स्वर्णिम योजना ‘सांस्कृतिक सहर’ अन्तर्गत वडा नं. ५, ६, ८, १५, १८, २३ र २६ मा कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका मौलिक र परम्परागत गायन र वादनलाई जोगाउन वडाहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत वडा नं. ५, ६, ८, १५, १८, २३ र २६ मा कार्यक्रम गायन, वादन तथा नृत्य कार्यक्रम भएको हो ।
यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा परम्परागत रुपमा कार्यक्रम हुने चोक, डवली, पाटी, सत्तलजस्ता सार्वजनिक स्थानमा गरिएका थिए ।
यस क्रममा वडा नं. १८ ले ताम्सिपाखा, पुष्पलाल पार्क, बाङ्गेमुढालगायत स्थानमा, वडा नं. ८ ले पशुपति भुवनेश्वरी डवली, इट्टापाखा, दथु टोल, जय बागेश्वरी परिसर, नवाली टोल, तिलगंगा, पशुपति परिसरमा रहेको घ्याम्पे सत्तल कार्यक्रम गरिएको थियो । यस्तै वडा नं. १५ को स्वयम्भू भुइँखेल, वडा नं. ५ को हाँडीगाउँ डवली, वडा नं. ६ को वौद्ध, वडा नं. २३ को झोँछे, वडा नं. २६ को भगवान वहाल, ठमेललगायत स्थानमा कार्यक्रम आयोजना गरिएका थिए ।
यस्ता कार्यक्रमबाट सांस्कृतिक समाज पुनःस्थापना हुँदै गएको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जानकारी दिनुभयो ।
हेर्दा सामान्य कार्यक्रम देखिए पनि यस्ता कार्यक्रमले अमूर्त सम्पदा जोगाउन योगदान गर्ने, युवा पुस्तालाई मौलिक क्रियाकलापप्रति प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिएका वडाका अध्यक्षहरुको एउटै धारणा छ । काठमाडौँ महानगरपालिका क्षेत्र कला, भाषा, जात्रा, पर्व, मेला, गायन तथा नृत्यजस्ता अमूर्त सम्पदाको संग्रहालय हो । यस्ता क्रियाकलाप धार्मिक तथा सामाजिक सहिष्णुताका बिम्व भएको जनाउँदै उहाँहरुले, सांस्कृतिक कार्यक्रमबाट दीर्घकालीन प्रभाव राख्ने बताउनुभयो ।
कार्यक्रममा मौलिक बाजाहरुमा धिमे, बाँसुरी, नाय्खीं, धास् धिमे, पछिमा, खिं, मादल, नाय खिं, भुस्या, तास् चिम्ता, बबुचा छुस्यालगायतका बाजा, यी बाजाका मौलिक लय र तालमा गायन तथा नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रममा सहभागी युवायुवतीले मौलिक पहिरन र श्रृङ्गार गरेका थिए ।