वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
वडा नम्बर ८ को चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी वर्षको योजना तर्जुमा सम्पन्न
काठमाडौँ । ‘चुनावका समयमा हुने राजनीतिक प्रतिस्पर्धा चुनावपछि पनि कायम रहँदा आफ्नै आँगन, आफ्नै चोक, आफू हिँड्ने सडक निर्माणमा अवरोध भयो । आफैँले पाउने सुविधा पाउन कठिन भयो । यसकारण विकासमा सबैको साझा दृष्टि आवश्यक छ ।’ काठमाडौँ महानगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले भन्नुभयो, ‘विरोध, उजुरी र मुद्दाका कारण सार्वजनिक हितका कतिपय काम रोकिएका छन् । कतिपय काम निर्माण सम्पन्न हुने ठाउँमा पुगेर रोकिएका छन् । कतिपय काम थालनी गर्नै पाइएन ।’ वडाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष संगतले, निर्वाचित भइसकेपछि सम्पन्न भएका काम र चालु आर्थिक वर्षमा सम्पन्न कामको विवरण प्रस्तुत गर्दै विकास निर्माण चुनौतीका कुरा गर्दै यस्तो बताउनुभएको हो ।
‘महानगरपालिकाको वर्गीकरणमा मझौला वडामा परेको वडाले वडाभित्रका सबै ठाउँ, बस्ती र समुदायलाई समान दृष्टि दिएर पूर्वाधार निर्माण, सामाजिक विकास, स्थानीय आर्थिक उपार्जन, सांस्कृतिक रीतिथितीको निरन्तरता र प्रवर्धन, मूर्त अमूर्त सम्पदाको संरक्षणलाई समान दृष्टि राखेर कार्यान्वयनमा लगिएको उहाँको भनाइ थियो । शासन र सेवा प्रवाहका लागि वडाको नयाँ प्रशाशकीय भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनु हामीले गरेका महत्वपूर्ण काममध्येको एउटा हो ।’ संगतले धारणा राख्नुभयो ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये पूर्वाधारतर्फ १३ वटा निर्माण सम्पन्न भइसकेका छन् । कार्यान्वयन चरणमा रहेका योजनाहरुको विवरण आर्थिक वर्षको अन्त्यमा सार्वजनिक गरिने वडाको योजना छ । गएको वर्ष (आ. व. २०८०/०८१) मा ४९ वटा योजना सम्पन्न गरिएका थिए । निर्वाचित भएको पहिलो वर्ष (आ. व. २०७९/०८० को जेठ १७ गते पदवहाली गरेपछि) मा ३६ वटा योजना सम्पन्न गरिएका थिए ।
वडाले जयबागेश्वरीदेखि पशुपतिसम्म पुग्ने गल्ली, सेतो ढोकादेखि जयबागेश्वरी पुग्ने गल्लीमा ढुङ्गा विछ्याउने काम सकेको छ । ६ वटा फल्चा पुनःनिर्माण गरेको छ । एक ठाउँमा सार्वजनिक शौचालय बनाएको छ । विभिन्न ५ ठाउँमा पार्क निर्माण र खुला व्यायामशाला बनाएको छ । महामृत्युञ्जय, स्वर्ण गणेश, इना गणेशको मन्दिर पुनःनिर्माण सम्पन्न गरेको छ । पिंगलास्थान र तिलगंगामा परम्परागत द्वार निर्माण गरेको छ । ३ वटा डवली पुनःस्थापना गरेको छ । २ वटा इनार उत्खनन गरेर पुनःस्थापना गराएको छ । एउटा ढुङ्गेधारा पुनःनिर्माण सम्पन्न गरेको छ । एउटा पुनःनिर्माण सुरु गर्दैछ । व्रह्मा मन्दिर र सेतो ढोका पुनःनिर्माणको चरणमा छन् । इटापाखालाई मौलिक स्वरुपमा बनाइँदैछ । वडा इन्द्रजात्राका क्रियाकलाप सञ्चालन गर्न रथ बनाउने काम चलिरहेको छ ।
खेलकुदतर्फ फुटसल, कराँतेलगायत आउटडोर र इनडोरका विभिन्न प्रतियोगिता गराएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउन विहान ८ बजेदेखि नै रामघाट प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।
पिंगलास्थानमा खानेपानीको समस्या समाधान गर्न गौशालादेखि पानीको छुट्टै पाइपलाइन विछ्याइएको छ । यस्तै, पञ्चकन्या टोलमा खानेपानीको समस्या समाधान गर्न मित्रपार्कदेखि लाइन विछ्याइएको छ ।
