वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
पूर्वाधार विकासमा दिगोपना र सामाजिक क्षेत्रका कार्यक्रममा वृद्धि : नागरिकका अपेक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले आर्थिक वर्ष २०८०/८१ मा पुँजीगत खर्चतर्फ ५७.७१ प्रतिशत वित्तीय र ७९.६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आज आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न आर्थिक वर्षको प्रगति प्रस्तुत गर्दै सम्पन्न योजनाहरुका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष दलबहादुक कार्कीले, नागरिकले अपेक्षा गरेका योजना छनोट गरेर निर्धारित समयभित्र सम्पन्न गर्ने अठोटका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । वडाको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा असहज थियो । यसलाई समाधान नजिक लगिएको छ । सहरी सुरक्षा र व्यवस्थापनमा जनप्रतिनिधिको अटुट निगरानी छ । कर्मचारी संयन्त्रले कार्यान्वयन गरिरहेको छ । कार्कीको भनाइ थियो ।
वडाले गएको वर्ष पूर्वाधारतर्फ सडक कालोपत्रे गर्ने, ढलान गर्ने, ब्लक विछ्याउने, ढल निर्माण गर्ने, सडक वत्ती जडान गर्ने, पार्क निर्माण गर्ने, सम्पदा संरक्षणका कार्यसहित योजना कार्यान्वयन गरेको थियो । वडाको बजेट १२ करोड ४१ लाख ८८ हजार रुपैयाँ थियो ।
वडा सचिव देवराज जोशीकाअनुसार त्यस वर्ष स्वीकृत भएका ६३ वटा योजनामध्ये ५० वटा सम्पन्न भएका छन् । २ वटा क्रमागत रुपमा चलिरहेका छन् ।
सामाजिक क्षेत्रका कार्यक्रमअन्तर्गत करदाता सम्मान, सुस्त श्रवण शक्ति भएका व्यक्तिहरुका लागि ३ महिने साङ्केतिक भाषा तालिम, अपाङ्गता भएका ह्विलचेयर महिला वास्केट बल प्रतियोगिता, हुलाप्याखाँ र धिमेबाजा नृत्य प्रशिक्षण लगायत कार्यक्रम सम्पन्न भएका छन् ।
वडाले १६ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सुनुवाइ कार्यक्रममा प्रश्नकर्ताहरुले पूर्वाधारतर्फ सडक व्यवस्थापनमा जोड दिए । सडक किनारामा बनाइने संरचनाका कारण पैदल यात्रामा अवरोध नहोस् भन्नेतर्फ सोच्नु पर्ने देखिन्छ । घर पालुवा कुकुरलाई सडकमा दिशा पिसाव गराउन ल्याउनु वडाको अर्को समस्या हो । उहाँहरुले सडकको सतह नमिलेका कारण आवतजावत कठिन भएको अनुभूति सुनाउनुभयो । मादक पदार्थ सेवन गरेर रातको समयमा सडकमा अश्लील शव्द बोल्दै हिँड्ने समूहलाई तत्काल नियन्त्रण गर्नु पर्छ । यसले अशान्ति र असुरक्षा हुन थालेको छ । उहाँहरुको भनाइ थियो ।
चारखाललाई पार्कमा रुपान्तरण गर्न पाए पर्खालभित्रको सार्वजनिक सम्पत्तिमा समुदायको पहुँच पुग्थ्यो । उहाँहरुले धारणा राख्नुभयो ।
२१ हजार ५६३ जनसंख्या भएको वडामा ६ हजार १ सय २९ घर संख्या छ । ९४.५९ वर्गमिटर (१८ सय ५६ रोपनी) क्षेत्रफल भएको वडाभित्र करिब ३० किलोमिटर सडक सञ्जाल छ । ७५ वर्ष उमेर पूरा हुनुभएको ज्येष्ठ नागरिक (महिला÷पुरुष) को संख्या ३९० जना छ । ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने ८८० जना हुनुहुन्छ । यस्तै एकल महिला भत्ता पाउने ११८ जना, एकल महिला (विधवा) भत्ता पाउने १४६ जना, पूर्ण अपाङ्ग १९ जना, आंशिक अपाङ्ग २४ जना र दलित ज्येष्ठ नागरिक ५ जना हुनुहुन्छ ।
वडामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । यसका लागि पहिलो सम्पर्क विन्दु स्वास्थ्य प्रवर्धन केन्द्र हो । वडामा ५८६ परिवारका १ हजार ४५६ जना बिमित हुनुहुन्छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App