Logo
  • वि.सं.: २०८२, फागुन १ शुक्रबार​

  • इ.स.: 2026 February 13, FRIDAY

  • वि.सं.: २०८२, फागुन १ शुक्रबार​

  • भू-सेवा तथा भू-सूचना प्रणाली काठमाडौँका वडा तहबाट नमूना कार्यक्रमका रुपमा सञ्चालन हुने

    कार्यपालिका सदस्यहरुले उठाउनु भएका विषयमा सम्बन्धित विभागलाई अद्यावधिक विवरण उपलब्ध गराउन कार्यवाहक प्रमुखको निर्देशन 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गर्ने भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ४७ औँ कार्यपालिका बैठकमा, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेश गर्नुभएको प्रस्तावमा छलफल गर्दै नमूना कार्यक्रमका सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण व्यवस्था गर्दै अन्य वडामा पनि क्रमशः सेवा विस्तार गर्ने निर्णय पारित गरेको हो । नमूना कार्यक्रमका रुपमा वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन हुनेछ । 

    चारकिल्ला, घरबाटो शिफारिस जस्ता सेवा यसअघि पनि कार्यान्वयनमा आएका थिए । यसका अतिरिक्त भूमिको स्वामित्व तथा हक सम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा शिफारिस, कर तथा राजस्व सम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएको वडाबाटै प्राप्त हुनेछ । यस्तै नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनु पर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न वायोमेट्रिक विवरण संकलन गर्ने व्यवस्था, सम्पत्ति रोक्का राख्ने वा फुकुवा प्रक्रियामा वडा तहबाट शिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ । 

    माघ १८ गते गृह मन्त्रालयमा बसेको बैठकबाट महानगरपालिकाको वडा नं. २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने सहमति भएकोले यो भवन प्रयोगमा ल्याउने र रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै साविक वडा नं. २८ तथा अहिलेको वडा नं. २५ बाढ्गेमुढामा रहेको कित्ता नं. ५९४ मा जग्गा सम्बन्धी मुद्दामा महानगरपालिकाको पक्षमा अदालतबाट फैसला आएकोले यसको उपभोग तथा व्यवस्थापनका लागि नेपाल सरकारबाट अनुमति माग्ने निर्णय भएको छ ।  

    कार्यपालिकाको प्रत्यक्ष भिडियो हेर्नका लागि तलको प्ले आइकन थिच्नुहोला ।  

    वैठकमा उठेका प्रस्ताव र विविध माथिका विषयहरुलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२÷०८२ मा गरेको मूल्याङ्कनमा महानगरपालिकाले प्राप्त गरेको अङ्क अध्ययन प्रतिवेदनका लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिनुभयो । यस्तै वडा नं. २२ मा निर्माण सम्पन्न भएर उपयोगमा आउन बाँकी रहेको सांस्कृतिक द्यः छेँलाई सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्न वडा नंं २३ का अध्यक्ष मचाराजा महर्जनलाई जिम्मेवारी दिनुभयो । उहाँले ४७ औँ कार्यपालिकाको बैठकले गरेका निर्णय प्रमाणीकरण गरेर ७ दिनभित्र सदस्यहरुलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ । 

    प्रश्नहरुको जवाफमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, कर्मचारी सम्मानलगायत प्रोत्साहन र मानव पूँजी विकास गर्ने, महानगरपालिकाको पूँजीगत खर्च बढाउने, बेरुजु घटाउने र विगतको वेरुजुलाई समपरीक्षण गरेर नियमित गराउन थप सक्रियताका साथ काम गरिने बताउनुभयो ।

    आजको बैठकमा प्रशासन, स्वास्थ्य र सार्वजनिक निर्माण क्षेत्रसँग सम्बन्धित १० वटा प्रस्ताव र विविधमा २ वटा विषय कार्यसूचीमा थिए । यी प्रस्तावमध्ये प्रशासनसँग सम्बन्धित विषयमा सुशासन समितिका संयोजक तिवारीले, सार्वजनिक निर्माणसँग सम्बन्धित प्रस्तावमा पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले र स्वास्थ्यसँग सम्बन्धित विषयमा विभागका प्रमुख दिपककुमार के. सी. लाई प्रस्ताव पेश गर्ने समय दिइएको थियो । 

    कार्यसूचीमा भएका विषयमा गरिएको छलफलपछि समसामयिक विषयमा बोल्न दिइएको समयमा प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगत, सामाजिक समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार के. सी., विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, वित्त समितिका संयोजक एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडा नं. ७ का अध्यक्ष बिमलकुमार होडा, वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठ, वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा नं. २७ का अध्यक्ष योगेश खड्गी र वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले समसामयिक र आमचासोका विषयमा धारणा तथा प्रस्ताव राख्नुभएको थियो । 

    स्वास्थ्य विमा कार्यक्रममा सरकारले गरेको निर्णयबाट सर्वसाधारणमा परेको अन्यौलता हटाउनु पर्ने, सरसफाइका लागि माग गरिएका जनशक्तिको पूर्ति गर्ने सम्बन्धमा जवाफ पाउनु पर्ने, तार व्यवस्थापनको एकीकृत काम गर्नुपर्ने, वाढी नियन्त्रण पूर्व तयारी तथा प्रभाव व्यवस्थापन गर्नुपर्ने, जेष्ठ नागरिकहरुको घरघरमा गएर परिचय पत्र तथा अन्य सेवा नवीकरण गर्नु पर्ने, वालाजु वाइसधाराको पौडी पोखरी सुचारु गर्नु पर्ने, सहकारी सम्वन्धी समस्या सुनुवाई गर्ने प्रणाली बनाउनु पर्ने, सडक वत्ती सम्बन्धी योजना कार्यान्वयनमा ल्याउनु पर्ने लगायत विषय सदस्यहरुले उठाउनुभएको थियो ।  

    माघ १ गते दिवङ्गत हुनुभएका वडा नं. २२ का पूर्व वडाध्यक्ष माणिकरत्न स्थापित र माघ २ गते दिवङ्गत हुनुभएका २०३० सालका काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधनप्रति मौन धारण गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ । 


  • प्रकाशित मिति शुक्रबार​ १ फागुन २०८२ ०४:४६ PM