Logo

११ वटा क्षेत्रका २६ वटा प्रस्ताव पारित गर्दै ३६ औँ कार्यपालिका बैठक सम्पन्न 

साविक दररेटमा सम्पत्ति कर मूल्याङ्कन गर्ने निर्णय 

काठमाडौँ । ११ वटा क्षेत्रसँग सम्बन्धित २६ वटा प्रस्तावमाथि छलफल र निर्णय गर्दै काठमाडौँ महानगरपालिकाको ३६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकमा प्रशासन विभागसँग सम्बन्धित ७ वटा, सार्वजनिक निर्माण विभागसँग सम्बन्धित ४ वटा, विपद व्यवस्थापन विभागसँग सम्बन्धित ३ वटा, स्वास्थ्य विभागसँग सम्बन्धित २ वटा, सम्पदा तथा पर्यटन विभागसँग सम्बन्धित ४ वटा प्रस्ताव थिए । यस्तै सूचना प्रविधि, कृषि, राजस्व, सहरी व्यवस्थापन, शिक्षा र कृषि विभागसँग सम्बन्धित एक÷एक वटा प्रस्ताव थिए ।

कार्यपालिका बैठकको लाइभ भिडियो यहाँ हेर्न सकिन्छ । 

वैठकले एग्रो पुलिङ् योजनालाई कम्पनी मोडल वा सहकारी मोडलमध्ये उपयुक्त मोडलमा कार्यान्वयन गर्न सैद्धान्तिक सहमति दिएको छ । यस्तै पूर्वाधार निर्माण कम्पनी स्थापना तथा सञ्चालन गर्न, स्वास्थ्य संस्था दर्ता, नविकरण, स्तरोन्नति तथा नियमन निर्देशिका तर्जुमा गर्न, विपद पीडित परिवारलाई सहायता रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि, इलेक्ट्रिकल सेफ्टी अडिट कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । 

बैठकले सिसिटिभी क्यामरा जडान गर्न नेपाल टेलिकमको फाइबर नेटवर्क प्रयोग गर्ने, नेपाल एम्बुलेन्स सेवालाई निरन्तरता दिन सम्झौता नविकरण गर्ने निर्णय गरेको छ । यस्तै वडा नं. ३२ कोटेश्वर महादेवस्थान गगनेश्वर मन्दिर परिसरमा ज्येष्ठ नागरिक सत्तल निर्माण कार्य, वडा नं. १२ को यारहिटी पुनःनिर्माण, वडा नंं १२ कै युतननी त्वाः छेँ पुनःनिर्माण, वडा नं. २० जैसीदेवलको गणेश मन्दिर पुनःनिर्माणको म्याद थप गरेको छ । 

वडा भवन निर्माणतर्फ वडा नं. २९ को भवन निर्माण कार्यको म्याद थप र भेरिएसन, वडा नं. १० को सहभागिता मार्ग र पुष्पनगर मार्ग सडक निर्माण कार्यको भेरिएसन स्वीकृत गरेको छ । 

वैठकले ८१ वटा सामुदायिक विद्यालयलाई प्रारम्भिक बाल विकास शिक्षाको स्तरोन्नतिका लागि निकासा गरिएको रकम, असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल बर्षाका कारण काभ्रे जिल्लामा पुगेको क्षति पुनःस्थापना र राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिकालाई २० लाखका दरले उपलब्ध गराइएको सहयोग रकम अनुमोदन गरेको छ । यो रकम महानगर विपद व्यवस्थापन समितिले निर्णय गरेर पालिकाहरुका कोषमा पठाएको थियो ।  

वैठकले यूएन ह्याविट्याटको आयोजनामा नोभेम्बर ४ देखि ८ तारिख (कार्तिक १९ - २३) सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्र्ड अर्वन फोरमको १२औँ सत्रमा भाग लिन उपप्रमुख सुनिता डंगोललाई सहमति प्रदान गरेको छ । 

बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सूचना प्रविधि समितिका संयोजक एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले प्रस्ताव पेश गर्नुभएको थियो । यस्तै राजस्व समितिकातर्फबाट वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले प्रस्ताव राख्नुभएको थियो ।

बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, सहरी व्यवस्थापन विभागका प्रमुख हरिश्चन्द्र लामिछाने, स्वास्थ्य विभागका प्रमुख दिपक के. सी., शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्मा र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले प्रस्ताव पेश गर्नुभएको थियो । कृषि विभागको एग्रो पुलिङ् कार्यक्रम सञ्चालन गर्न कार्यविधि तर्जुमा गर्ने विषयमा भएकोले कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले प्रस्ताव राख्नुभएको थियो । 

पेश भएका प्रस्तावसहित कार्यपालिका सदस्यहरु ईश्वरमान डंगोल, हीरालाल तण्डुकार, चिनीकाजी महर्जन, उदयचुडामणि बज्राचार्य, बिमलकुमार होडा, रामकुमार के. सी., सुमन श्रेष्ठ, वीरेन्द्र प्रजापती, दलबहादुर कार्कीले विविध विषयमा धारणा राख्नुभएको थियो । जनशक्ति व्यवस्थापन, सहरी बत्ती व्यवस्थापन, विपद जोखिम र व्यवस्थापन, बिमा कार्यक्रम, स्वास्थ्य प्रवर्धन, सेवा प्रवाह व्यवस्थापन उहाँहरुले राख्नुभएका विषय हुन् । 
  
 

  • प्रकाशित मिति: मंगलबार २२ असोज २०८१ १९:३५