Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • महानगरपालिकाबाट विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरु : हरेक आइतबार र बुधबार स्वास्थ्य प्रवर्धन केन्द्र बबरमहलमा परीक्षण 

    महानगरपालिकाले वडा स्तरमा परीक्षण थालेपछि अस्पतालहरुको चाप कम हुने मनोचिकित्सकहरुको अपेक्षा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरु गरेको छ । वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट आजदेखि तनाव, एङ्जाइटी, डिप्रेसन, रक्सी तथा लागु पदार्थको कुलत जस्ता समस्या समाधानका लागि सेवा सुरु गरिएको हो । यो सेवा हरेक आइतबार र बुधबार विहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ । पहिलो दिन १ जना महिला र १ जना पुरुषले सेवा लिनुभयो ।  

    सेवा प्रारम्भ अवसरमा बोल्दै वडाध्यक्ष हीरालाल तण्डुकारले, लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर कुरा गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउँदै जानु पर्ने धारणा राख्नुभयो । लुकाएकै कारण भित्रभित्र जटिल समस्या बढेर व्यक्तिगत, पारिवारिक र सामाजिक समस्या भएको उल्लेख गर्दै उहाँले, महानगरपालिकाबाट थालिएको सेवाले महसुस हुने गरीको नतिजा दिने आशा राख्नुभयो । 

    पाटन अस्पतालका मनोचिकित्सक डा. अनिमा पराजुलीका अनुसार आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दार, छटपटी,, मनमा धेरै कुरा खेल्ने, भोक निद्रा, दिशा, पिसाव गर्ने बानीमा अस्वभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण हुन सक्छन् । यसलाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नु अघि नै समाधानका उपाय खोज्नु उत्तम उपचार हो । ‘सामान्यभन्दा धेरै नकारात्मक वा पीडादायक सोचाइ आउनु’, ‘दुखित हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु’, ‘असहज शारीरिक लक्षण देखिनु’, ‘अस्वभाविक र असामान्य व्यवहार देखिनु’, ‘दैनिक काममा असहज हुनु’ जस्ता व्यवहार देखिए मानसिक समस्या हुन सक्छ ।’ डा. पराजुलीको भनाइ छ । 

    यस्ता समस्या सकेसम्म अरुलाई सुनाउने गरिँदैन । पाटन अस्पतालका चिकित्सा मनोविद अनुपराज भण्डारीले ठुला अस्पतालमा मानसिक समस्याका विरामीको संख्या थेग्न कठिन हुने रहेको उल्लेख गर्दै वडास्तरमा हुने विशेषज्ञ परीक्षणले अस्पतालहरुमा विरामीको चाप घट्ने र सेवाको गुणस्तर बढ्ने धारणा राख्नुभयो । 

    यस्तो अवस्थामा सकारात्मक सामनाका सिप अवलम्बन गर्नु पर्ने चिकित्सकहरुको सुझाव छ । विश्वाश लाग्ने व्यक्तिसँग मात्र कुराकानी गर्ने, परामर्शदातासँग कुरा गर्ने, व्यायाम गर्ने, पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्ने अभ्यास गर्नुपर्छ । यस्तै सन्तुलित खानपान गर्नुपर्छ । दैनिक करिब १ घण्टा व्यायाम गर्नुपर्छ । मोवाइल, ल्यापटप जस्ता स्क्रीन मिडियाको प्रयोग घटाउनुपर्छ । करिब ८ घण्टा सुत्नुपर्छ । हानीकारक पदार्थको प्रयोग गर्नुहुँदैन । मनोविद र मनोचिकित्सकहरुको सुझाव छ । आफूले आफैँलाई नियन्त्रणमा राख्ने अभ्यास पहिलो उपचार हो ।  

    मानसिक स्वास्थ्यको लक्षण, असर र समाधानका उपाय सम्बन्धी सन्देश प्रवाह गरेर मानसिक स्वास्थ्य समस्यालाई घटाउन, परीक्षण र परामर्शबाट व्यक्तिको अवस्था पत्ता लगाएर उपचार गर्न महानगरपालिकाको कार्यक्रम हो । कार्यक्रमबा बारेमा जानकारी दिँदै महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेले, नेपाल मनोचिकित्सक संघ र नेपाल चिकित्सा मनोविद् संघसँगको सहकार्यमा सेवा प्रारम्भ गरिएको जानकारी दिनुभयो । 

    प्रवर्धन केन्द्रका इञ्जार्च जनस्वास्थ्य निरीक्षक मेघबहादुर भुजेलले परामर्श तथा उपचार गर्न आउने सेवाग्राहीहरुको सजहतालाई ध्यानमा राखेर सेवा प्रदान गरिने बताउनुभयो । 


     

  • प्रकाशित मिति बिहीबार २९ जेठ २०८२ ०९:३९ AM