वि.सं.: २०८२, चैत १ आइतबार
इ.स.: 2026 March 15,SUNDAY
वि.सं.: २०८२, चैत १ आइतबार
सुक्खा फोहर विक्री योजना अन्तर्गत क्षेत्र नं. ७ कार्यान्वयनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं. ७ बाट दैनिक करिब ३ दशमलव १९ मेट्रिक टन फोहर ल्याण्डफिल साइट जानबाट रोकिने गरेको छ । आज फोहरमैला संकलन तथा ढुवानी निर्देशक समितिका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठक सहरभित्रको फोहर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन तथा मात्रा घटाउने प्रयासका विषयमा छलफल गर्ने क्रममा मटेरियल रिकभरी फ्यासिलिटीका विषयमा जानकारी गराइएको हो । यसमा संकलित फोहरबाट सुक्खा फोहर वर्गीकरण गरेर आय ठेक्कामार्फत विक्री गरिन्छ । वैठकमा छलफल गरिएको क्षेत्र नं ७ मा १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् ।
महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई ७ क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपियाँमा आय ठेक्का लगाएको छ । यीमध्ये क्षेत्र न. ७ का लागि छनोट भएको ग्लोरियस मल्टीपर्पोज एण्ड सप्लाइजसँग २०८१ फागुन २६ गते सम्झौता गरेर मटेरियल रिकभरी सुविधा कार्यान्वयनमा ल्याइएको छ । यस क्षेत्रबाट महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपियाँ आय गरेको छ । वैठकले फ्यासिलिटीको वोलपत्रदाताको म्याद १ वर्षका लागि थप गर्न शिफारिस गरेको छ । अन्य क्षेत्रका योजना भने कार्यान्वयनमा आउन बाँकी छन् ।
वैठकमा कार्यवाहक अध्यक्ष डंगोलले, फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । उत्पादिन फोहरको वर्गीकरणमा उत्पादक र व्यवस्थापनका लागि साझेदारले समान दायित्व लिनु पर्ने उहाँको धारणा थियो ।
सहरी सरसफाइ सेवालाई प्रभावकारी बनाउँदै आय हुन सक्ने ठाउँमा आय गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बताउनुभयो ।
फोहरलाई स्रोतमा वर्गीकरण गरेर अनुकरणीय काम गर्नेलाई पुरस्कृत गरेर प्रोत्साहन बढाउनु पर्नेमा जोड दिँदै प्रवक्ता नविन मानन्धरले, सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । अहिलेको अभ्यासलाई सिकाइ मानेर सेवा विस्तार गर्दै जानु पर्ने वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले बताउनुभयो ।
वैठकमा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले रिकभरी फ्यासिलिटीको अभ्यासका विषयमा र इञ्जिनियर रामप्रसाद नेपालले सेवा प्रदायकको कार्य सन्तुष्टि प्रतिवेदनका विषयमा जानकारी गराउनुभएको थियो ।
घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ वमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र न. १ का लागि नेप्सेम्याक सेवा प्रा. लि. छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रुपमा ६६ लाख ४२ हजार १ सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहर संकलन हुने अनुमान गरिएको छ ।
क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रा. लि. ले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपियाँमा ठेक्का कवोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा. लि. ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपियाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ ।
क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपियाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल उर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपियाँ कवोल गरेको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपियाँमा आय ठेक्का कबोल गरेको छ । यसरी कबोल गरिएको रकम कर बाहेकको हो ।
फोहरमैलालाई स्रोतमा वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहरमैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि २०८१ जारी गरेर कार्यान्वयनमा ल्याइएको छ । यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला संकलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो ।
कार्यविधि अनुसार फोहरमैलाको संकलन तथा ढुवानी सम्बन्धी नीतिगत प्रबन्ध गर्न प्रमुखको अध्यक्षतामा निर्देशक समितिको व्यवस्था गरिएको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहरी योजना आयोगका उपाध्यक्ष, प्रवक्ता, विषयगत समितिका संयोजक सदस्य रहने व्यवस्था रहेको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख समितिको सदस्य–सचिव हुनुहुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App