वि.सं.: २०८३, असर २१ आइतबार
इ.स.: 2026 July 5,SUNDAY
वि.सं.: २०८३, असर २१ आइतबार
‘जो चुक्दैन, त्यो झुक्दैन : हामी सबै वडाबासीप्रति समान जिम्मेवार छौँ’ – वडाध्यक्ष, तिवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २६ का स्थानीयबासीले शान्ति सुरक्षाका लागि प्रविधियुक्त सीसीटिभी क्यामराको संख्या बढाउन, मेलम्चीको खानेपानीमा पहुँच पुर्याइदिन, बर्खे भेलले डुवान हुने क्षेत्रको समस्या समाधान गरिदिन, रोजगारमा जान सक्नेलाई मात्र सिपमूलक तालिम दिन लगायतका कार्यक्रममा जोड दिनुभएको छ । वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने २६ जना वडाबासीले यस्तो माग राख्नुभएको हो । वडाले नागरिकका गुनासा सुन्ने र आफूले गरेका कामको पारदर्शिता प्रस्तुत गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
वडा अध्यक्ष ख्यामराज तिवारीले वडा भित्रका ९७ प्रतिशत सडक कालोपत्रे भइसकेको र बाँकी ३ प्रतिशत काम आगामी पुस महिनाभित्र सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरमै पहिलो पटक नेपाल टेलिकमको फाइबर नेटमार्फत सीसीटिभी क्यामरा जडान गर्ने र डिजिटल घर नम्बरिङ प्रणाली सुरु गर्ने वडाका रूपमा आफूले नमूना र सिकाइ योग्य कार्यक्रम सञ्चालन गरेको तिवारीले बताउनुभयो ।
सुशासन र पारदर्शिताका विषयमा कुरा गर्दै तिवारीले भन्नुभयो, ‘हामी वित्तीय सुशासनप्रति जिम्मेवार छौँ । नागरिकप्रतिका दायित्वप्रति इमान्दार भएर काम गरिरहेका छौँ । जानीबुझी कसैलाई आफ्नो र कसैलाई पराईको व्यवहार गर्दैनौँ । यसकारण हामी हरेक नागरिकका प्रश्नको जवाफ दिन सक्छौँ । सेवा भावमा जो चुक्दैन, ऊ झुक्दैन । हामी कतै चुकेका छैनौँ । यसकारण झुक्दैनौँ ।’
वडा सचिव केदार रिमालका अनुसार चालु आर्थिक वर्षका लागि पूँजीगतर्फत १५ करोड ७९ लाख रुपियाँ र चालुतर्फ २ करोड ८६ लाख ४३ हजार ५ सय रुपियाँ गरी वडाको बजेट १८ करोड ६५ लाख ४३ हजार ५ सय रुपियाँ थियो । यसमध्ये पूँजीगततर्फ सडक कालोपत्रे गर्ने, ढलान गर्ने, ढुङ्गा तथा इटा छाप्ने, ढल मंगाल बनाउने जस्ता पूर्वाधार निर्माण, यस्ता संरचनाको मर्मत सम्भारका काम भएका छन् । सहरी सुरक्षाका लागि सीसीटिभी क्यामरा जडान गर्ने, डिजिटल प्रविधिमा आधारित ठेगाना प्रणाली विकास गर्ने (घर नम्बरिङ, चिप्ससहितको घर नम्बर बोर्ड जडान लगायत) काम सम्पन्न भएका छन् । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माण भएको छ ।
सुनुवाइमा सहभागी स्थानीय बासिन्दाहरूले मेलम्ची खानेपानीको वितरणमा देखिएको समस्या, सडकका खाल्डाखुल्टी र रात्रिकालीन व्यवसायबाट हुने ध्वनि प्रदुषणप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो । सुनुवाईमा प्रश्न राख्ने विश्वनाथ श्रेष्ठ र बेबिना श्रेष्ठले मेलम्चीको पाइप व्यवस्थापन गर्दा ढलका मेनहोल पुरिएको र शुल्क तिरे पनि पानी नआएको गुनासो गर्नुभयो ।
त्यसैगरी, आशाकाजी महर्जन र रामकृष्ण शर्माले गल्लीहरूमा जथाभावी पार्किङ, कुकुरको दिसापिसाबले हुने फोहर र रात्रिकालीन व्यवसाय (भट्टी र ग्यारेज) बाट हुने अशान्ति नियन्त्रण गर्न माग गर्नुभयो । महिला अधिकारकर्मी रमादेवी पाण्डे र स्थानीय शारदा श्रेष्ठले महिला र बालबालिकाका लागि पर्याप्त बजेट तथा सामुहिक बैठक बस्ने फल्चा वा सार्वजनिक भवनको आवश्यकता औँल्याउनुभयो ।
कपुरधारा, कुमारी टोल र पवित्र नगरका बासिन्दाले वडाले गरेका कतिपय कामप्रति सन्तुष्टि जनाउँदै दिगो व्यवस्थापनमा जोड दिनुभयो ।
नागरिकका प्रश्नहरूको जवाफ दिँदै वडा अध्यक्ष तिवारीले आफूहरू पूर्ण पारदर्शिताका साथ काम गरिरहेको बताउनुभयो । मेलम्ची खानेपानीको समस्या समाधानका लागि आयोजनासँग समन्वय भइरहेको र आगामी असोजसम्म धेरै ठाउँमा पानी आपूर्ति सहज हुने तिवारीले जानकारी दिनुभयो । दशैँ अगावै वडाका १२५ स्थानमा सीसीटिभी क्यामरा जडान गरिसक्ने र गल्लीहरूमा सवारी साधनहरुको गति नियन्त्रणका लागि ३० लाख रुपियाँको लागतमा स्पिड ब्रेकर राख्ने योजना कार्यान्वयन गरिसक्ने उहाँले बताउनुभयो ।
वडा सदस्य प्रवेश श्रेष्ठले नागरिकको नजिक पुगेर सेवा प्रवाह गरिरहेको बताउँदै बाँकी एक वर्षको कार्यकालमा थप नतिजामुखी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App