Logo
  • वि.सं.: २०८३, वैशाख ३ बिहीबार

  • इ.स.: 2026 April 16,THRUSDAY

  • वि.सं.: २०८३, वैशाख ३ बिहीबार

  • पशुपति क्षेत्रमा सडक मानवको उद्धार थालियो : अवस्था अवलोकनका क्रममा सडकमा माग्न बसेकाहरु छलिँदै भागे

    'हरेक घटनाको ‘टु साइड स्टोरी’ हुन्छ, सडक आश्रित व्यक्तिहरुको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ' - कार्यवाहक प्रमुख डंगोल 

    काठमाडौँ । ‘हरेक घटनाका  ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौँका सडकमा मानिसहरु किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरुको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौँलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, आज विहान पशुपति क्षेत्रमा सहयोगापेक्षीहरुको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाउनुभएको हो ।

    अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरु ऋाउने गरेको अनुभव सुनाउनुभएको थियो । यस क्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले, आफूले ट्याक्सी चढेर आउने, पशुपति क्षेत्रमा माग्ने र ट्याक्सी नै चढेर फर्किने गरेको व्यक्ति भेटेको अनुभव सुनाउनुभयो । उहाँहरुको अनुभव सुनिसकेपछि डंगोलले, जसको कोही छैन । जसको केही छैन । शारीरिक तथा मानसिक अवस्थाले जीवनयापनका अन्य विकल्प प्रयोग गर्न सकिँदैन । त्यस्ता व्यक्तिलाई आश्रय दिइने, ज्ञान तथा सिप प्रदान गरेर पेशा व्यवसायमा लगाउन सकिनेलाई रोजगारमूलक तथा स्वरोगजारमूलक कार्यक्रममा आवद्ध गराउने बताउनुभयो । 

    यस क्रममा सहभागी हुनुभएका धादिङको धुनिवेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले, काठमाडौँको यो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । हामीसँग धेरै बजेट छैन । विकट ठाउँ भएकोले नागरिकका न्यूनतम आवश्यकता पूरा गराउनमा हामीले काम गर्नु पर्नेछ । तर, हामीले मानवता जोगाउन दुःखसुख बनाएको भवन सहयोगापेक्षीको व्यवस्थापनका लागि प्रदान गर्नेछौँ । 

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माले, पशुपति क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुलाई राख्न प्रयोग हुने होल्डिङ कक्ष उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । पशुपति क्षेत्र देशको मुहार हो । यसलाई चम्किलो बनाउन सबैले काम गर्नुपर्नेछ । उहाँको भनाइ थियो । त्यस क्रममा महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगत, काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापासहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

    निरीक्षणका क्रममा वनकाली क्षेत्रसहित सहयोगापेक्षीहरुको बाक्लो उपस्थिति हुने ठाउँहरु, मानव कल्याण समाजमा रहेका आश्रितहरुको व्यवस्थापन, नन्दी सेवासहितका स्थानहरुका विषयमा जानकारी लिइएको थियो । 

    काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी सडक मानवमुक्त काठमाडौँ निर्माणको अभियान थालेको छ । सार्वजनिक चोक, गल्ली, पार्क, सम्पदा स्थल तथा मानिसहरुको बाक्लो आवतजावत हुने ठाउँमा विभिन्न उमेर समूह, लिङ्ग र अवस्थाका मानिसहरु पैसा मागिरहेको भेटिन्छन् । यसरी पैसा माग्नेहरुलाई मानवोचित व्इवस्थापन गरेर सडकलाई माग्ने व्यक्तिहरु मुक्त बनाउनु अभियानको मुख्य लक्ष्य हो । यस क्रममा सडकमा रहेका व्यक्तिहरुको उद्धार गर्नु, स्क्रिनिङ गर्नु र अवस्थाका आधारमा पारिवारिक तथा सामाजिक पुनःस्थापना गर्नु वा आश्रममा आश्रय प्रदान गर्नु यसको मुख्य क्रियाकलाप हो । यस कार्यक्रमको पहिलो दिन आज बेलुका ८ बजे पशुपति क्षेत्रबाट सहयोगापेक्षीहरुको उद्धार हुँदैछ । उद्धार कार्यमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आफैँ सहभागी हुनुहुनेछ । महानगरपालिकाका सामाजिक विकास विभाग र महानगर प्रहरी बलले यस कार्यको नेतृत्व गर्नेछन् । यसमा नेपाल प्रहरी र मानव सेवा आश्रमसँग सहकार्य हुनेछ । 

    विगतमा गरिएका अभ्यासहरुको विश्लेषण गरेर यस पटक एकद्वार प्रणालीबाट उद्धार तथा व्यवस्थापन हुनेछ । यस क्रममा आज नै मानव सेवा आश्रमको कल सेन्टर सञ्चालनमा ल्याइएको छ । 

  • प्रकाशित मिति बुधबार २ वैशाख २०८३ ०८:२० PM