सामाजिक क्षेत्रका कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन गराएर आपसी भेट र सामाजिक संवादको वातावरण बनाइएको छ । सिपमूलक र व्यावसायिक तालिमतर्फ एक वडा एक नमूना कार्यक्रमअन्तर्गत रुद्राक्षको ढाकी बनाउने तालिम सञ्चालन गरेर व्यावसायिक क्रियाकलाप सञ्चालन भएका छन् । यस्तै, साबुन बनाउने, वेकरी बनाउने, धूप बनाउने, फूलको बुके बनाउने, नेल आर्ट, अचार बनाउने लगायत तालिम सञ्चालन गरिएका छन् । यस्तै परम्परागत बादन, गायन तथा नृत्य संरक्षण प्रवर्धन गर्न धिमे, धाः, नायखिँ, बाँसुरी बादनको प्रशिक्षण सम्पन्न भएको छ । परम्परागत संस्कार र संस्कृति सञ्चालन गर्ने गुथि गहनाहरुलाई सहयोग उपलब्ध गराएर स्थानीय जात्रा पर्वको सञ्चालन निरन्तरतामा सहयोग गरेको छ ।
करिब ५३ हजार जनसंख्या भएको वडामा करिब २२ सय घरधुरी छन् । वडाको पूर्वमा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ८ पर्छ । पश्चिममा महानगरपालिकाकै वडा नम्बर ७, उत्तरमा वडा नम्बर ६ र दक्षिणमा वडा नम्बर ९ पर्छ ।
कार्यक्रममा स्थानीयबासीले, क्षेत्राधिकारभित्र परे पनि नपरे पनि स्थानीयबासीका समस्या वडाले नै समाधान गरिदिनु पर्ने माग राख्नुभयो । कसैले रोक्न खोजे पनि तपाईँहरु रोकिनु हुँदैन । अहिलेका सरकारमध्ये स्थानीय सरकारले नागरिकको सबैभन्दा नजिकको सरकार हो । सबैभन्दा शक्तिशाली हो । यसलाई मनन गर्नु, उहाँहरुको सुझाव थियो । आगामी वर्षको बजेट माग गर्दै उहाँहरुले भन्नुभयो, ‘हामीले मागेका कुरा तपाईँहरुको क्षेत्राधिकार भित्र पर्छन् कि पर्दैनन् । परे पनि नपरे पनि हामीले माग गर्ने तपाईँहरुसँगै हो ।’
सिमाना जोडिएका ठाउँको विकासमा दुवैतर्फबाट योजना नपर्ने नहोस्, पशुपति क्षेत्रमा लास ल्याउने र अन्तिम संस्कार गर्ने प्रक्रिया सहज बनाउनु पर्यो । बाटो छेकेर फूल बेच्ने क्रियाकलाप बन्द गराइदिनु पर्यो । माग्नेहरुको संख्या घटाउनु पर्यो । सार्वजनिक शौचालय थप गरिदिनुपर्यो। पञ्चदेवलमा भएको वृद्धाश्रम जोखिमपूर्ण छ । यसलाई पुनःनिर्माण गराइदिनुपर्यो । विश्वरुप पारी धूवस्थली चढ्ने गल्ली नाजुक छ । पुनःनिर्माण गराइदिनुपर्यो। सूर्यघाटबाट आर्यघाट जोड्न आकाशे पुल बनाएर जोरपाटीतर्फबाट आउने लासलाई त्यो मार्ग उपलब्ध गराउनु प¥यो । शान्ति तीर्थमन र किराँतेश्वरलाई झोलुङ्गे पुलले जोडेर आकर्षक पर्यटकीय स्थल बनाउनु पर्यो । पार्कहरुमा भक्ष र अभक्ष, कृत्य र कुकृत्य क्रियाकलाप हुने देखियो । सीसीटिभी क्यामरा जडान गरेर नियन्त्रण गरिदिनु पर्यो ।
यस्तै विभिन्न स्थानमा चौतारा बनाइदिनुपर्यो। सडक पार गर्न अण्डरपाससहितका संरचना बनाइदिनुपर्यो। फल्चामा उक्लिन र ओर्लिन सजिलो हुने गरी ठाउँ बनाइदिनुपर्यो। स्थानीयबासीहरुले यससँगै समुदायको विकासका कार्यक्रम, सडक, ढल निकास, खानेपानीको समस्या समाधान, महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि कार्यक्रम, खेलकुदका कार्यक्रमको माग गर्नुभएको छ । सुनुवाई तथा योजना माग गर्ने क्रममा २६ जना स्थानीयबासीले प्रश्न सोध्ने राख्दै तथा सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वडाले तयार पारेको जात्रा पर्वसँग सम्बन्धित श्रव्यदृश्यमध्ये पाहाँचह्रे जात्राका विषयमा तयार पारिएको सामग्रीको संक्षिप्त प्रस्तुति सार्वजनिक गरिएको थियो ।
पशुपतिनाथ, गुह्येश्वरी, गौशाला, जयबागेश्वरी, वनकाली, नवाली टोल, खरीबोट, पञ्चकन्या, तिलगंगा, पिंगलास्थान, इटापाखा यस वडाका नाम चलेका ठाउँहरु हुन् ।
प्राचीन समयमा यो क्षेत्र छुट्टै देशका रुपमा कायम थियो । यसकारण यस क्षेत्रलाई ग्वलःदे अर्थात ग्वल देशका रुपमा मानिन्छ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App