Logo

वडा नं. २९ को प्रशासकीय भवन उद्घाटन : सहज र सरल सेवामा अबको जोड 

वडाको प्रशासकीय भवन प्राप्त हुनुमा वडाबासीले अपनत्व लिनु पर्ने, जनप्रतिनिधिहरुको भनाइ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २९ को नवनिर्मित प्रशासकीय भवनको उद्घाटन भएको छ । शुक्रबार आयोजना गरिएका औपचारिक कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले भवनको उद्घाटन गर्नुभएको हो । 

त्यस क्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले, सुविधा सम्पन्न वडाको प्रशासकीय भवनमा जीवन्त क्रियाकलाप हुनु पर्ने अपेक्षा राख्दै सेवालाई सरल र सहज बनाउन मद्दत पुगेको धारणा राख्नुभयो । अहिलेसम्म वडा नं. ३० को भौगोलिक क्षेत्रमा कार्यालय राखेर सेवा दिइरहनु परेको थियो । अव आफ्नै वडामा आफ्नै भवन प्राप्त भयो । यो सुखद कुरा हो । उहाँको भनाइ थियो । 

त्यस क्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले, प्रतिकुल परिस्थितिको सामना गरेर महानगरपालिकाले वडा भवन निर्माण गरेको सन्दर्भ उल्लेख गर्दै साझा सवालमा समान सोच निर्माणको खाँचो देखाउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, संघीयतासँगै स्थानीय सरकारको अधिकारभित्र स्वास्थ्य, शिक्षा, रोजगारीसहित नागरिकका दैनिक आवश्यकतासँग सम्बन्धित सेवा प्रदान गर्ने दायित्व आएकोले भौतिक पूर्वाधार थप गर्दै जानु पर्ने अवस्था रहेको बताउनुभयो । 

वडा भवन संरचनामा मात्र होइन । यो स्थानीयबासीले सहज सेवा प्राप्त गर्ने थलो पनि हो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नियमित प्रशासनिक सेवासँगै मेलमिलापलगायत स्थानीय विवाद निरुपणमा सहज भएको उल्लेख गर्नुभयो । महानगरपालिकाले वडा प्रशासकीय भवन निर्माणमा जोड दिँदै आएको उहाँको भनाइ थियो । 

कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहेको प्रसङ्ग उधृत गर्दै वडाध्यक्ष कुश ढकालले, तीन तहका सरकारभन्दा खानेपानीमा काम गर्ने अर्कै सरकार, ढल निकासमा काम गर्ने अर्कै सरकार, सडकको काम गर्ने अर्कै सरकार भएकोले काममा असहज भएको उल्लेख गर्नुभयो । वडा भवन निर्माणले वडाबासी सबैलाई प्रसन्नता प्रदान गरेको उहाँको भनाइ थियो । 

कार्यक्रममा वडा सदस्यहरु सन्तोषकुमार ढुङ्गेल, रेनु श्रेष्ठ, अनिल श्रेष्ठ र संगीता पुजारीले, जनअपेक्षाअनुरुपको सेवा प्रदान गर्न र नागरिकलाई सुशासनको प्रत्याभूत गराउन वडा प्रशासकीय भवनले सहजता प्रदान गर्ने धारणा राख्नुभयो ।   

सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार वेसमेन्टसहित भवनको क्षेत्रफल १२ हजार वर्गफिट रहेको छ । २० आना जमिनमा नेपाली परम्परागत शैलीमा निर्माण भएको भवनको पूर्व र पश्चिम दुवैतर्फबाट भवनमा प्रवेश गर्न सकिन्छ । करसहित करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको वेसमेन्टमा चारपाङ्ग्रे गाडी ६ वटा र  दुईपाङ्ग्रे २५ वटा सवारी साधन अट्न सक्छन् । भवनको जमिन तला, पहिलो तला र दोस्रो तलालाई कार्यालयबाट प्रदान गरिने सेवाका लागि उपयोग गरिनेछ । दोस्रो तलामा १ सय जना क्षमताको सभा कक्ष छ । तेस्रो तलामा १ जनाका लागि तालिम सञ्चालन गर्न सकिने कक्ष बनाइएको छ । भवनमा ६ जना क्षमताको लिफ्ट जडान गरिएको छ । भवनको वरिपरि खुला भाग र बिश्राम गर्ने मिल्ने स्थान बनाइएको छ । 

भवन निर्माणका लागि २०७७ साल चैत २४ गते कार्यादेश दिइएको हो । गएको कार्तिक मसान्तमा कार्य सम्पन्न भएको हो ।

भवन निर्माणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनु हुनेमा सामाजिक विकास समाजका अध्यक्ष ओम उप्रेती, अनाम एकता समाजका अध्यक्ष नारायण राई, पूर्व वडाध्यक्ष गोपाल जोशी, सामाजिक विकास समाजका पूर्व अध्यक्ष शान्ताराम पोखरेल, महानगरपालिकाका कार्यपालिकाका पूर्व सदस्य दिपक राई, सामाजिक अगुवाहरु रेवती दाहाल, केदार प्रधान, ज्ञानबहादुर श्रेष्ठ, प्रमोद बास्कोटा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षक मनोज लामिछाने र इञ्जिनियर प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ ।    


 

  • प्रकाशित मिति: शुक्रबार​ २५ माघ २०८१ २०:४०