Logo
  • वि.सं.: २०८२, मंसिर २६ शुक्रबार​

  • इ.स.: 2025 December 12, FRIDAY

  • वि.सं.: २०८२, मंसिर २६ शुक्रबार​

  • 'अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नु पर्छ' - उपप्रमुख डंगोल 

    युरोपियन युनियनको मुख्यालयमा युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी बिच अन्तरक्रिया र छलफल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरुमा स्थानीय सरकार र सहरहरुलाई साक्षी प्रतिनिधिका रुपमा नभइ निर्णायक भूमिका सहित सार्थक सहभागितात्मक प्रतिनिधित्व गराउनु पर्ने बताउनुभएको छ । मंसिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८-१०)सम्म वेल्जियमको व्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजना गरिएको अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतिकरण गर्दै उहाँले यस्ता कार्यक्रममा स्थानीय सरकारहरुलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनु पर्ने बताउनुभएको हो । ‘यस्ता योजनामा प्रतिनिधित्व गराउने विगतको परम्परागत विधि सच्याएर नयाँ रणनीतिक योजनासहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ उहाँले जोड दिनुभयो । 

    ‘भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रुपमा मात्र हेर्नु हुँदैन । यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नु पर्छ । अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ । यसका लागि प्रोजेक्ट डिजाइनिङ् चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो ।’ उहाँले भन्नुभयो, ‘यसअघि अन्तरराष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरण अगाडि स्थानीय सहभागिता देखिँदैन । सबै निर्णय भइसकेपछि तोकिएको ढाँचाभन्दा बाहिर आउन नसक्ने अवस्थामा स्थानीयलाई सहभागी गराउने पद्धति केवल औपचारिकताका लागि मात्र हो । यसले योजनासँग स्थानीय अपनत्व जोड्न सक्दैन । स्थानीय सहभागिताको नारा केवल भाव विनाको अक्षर मात्र हुन्छ । विकासमा स्थानीयपन जोड्न त, लोकतान्त्रिक विधिबाट विकेन्द्रीकरणमा आधारित सहभागिता सुनिश्चित हुने रणनीति बनाउनु पर्छ ।’ उहाँले ग्लोबल गेट वे को सफलताका लागि ४ बुँदे सुझाव दिँदै भन्नुभयो, ‘अर्थपूर्ण सहभागिता, उत्थानशीलता (रिजिलियन्ट), स्थानीय मूल्यसँगको सम्बन्ध र समुदाय केन्द्रीत स्थानीयकरण नतिजा प्राप्तिका स्तम्भ हुन् । यी स्तम्भलाई सन्तुलित उपयोग गर्नुपर्छ ।’ 

    विकासको दिगोपनाका आयाममा चर्चा गर्दै उपप्रमुख डंगोलले, कसैलाई परनिर्भरतामा पार्ने गरीका परियोजना सञ्चालन गर्न नहुने बताउनुभयो । परनिर्भरतामा आधारित विकासले सुखभन्दा दुःख प्रदान गर्छ । कसैलाई मर्म पार्ने गरीको विकास हुनुहुँदैन । उहाँले दृष्टिकोण राख्नुभयो । 

    विकासमा स्थानीय सरकारको भूमिका विषयमा धारणा राख्दै उहाँले, अन्तरराष्ट्रिय लगानी र साझेदारीमा सञ्चालन हुने कार्यक्रममा स्थानीय सरकार अन्तिम सूचीका साझेदार नभइ पहिलो पाइलाका प्रमुख साझेदार भएको उल्लेख गर्नुभयो । 

    युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल गेटवे लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रीत थियो । त्यस अवसरमा नेपालबाट उपप्रमुख डंगोल, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी हुनुहुन्थ्यो ।    


     

  • प्रकाशित मिति बिहीबार २५ मंसिर २०८२ ०४:५० PM