Logo
  • वि.सं.: २०८२, माघ २३ शुक्रबार​

  • इ.स.: 2026 February 6, FRIDAY

  • वि.सं.: २०८२, माघ २३ शुक्रबार​

  • बागदरबारको सवलीकरण र कमलपोखरी सौन्दर्यकारी योजनाको अनुगमन 

    बागदरबारको मौलिकता र सवलतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न कार्यवाहक प्रमुखको निर्देशन 

    काठमाडौँ । बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्देशन दिनुभएको छ । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । कमलपोखरीको अनुगमनमा क्रममा उहाँले, सूचना प्रविधि विभागलाई सीसीटिभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई विरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताउनुभयो । 

    रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३ रुपियाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग ४२ करोड ९० लाख १४ हजार ३१० रुपियाँमा सम्झौता भयो । बोलपत्रदातालाई मंसिर १५ गते कार्यादेश दिइएको हो । निर्माण कार्य २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले ५ प्रतिशत भौतिक प्रगति भएको छ । 

    कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो । यसको लागत अनुमान ४ करोड ६ लाख ८१ हजार ८० रुपियाँ गरिएको थियो । यो रकम भ्याट र पीएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मंसिर १५ गते कार्य सम्पन्न हुनु पर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । 

    अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई र इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले ड्रइङ् डिजाइनमा उल्लेख भएका विषय र कार्यान्वयन अवस्थाको प्राविधिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो । दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ । 

    कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण गरिएको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको छ । 

    कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् । 

    पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ । 


     

  • प्रकाशित मिति शुक्रबार​ २३ माघ २०८२ ०६:१५ PM