वि.सं.: २०८३, जेठ २४ आइतबार
इ.स.: 2026 June 7,SUNDAY
वि.सं.: २०८३, जेठ २४ आइतबार
स्थानीय उद्यमशीलता र आय, महोत्सवको सबैभन्दा महत्वपूर्ण आयाम
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महास्तूपको काखमा आएका युवा र तन्नेरीहरुमा शनिवार छुट्टै रौनक थियो । वडा कार्यालयले आयोजना गरेको बौद्ध महोत्सवमा आएका आगन्तुक, श्रद्धालुहरुले बालेको धुपको सुगन्धमा महोत्सवको सांगीतिक धुनले वौद्ध गुञ्जायमान भयो ।
‘हाम्रो संस्कृति, हाम्रो उत्सव’ भन्ने नारा राखेर विहानै देखि थालिएको कार्यक्रम केवल औपचारिक समारोह मात्र थिएन । सांस्कृतिक झाँकीसहित सहभागीहरुको लर्कोले महास्तूपको परिक्रमा गर्दा लाग्थ्यो, बौद्धको पुरानो सभ्यता फेरि ब्युँतिएको छ ।
महोत्सवको आकर्षण महास्तूप वरिपरि मात्र सीमित थिएन । महेन्द्र बौद्ध माध्यमिक विद्यालयको फूलवारी क्षेत्रमा पुग्दा नेपाली ग्रामीण जीवनमा प्रवेश गरेको जस्तै लाग्थ्यो । आधुनिकताको भिडमा गाउँबाटै हराउन थालेका ढिकी, जाँतो, हलोजुवा जस्ता सामग्रीहरू प्रदर्शनीमा देख्दा धेरै आगन्तुकहरू रोमाञ्चित देखिन्थे । स्थानीय महिला समूहका सिपले बुनेका अल्लोका कपडा र हस्तकलाका सामग्रीहरूले स्थानीय उद्यम र उद्यमशीलता प्रदर्शित गरेका थिए ।
स्थानीय उद्यमशीलता र आय, महोत्सवको सबैभन्दा महत्वपूर्ण आयाम रह्यो । महोत्सव उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले भन्नुभयो, ‘बौद्धको आन्तरिक कला र जीवनशैलीलाई विश्व सामु परिचित गराउन महोत्सव उन्नत रह्यो ।’
वडास्तरीय महोत्सवले सांस्कृतिक र सामाजिक एकलाई बलियो बनाउँदै लगेका छन् । कार्यक्रममा सहभागी हुनुभएका महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, वौद्ध महोत्सवले परम्परागत पद्धतिको जीवन्तता अझै बचेको छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।
हामीले जे चाहेका थियौँ, त्यही अवस्थालाई नतिजामा रुपान्तरण गर्न सक्यौँ । महोत्सवको उपलब्धिका विषयमा जानकारी दिँदै वडाध्यक्ष भुवन लामाले भन्नुभयो, ‘यस वर्षको सिकाइले हामीलाई कार्यक्रम विस्तारका लागि आधार दिएको छ । महोत्सव केवल स्थानीय पहिचान, आय र मनोरञ्जनमा मात्र सीमित रहेन । सामाजिक सद्भाव बढाउने ठाउँ समेत बनेको देखेपछि हामी यस्ता कार्यक्रमप्रति थप उत्साहित भएका छौँ ।’
वडाध्यक्ष लामाले भन्नुभयो, ‘गएको वर्ष हामीले प्राविधिक कारणले कार्यक्रम गर्न सकेनौँ । यस वर्षको महोत्सवले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्छ भन्ने महसुस गराएको छ ।’
महोत्सवले फरक-फरक भाषा र संस्कृति बोकेका समुदायलाई एउटै मालामा उनिदिएको छ । महोत्सवमा मेलम्ची घ्याङ गुठीका अध्यक्ष खड्गजित लामाले वडाको नेतृत्वबाट प्राप्त उपलब्धीको प्रशंसा गर्दै कार्यक्रमको निन्तरताको अपेक्षा गर्नुभयो । समुदाय स्तरमा बाँडिएको जिम्मेवारीले महोत्सवलाई यति सफल बनाएको वडा सचिव कमल गौतमको प्रतिक्रिया छ ।
दिनभर परम्परागत झाँकी र खानाका परिकारमा झुमेका दर्शकहरूका लागि साँझ झन् विशेष बन्यो । जब स्टेजमा चर्चित सांगीतिक समूह ‘द एक्स ब्याण्ड’ उत्रियो, बौद्ध क्षेत्रको माहोल उत्सवको उत्कर्षमा पुग्यो । रातको ९ बजेसम्म दर्शकहरुले महोत्सवको साथ छोडेनन् ।
स्थानीय खानाका स्वाद, हस्तकलाको प्रदर्शनी, र लोक धुनहरूको संगम ‘बौद्ध महोत्सव’ ले विकास भनेको भवन र सडक मात्र होइन । आफ्नो मौलिक संस्कृति र परम्पराको जगेर्नामा सहभागी हुन पाउनु पनि हो भन्ने सन्देश दिएको छ ।
साँच्चै, बौद्ध महोत्सव, केवल उत्सवका रुपमा मात्र रहेन । यसले त सभ्यता र आधुनिकताको सम्बन्ध सेतु नै निर्माण गरिदियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App