Logo
  • वि.सं.: २०८२, ैशाख १ सोमबार

  • इ.स.: 2025 April 14,MONDAY

  • वि.सं.: २०८२, ैशाख १ सोमबार

  • एक हप्ताको परीक्षणमा ४८ जनामा एचपिभी डिएनए पोजेटिभ भेटियो

    निःशुल्क परीक्षण र प्रारम्भिक उपचार बैशाख १२ गतेसम्म चल्नेछ 

    परीक्षणका लागि आउनुभएकी महिलासँग परामर्श गर्दै स्वास्थ्यकर्मीहरु

    काठमाडौँ । एक हप्तासम्म परीक्षण गरिएका महिलाहरुमध्ये ४८ जनामा एचपिभी –ह्युमन प्यापोलिमा भाइरस) डिएनए पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको रिपोर्टमा यस्तो अवस्था देखिएको हो । 

    परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरुको नाम दर्ता भएको छ । उहाँहरुमध्ये ६१३ जनाको परीक्षण भइसकेको छ । परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ । वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाहरुको स्तनको मेमोग्राम गरिएको हो । 

    परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसुतिसँग सम्बन्धित समस्या देखिएको छ । चैत १२ गतेदेखि परीक्षण सुरु भएको हो । त्यस यता सबैभन्दा धेरै परीक्षण भएका दिनमा १२६ जनाको जाँच गरिएको छ ।  

    प्रारम्भिक उपचार २०८२ बैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिनुभएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनुहुन्छ । 

    जाँच गराउन सबैभन्दा पहिले आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ । 

    परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार प्रारम्भिक जाँचका क्रममा शंका लागेमा फाइन निडल एस्पिरिसन साइटोलोजी (एफएनएसी) मा पठाइन्छ । परिवारमा वंशाणुगत समस्या भएका, ५० वर्ष उमेर नाघेका महिलालाई मेमोग्राफीका गराइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

    यो शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको थियो । त्यस परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखाएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराउनुभएको थियो । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो । उहाँहरुमध्ये ४५३ जनामा एचपिभी पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकोमा ३२८ सम्पर्कमा आएर परीक्षण गराउनुभयो । त्यसपछि ३२८ जनाको वायोप्सी गरियो । यसरी वायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आयो । १६१ जनामा सिआइएन वान, २४ जनामा सिआइएन टु र १४ जनामा सिआइएन थ्री देखियो । ३ जनामा  भने क्यान्सर भइसकेको देखिएकोले थप उपचारका लागि पठाइयो । 

    क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए । 

    ८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिस गरिएको थियो ।  

    सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । 

    ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. न्यौपानेको सुझाव छ । 

    १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ । 
     

  • प्रकाशित मिति मंगलबार २६ चैत २०८१ ०२:३१ PM