वि.सं.: २०८२, चैत २२ आइतबार
इ.स.: 2026 April 5,SUNDAY
वि.सं.: २०८२, चैत २२ आइतबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए ।
वैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले, सहरी विकास र विकास व्यवस्थापनका मुद्दामा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाका बिच समन्वय र सहकार्यमा सहज परिस्थिति निर्माण भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल सरकारको प्रधानमन्त्री, सहरी विकास र व्यवस्थापनमा विज्ञका रुपमा महानगरपालिकाका काम गर्नुभएका सस्मित पोखरेल शिक्षा मन्त्री र सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएकोमा वधाई ज्ञापन गर्दै स्थानीय सरकार राम्ररी वुझेका व्यक्तित्वहरु नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहनुभएकोले समन्वय र सहकार्यका लागि सहज भएको उहाँको भनाइ थियो । यसकारण, काठमाडौँको प्रतिष्ठा बढेको छ । यो काठमाडौँको समृद्धिका लागि अवसर पनि हो । उहाँको भनाइ थियो ।
वैठकका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, ४७ औँ कार्यपालिका वैठकले गरेका निर्णय कार्यान्वयन अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।
प्रवक्ता नविन मानन्धरले, कार्यालय प्रयोजनका लागि खर्च गरिँदै आएको इन्धनमा अत्यावश्यक कार्यमा प्रयोग हुने वाहेकका सवारी साधनका लागि प्रदान गरिँदै आएकाबाहेकमा कटौती गर्न र महंगी बढ्न नदिन प्रभावकारी अनुगमन सम्बन्धी प्रस्ताव राख्नुभएको थियो । यो प्रस्ताव सान्दर्भिक रहेको बताउँदै कार्यवाहक प्रमुख डंगोलले, प्रस्तावलाई बैठकमा निर्णयार्थ पेश गर्नुभएको थियो । यो प्रस्तावलाई वैठकले पारित गरेपछि डंगालले भन्नुभयो, भूराजनीतिका कारण इन्धन आपूर्ति कम भएको उल्लेख गर्दै इन्धनको मात्रामा कटौती गर्ने, इन्धनबाट चल्ने सवारी साधनको प्रयोग घटाएर विद्युतीय सवारी साधनको प्रयोग बढाउने निर्णय कार्यान्वयन गरिने बताउनुभयो । वैठकमा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले, काठमाडौँ प्लाजाको भोगाधिकार काठमाडौँ महानगरपालिकालाई प्रदान गर्न नेपाल सरकारलाई लेखि पठाउने प्रस्ताव गर्नुभएको थियो । यससँगै वहुउद्देश्यीय भवन निर्माण गर्न नेपाल सरकारसँग भृकुटी मण्डपको भोगाधिकार प्राप्त गर्न माग गर्ने, राष्ट्रिय सभा गृह पुनःनिर्माण गर्ने तण्डुकारको प्रस्ताव थियो । प्रस्तावमा छलफल गर्दै यस कार्यको समन्वय र सहजीकरण गर्ने जिम्मेवारी तण्डुकारलाई प्रदान गरिएको छ ।
वैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, वडा स्तरीय सरसफाइका लागि कर्मचारीको अभाव भएकोले यसलाई व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले, काठमाडौँको पार्किङ् व्यवस्थापनको अध्ययन गर्नु पर्ने सुझाव दिनुभयो । वडा नं. ६ का अध्यक्ष भुवन लामाले एम्बुलेन्स सञ्चालन व्यवस्थापन सम्बन्धी कानुन तर्जुमा गर्नु पर्ने बताउनुभयो । वित्त समितिका संयोजक इश्वरमान डंगोलले, स्वास्थ्य प्रवर्धन केन्द्रमा विहान ८ बजेबाट प्रयोगशाला सञ्चालन गर्न भुक्तानी प्रणाली सञ्चालन गर्नु पर्ने बताउनुभयो । विधायन समितिका संयोजक मचाराजा महर्जनले, विहान ८ बजेदेखि नियमित रुपमा स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
वैठकमा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. वडा २७ का अध्यक्ष योगेश खड्गी, वडा १६ का अध्यक्ष रोजिना श्रेष्ठ, वडा नंं ३१ का अध्यक्ष सरोज ढकाल, कार्यपालिका सदस्य बिनोद अछामी, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले प्रस्ताव तथा विविध विषयमा धारणा राख्नुभएको थियो ।
उहाँहरुले उठाउनुभएका विषयमा जानकारी दिन विभागीय प्रमुखहरुलाई समय प्रदान गरिएको थियो । यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्ले, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई, स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्यले जवाफ दिनुभएको थियो ।
वैठकमा कार्यालय सञ्चालन तथा प्रशासनसँग सम्बन्धित प्रस्ताव सुशासन समितिका संयोजक ख्यामराज तिवारीले राख्नुभएको थियो । यस्तै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले पर्यटन प्रवर्धन कोष सञ्चालन सम्बन्धी कार्यविधि संशोधनm होमस्टे कार्यविधि तथा गुठीलाई प्रदान गरिने अनुदान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । वातावरण समितिका सदस्य सचिव सरिता राईले वातावरणीय क्षेत्रका, कानुनी क्षेत्रका प्रस्ताव विधायन समितिका संयोजक मचाराजा महर्जनले, टेकुस्थित प्रशासनिक भवन निर्माणको म्याद थप सम्बन्धी प्रस्ताव पूर्वाधार समितिका सदस्य सचिव सुरेशकुमार राईले प्रस्ताव पेश गर्नुभएको थियो । शिक्षा क्षेत्रका प्रस्ताव शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सचिव नमराज ढकालले, वित्त व्यवस्थापनसँग सम्बन्धित क्षेत्रको वित्त समितिका सदस्स्य सचिव डा. शिवराज अधिकारीले, स्वास्थ्य क्षेत्रका प्रस्ताव स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव दिपककुमार के. सी. ले, सामाजिक क्षेत्रका प्रस्ताव सामाजिक समितिका सदस्य सचिव समीक्षा निरौलाले, सार्वजनिक निजी साझेदारी क्षेत्रका प्रस्ताव सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्र बिलास बज्राचार्यले, महानगर प्रहरी बल सम्बन्धी प्रस्ताव बलका प्रमुख विष्णुप्रुसाद जोशीले राख्नुभएको थियो ।
वैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी २ वटा कार्यविधि स्वीकृत गरेको छ । ३ वटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ । यसरी सहमति प्रदान गरिएका कार्यविधिहरुमा श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ रहेका छन् ।
यस्तै एउटा कानुन, एउटा मापदण्ड र ८ वटा वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान भएको छ । यसरी सहमति प्रदान गरिएको काुनमा कार्यस्थलमा हुने लैङ्गिक हिंसा लगायत अन्य सबै किसिमका लैङ्गिक हिंसा विरुद्धको कानुन रहेको छ । कार्यविधितर्फ होमस्टे दर्ता तथा नविकरण कार्यविधि, सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि रहेका छन् । यस्तै अस्थायी संरक्षण गृह सञ्चालन सम्बन्धी मापदण्ड तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।









निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App