वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
नीतिबाट खेलाडीहरुको ‘आत्मसम्मान’ र ‘प्रतिष्ठा’लाई उच्च बनाउँछौँ - उपप्रमुख डंगोल
काठमाडौँ । पूर्ण अशक्त र अति अशक्त व्यक्तिहरुका बिच बोसिया खेल सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ बसन्तनगरमा रहेको सामुदायिक भवनमा सम्पन्न प्रशिक्षण तथा प्रतियोगितामा ६० जना खेलाडी सहभागी हुनुभएको थियो । खेलमा सबैभन्दा कम उमेर ११ वर्ष र सबैभन्दा वढी ४३ वर्षका खेलाडी सहभागी हुनुहुन्थ्यो । सबैभन्दा टाढाबाट आउने खेलाडी भक्तपुरबाट आउनुभएको थियो । यसमा ३३ जना पुरुष र २७ जना महिला सहभागी हुनुभएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र वितरण गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सबै विधाका खेलाडीहरुको ‘आत्मसम्मान’ र ‘प्रतिष्ठा’का लागि नीति, योजना र कार्यक्रममार्फत काम गर्ने बताउनुभयो । ‘खेल प्रतियोगितासँग मात्र जोडिएको छैन । यसको सम्बन्ध त जनस्वास्थ्य, सामाजिक सद्भाव, अनुशासन जस्ता महत्वपूर्ण पक्षसँग जोडिएको छ । खेलको विकास र खेलाडीको प्रतिष्ठा बचाउँदा सामाजिक व्यवस्थापनमा अनेक कोणबाट लाभ हुन्छ । यसलाई स्थापित गराउन हामी प्रतिवद्ध छौँ ।’ उहाँको भनाइ थियो ।
समापन अवसरमा उहाँले, खेलाडी, खेलाडीका अभिभावक, अपाङ्गता अधिकारका क्षेत्रमा काम गर्ने पदाधिकारीहरुसँग छलफल गरेर पूर्ण अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनका कठिनाइ, सामाजिक दृष्टिकोणसँग जोडिएका समस्या, सम्भावना र अपेक्षाका विषयमा कुराकानी गर्नुभएको थियो । त्यस भलिबल र फुटबलका पूर्व राष्ट्रिय खेलाडी यशोदा बोहोराले, हौसलाबाट खुशी सुरु हुने धारणा राख्दै यसप्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई तपाईँ केही गर्न सक्नुहुन्न भनेर हतोत्साहित हुने वातावरणमा सुधारको खाँचो देखाउनुभयो । खेलकै क्रममा आफू फुटबल र भलिवलमा फर्कन नसक्ने भएपछि पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको प्रोत्साहनका लागि बोसिया खेलमा आएको बताउनुभयो । नेपाल बाहिर अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक अभ्यासमा जोड गराइन्छ । नेपालमा अशक्त भयो भनेर केही गर्न सक्दैन । केही हुन सक्दैन भनेर हतोत्साह गरिन्छ । यसलाई सुधार गरिदिनु परो । निर्मला फाउन्डेसनका अध्यक्ष निर्मला भण्डारीले उपप्रमुख डंगोलसँग सोच परिवर्तनका लागि नेतृत्व गरिदिन आग्रह गर्नुभयो । अभिभावकहरुले पहुँचयुक्त सार्वजनिक संरचनाको अवस्थाका विषयमा कुरा गर्दै, अपाङ्गथता भएका व्यक्तिहरुका लागि घर बाहिर आउन सक्ने, सार्वजनिक स्थलहरुमा गएर बाहिरी वातावरणमा घुलमिल गर्न सक्ने वातावरण बनाइ दिन आग्रह गर्नुभयो ।
त्यस क्रममा बोल्दै वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले, पूर्ण अपाङ्गता भएर पनि भविष्यप्रति उत्साहित खेलाडीहरु सामान्य व्यक्तिहरुलाई जीवनको आदर्श सिकाउने गुरु भएको धारणा राख्नुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघका अध्यक्ष गोमादेवी पौडेलका अनुसार बोसिया खेल ४ वटा क्याटागोरीमा खेलाइन्छ । बीसी १ खुट्टाले खेलिने क्याटागोरी हो । बीसी २ मा हातले खेलाइन्छ । जसको कम्मरमुनिको भाग चल्दैन, हात पनि दरो हुँदैन तर खेल्न सक्छन्, यी व्यक्तिहरु यस समूहमा पर्छन् । बीसी ३ मा आफैँ खेल्न नसक्ने तर सहयोगीको सहयोगले खेल्न सक्ने खेलाडी हुन्छन् । बीसी ४ मस्कुलर डिस्ट्रोपीसहित समस्या भएका व्यक्तिलाई खेलाइन्छ । उनीहरुको हातमा असाध्यै कम मात्र बल हुन्छ । यो खेलमा उमेर र तौलको बन्देज हुँदैन ।
यो खेल डिजाइन गर्दा सेरेब्रल पाल्सी भएका व्यक्तिहरुका लागि डिजाइन गरिएको हो ।
यो खेल समथर चिल्लो सतहमा खेलाइन्छ । खेलमा सेतो रङ्गको बल मुख्य हुन्छ । यो टार्गेट बल हो । यसलाई ‘ज्याक बल’ भनिन्छ । खेलाडीले अन्य विभिन्न रङ्गका बललाई फालेर वा गुडाएर ज्याक बलको नजिक पु¥याउनु पर्छ । एकल खेलाडी, जोडी खेलाडी र समूहगत खेलाडी राखेर खेलाइने यो खेलमा टार्गेट बलको सबैभन्दा नजिक जसले बल पु¥याउन सक्छ । उही नै विजेता बन्छ । व्यक्तिगत र जोडी खेलाडीलाई ४ राउण्डमा र समूहलाई ६ राउण्डमा खेल खेलाइन्छ ।
सन् १९८४ को न्युयोर्क पारा ओलम्पिकबाट प्रतियोगिताका रुपमा खेलाइएको यो खेल अहिले विश्वका करिब ७५ देशले प्रतियोगिता गर्ने गराएका छन् । राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय क्षेत्रीय प्रतियोगिता, विश्वकप, विश्व च्याम्पियनसिपसहित हुने यो खेल हरेक ४ वर्षमा पारा ओलम्पिक हुने गरेको छ । पारा ओलम्पिकमा ७५ वटा राष्ट्रिय संस्थाहरुले सहभागिता जनाएका छन् । यसको बोसिया अन्तर्राष्ट्रिय खेलकुद महासंघ छ ।
बाल मस्तिष्क पक्षाघात भएका, सिभियर स्पाइनल कर्ड इन्ज्युरी भएका, मस्कुलर डिस्ट्रोपी भएका, स्पाइना विफीडा भएका व्यक्तिहरु यस खेलका लक्षित खेलाडी हुन् । अरु कुनै पनि खालका खेल खेल्न नसक्नेले यो खेल खेल्न सक्छन् । कसैको सरीरको कुनै पनि भाग चल्दैन, टाउको मात्र चल्छ भने टाउकोले मात्र खेल्न सक्छन् । व्हीलचेयरको प्रयोग गर्छन् । अरु कुनै पनि अङ्ग चल्दैन खुट्टाले मात्र चल्छ भने खुट्टाले मात्र पनि खेल्न सक्छन् ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App