वि.सं.: २०८३, जेठ २१ बिहीबार
इ.स.: 2026 June 4,THRUSDAY
वि.सं.: २०८३, जेठ २१ बिहीबार
'सरकारी अस्पतालमा उपचार गराउन जाँदा लाइन बस्नु नपर्ने प्रणाली बनाउन हाम्रो सहयोग हो' – कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरि प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएका हुन् ।
उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताउनुभयो । ‘विरामी र विरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ । उहाँहरुलाई उपचार गराउने क्रममा झन पीडा र सकस नहोस् । पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस् । यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ । यसका लागि हाममीले सहयोग गरेका हौँ ।’
उहाँले थप्दै भन्नुभयो, ‘हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुनेछ । यसकारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ । हामीले आजको दिनलाई विशेष ठानेका छौँ ।’ महानगरपालिकाको संस्थागत जगको कुरा गर्दै उहाँले, सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको बताउँदै अस्पतालसँगको सहकार्यमा टेलि सर्भिस सञ्चालन गर्न सकिने बताउनुभयो । ‘स्थानीय सरकारका हैसियतले महानगरपालिका हरेक नागरिकसँग जोडिएका सवालमा संवेदनशील छ । नागरिकका आवश्यकतालाई महसुस गरेर काम सम्पादन गर्छ ।’ उहाँले बताउनुभयो ।
त्यस क्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गर्नुभयो । ‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ ।’
कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले, महानगरपालिकाबाट अस्पतालले नियमित सहयोग प्राप्त गरिरहेको बताउँदै यो सहयोगबाट अस्पतालको सेवा व्यवस्थापनमा सहज भएको धारणा राख्नुभयो । कार्यक्रममा उहाँहरुले महानगरपालिकाबाट नियमित साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।
महानगरपालिकासँगै वडा कार्यालयले पश्चिम क्षेत्रबाट अस्पताल आउने मार्ग खुलाउन सहयोग गरेको वडाध्यक्ष प्रेम थापाले जानकारी दिनुभयो ।
महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिनुभयो । ‘अस्पतालको सेवा व्यवस्थापनमा महानगरपालिकाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ । यसबाट महानगरबासीलाई लाभ हुनेछ ।’ के. सी. को भनाइ थियो ।
महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App