वि.सं.: २०८३, वैशाख ३० बुधबार
इ.स.: 2026 May 13,WEDNESDAY
वि.सं.: २०८३, वैशाख ३० बुधबार
काठमाडौँका विभिन्न ८ ठाउँमा निःशुल्क पिउने पानी बुथबाट पिउने पानी उपलब्ध
काठमाडौँ । महावौद्धमा राखिएको निःशुल्क वाटर वुथमा एक जना व्यक्ति आउनुभयो । उहाँले हातमा नाम्लो बोक्नुभएको थियो । वुथमा आएपछि टाउकोमा लगाइ राखेको टोपी खोल्नुभयो । हातमा भएको नाम्लो र टोपी छेउमा राख्नुभयो । धारो खोलेर दुवै हात मिचिमिचि धुनुभयो । मुख धुनुभयो । त्यसपछि पानी पिएर छेउमा राखेको टोपी लगाउनु भयो । नाम्लो टिपेर गन्तव्य तिर लाग्नुभयो ।
खुला मञ्चमा भएको वुथमा एक जना ज्येष्ठ नागरिकले आएर भित्री कपडा धुनुभएको फुटेज सीसीटिभी क्यामरामा देखिएको छ ।
वैशाख ५ गते भेहिकल फ्री असन कार्यक्रम सुरु हुने बेलामा जमलमा भएको वाटर वुथबाट बोतलमा पानी थापेर मःमः पकाउन लगेको दृश्य विभागका अधिकारीकै सामुन्ने भएको देखिएको हो ।
वडा नं. ५ को वुथमा होलीका दिन डेढ घण्टामा ३ हजार लिटर पानी रित्तियो । कारण खोज्न सीसीटिभी फुटेज हेर्दा होली खेल्न वुथको पानी प्रयोग भएको देखियो ।
वाटर वुथसँग सम्बन्धित यस्ता धेरै क्रियाकलाप देखिन्छन् । जुन वुथ सञ्चालनको उद्देश्य भन्दा फरक छन् । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाईका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्य भन्नुहुन्छ, ‘यो वुथ विशुद्ध पिउने पानी वितरणका लागि हो । यो लुगा धुने धारो होइन । यहाँबाट पानी भरेर लैजान मिल्दैन । अझ यसरी भनौँ, यो केवल पिउनका लागि हो । यहाँको पानी पिउन बाहेक अरु केही पनि गर्न मिल्दैन ।’
काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प्रयोग परीक्षण गरेपछि २०८३ वैशाख ५ गते यी वुथहरुको औपचारिक शुभारम्भ गरिएको हो । त्यस दिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, भेहिकल फ्री असन कार्यक्रमसँगै यी वुथको उद्घाटन गर्नुभएको थियो । यी ८ वटा वुथको निर्माण लागत २ करोड ६० लाख रुपियाँ हो । यी वुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ ।
नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौँको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कूलको कम्पाउण्ड (जमलबाट कमलाछी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।
वुथ निर्माण गर्न महानगरपालिका र वोर्ड बिच २०८१ फागुन २५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता बमोजिम बोर्डले खुला बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट गरेको थियो । १८ महिना निर्माण पक्षबाट यसको सञ्चालन हुनेछ । त्यसपछि महानगरपालिकाले सञ्चालन व्यवस्थापन गर्नेछ ।
वुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ । पानीको स्वच्छता नियमित रुपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४ सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ । यसको डिजाइन गर्दा बालमैत्री संरचनामा ध्यान दिइएको छ ।
यो केवल वाटर वुथ मात्र होइन । स्वच्छ खानेपानीमा पहुँच हुने संवैधानिक तथा मौलिक अधिकारको प्रत्याभूति र दिगो विकास लक्ष्य प्राप्तिको प्रयास पनि हो ।
यो वुथ काठमाडौँको मौलिक जरु हिटिको परिवर्तित स्वरुप मान्न सकिन्छ । काठमाडौँबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटिमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अंखोरा पनि हुन्थ्यो । हिटिबाट पानी भरेर फर्किँदा अंखोरामा भएको पानी बाटोमा बनाइएको पानी संकलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो ।
आफूसँगै अरुलाई बचाउने काठमाडौँवासीको मौलिक परम्परा हो । पहिलेजस्तो अहिले हिटिमा गएर पानी ल्याउनु पर्दैन । यसकारण जरुहिटि पनि सुक्दै गए । यसरी सुक्दै गएका जरुहिटिले वटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटीएम वुथ बनाइएका हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App