Logo

काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा

२०८० को एसईईमा ग्रेड वृद्धि पाउन नसकेका विद्यार्थीहरुका लागि साउन २३ गतेदेखि ग्रेड वृद्धि परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो । कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी वैठक गरेका थिए ।
महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना (७८%) ले ग्रेडवृद्धि प्राप्त गरेका थिए । बाँकी ८७३  जना (२२%) विद्यार्थी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन् । 


विषयगत रुपमा हेर्दा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् । इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन् । 
यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘यी कक्षाहरु पास गराउनमाभन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन् ।’ भनाइलाई थप स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही विग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’ यसप्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरुलाई स्वच्छ खानाको प्रबन्ध गरिएको, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उहाँको भनाइ छ । 
कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् । 


यो महानगरपालिकाका लागि पनि परीक्षा हो । सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्नुहुन्छ, ‘विद्यार्थीहरु जुन विषयमा अनुत्तीर्ण भए उनीहरुलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन् । यही कठिन विषयमा उनीहरुलाई रुचि जगाउनु छ । यही विषयमा अध्यापन गराउनु छ । उनीहरुलाई अध्ययन गराउनु प्रेरित गर्नु छ । यसमा ग्रेड वृद्धि गराउनु छ । यसकारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो । यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ ।’
११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्नेछन् । विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्छ । 
स्रोत विद्यालयहरु
विभिन्न वडाहरुमा भएका विद्यालय हेर्ने गरी स्रोत विद्यालय तोकिएका छन् । महानगरपालिका भित्र भएका स्रोत विद्यालयहरु यसप्रकार छन् ः 

१)    शान्ति निकुञ्ज माध्यमिक वडा नं. २०, भगवतीवारी     
२)    टंगाल माध्यमिक विद्यालय, वडा नं. ५ टंगाल 
३)    जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १३, कालीमाटी 
४)    शिवपुरी माध्यमिक विद्यालय, वडा नं. ३ महाराजगञ्ज 
५)    पद्मकन्या माध्यमिक विद्यालय, वडा नं. २९ डिल्लीबजार 
६)    पशुपति मित्र माध्यमिक विद्यालय, वडा नं. ७ चावहिल 
७)    कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, वडा नं. ३२ काटेश्वर 
८)    गुह्येश्वरी माध्यमिक विद्यालय, वडा नं. ९ सिनामंगल 
९)    शान्ति माध्यमिक विद्यालय, वडा नं. १७  थहिति 
१०)    तरुण माध्यमिक विद्यालय, वडा नं. १६ बालाजु 
११)    महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नंं ६ बौद्ध 

  • प्रकाशित मिति: आइतबार​ २३ असर २०८१ १४:५५