाई जोडेर एउटै बनाइएको छ । 

     

     

  • प्रकाशित मिति सोमबार २१ वैशाख २०८३ ०२:१४ PM