वि.सं.: २०८२, माघ २७ मंगलबार
इ.स.: 2026 February 10,TUESDAY
वि.सं.: २०८२, माघ २७ मंगलबार
एच. पी. भी १६ र १८ ले क्यान्सर गराउन सक्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र आज देखि एच.पी.भी. विरुद्धको खोप सुरु भएको छ । यो सेवा फागुन ६ गतेसम्म चल्नेछ । एच.पी.भी. का विभिन्न प्रकारमध्ये एच.पी.भी १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ । यसबाट हुने जोखिम घटाउन सरकारले स्थानीय तहसँग समन्वय गरेर खोप सेवा प्रदान गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ । यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ ।
पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजार कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताउनुभयो । ‘लक्षित समूहलाई खोप सेवा प्रदान गर्न महानगरपालिकाले खोप केन्द्र सञ्चालन सम्बन्धी सुक्ष्म योजना बनाएर काम गरिरहेको छ । आन्तरिक तथा वाह्य समन्वय तथा सहकार्य, जनशक्ति र स्रोत साधनको उचित परिचालन गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘छात्राहरुलाई दिइने यो खोपलाई प्रभावकारी बनाउन विद्यालय परिवार र अभिभावकहरुलाई विशेष अनुरोध गर्दछु ।’
त्यस क्रममा वडा नंं २९ का अध्यक्ष कुश ढकालले भन्नुभयो, ‘एचपीभी खोप र यस्तै अन्य जनस्वास्थ्य प्रवर्धनका कार्यक्रमलाई अझ प्रभावकारी तथा सबैको पहुँचमा पुग्ने गरी विकास र विस्तार गर्नेछौँ ।’
‘एचपीभी भाइरसका धेरै प्रकार छन् । तीमध्ये एचपीभी १६ र १८ ले महिलाहरुको पाठेघरको मुखको क्यान्सर गराउन सक्छ ।’ संघ सरकारको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौत्तमले भन्नुभयो, ‘यो खोप क्यान्सर विरुद्ध नभइ क्यान्सर गराउने भाइरस विरुद्ध हो । यो खोप लगाएपछि पाठेघरको मुखसहित छाला, घाँटी लगायतका क्यान्सरबाट बच्न सकिन्छ । यस वर्ष सरकारले करिब ४ लाख छात्राहरुलाई खोप दिने लक्ष्य राखेको छ ।’
गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यो खोप दिएको थियो । यस वर्षको लक्ष्यका विषयमा कुरा गर्दै महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले शिक्षा विभागको तथ्याङ्क उधृत गर्दै भन्नुभयो, ‘महानगरपालिकाभित्रका कक्षा ६ मा भर्ना भएर अध्ययन गरिरहेका ८ हजार ११० जना छात्राहरु छन् । विद्यालय नजाने तर खोप दिनु पर्ने करिब ५ सय छात्रा भएको अनुमान छ । यस वर्षका लागि हाम्रो लक्ष्य यही हो ।’ शिक्षा अधिकृत इन्द्र दाहालका अनुसार शिक्षा विभागले खोप कार्यक्रम सञ्चालन गर्न सबै विद्यालयमा समन्वय गरिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले ३० जना छात्रालाई खोप दिनु पर्ने विद्यालयलाई एउटा खोप केन्द्र बनाएको छ । ३० जनाभन्दा कम विद्यार्थी भए भने संयुक्त खोप केन्द्र सञ्चालन हुनेछ । खोप केन्द्र, वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर निर्धारण गरेका हुन् ।
खोपका बारेमा पदमकन्या विद्याश्रमको कक्षा ६ मा अध्ययनरत छात्रा कृष्टिना चौधरी भन्नुहुन्छ, ‘घरतिर पाठेघरको मुखको क्यान्सरको कुरा सुन्दा डर लाग्थ्यो । त्यसबाट बचाउन स्कूलमै खोप लिन पाइयो । धेरै खुशी लागेको छ ।’
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् र उपचार गरेर ३ चरणका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन हुनुपर्छ । यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य छ । पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।
नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाको तथ्याङ्कमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App