Logo

गायन कलालाई रचनात्मक उद्योगसँग जोडेको बताउँदै कलाकारहरुबाट काठमाडौँ महानगरपालिकाको प्रशंसा 

महानगर दिवसको सांगीतिक कार्यक्रममा व्याण्डसहित २० वटा प्रस्तुति 

काठमाडौँ । गायन कलालाई रचनात्मक उद्योगमा जोडेको बताउँदै गायन क्षेत्रका कलाकारहरुले काठमाडौँ महानगरपालिकाको प्रशंसा गर्नुभएको छ । ३० औँ महानगर दिवस २०८१ का अवसरमा महानगरपालिकाले मंसिर २९ गते शनिवार आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उहाँहरुबाट यस्तो प्रतिक्रिया प्राप्त भएको हो । 

‘गायनसँगै प्रस्तुतिभित्र बादन, प्रविधिलगायत विभिन्न विधा छन् । ती विधासँग पेशा र व्यवसाय जोडिएका छन् । महानगरपालिकाको कार्यक्रमले ती सबै विधालाई जागृत गरेको छ । यो महत्वपूर्ण पक्ष हो ।’ उहाँहरुको भनाइ छ । 

कलाकारहरुको उत्साहजनक प्रस्तुति र दर्शकहरुको उल्लेख सहभागिताले कार्यक्रम सफल भएको महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभयो । महानगर दिवसको सबैमा शुभकामना दिँदै दर्शकहरुलाई भन्नुभयो, ‘तपाईँहरु मंसिरको चिसो दिनमा पनि दिउँसोदेखि नै कार्यक्रम स्थलमा आउनुभयो । रात अवेरसम्मका प्रस्तुतिहरु हेर्न बस्नुभयो । प्रस्तुतिहरुमा रमाउनु भयो । यसप्रति आभार प्रकट गर्दछु ।’

सांगीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण भएको भिडियो यहाँ हेर्न सकिन्छ । कोठाभित्रको रातो संकेत थिच्नोस् । 

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘कलाकारहरुको उत्कृष्ट प्रस्तुति र दर्शकहरुको मर्यादित सहभागिताले कार्यक्रम सफल भयो ।’

कार्यक्रममा पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारले लोक, आधुनिक तथा पपसहितका विधामा गायन गर्नुभएको थियो । व्याण्डहरुको बादनसहितको प्रस्तुति थियो । गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी र इन्द्रकला राईका प्रस्तुति थिए । सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, कुमा सागर एण्ड द ख्वपः सुशान्त एण्ड राघव, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, सन्दिप विष्ट, चक्र बमसहित कलाकारका प्रस्तुतिमा दर्शकहरु रमाउनुभएको थियो । राष्ट्रिय झण्डा बोकेर, नाचेर दर्शकहरुले उत्साह प्रकट गर्नुभएको थियो । 

दिवसका अवसरमा विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोह आयोजना गरिएको थियो । त्यसपछि विहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना र पेय पदार्थ र एक वडा एक नमूना उत्पादनअन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु भएको थियो । अपरान्ह सांगीतिक कार्यक्रम सुरु भएको थियो । 

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

तस्विर : विनय शाक्य / अमृत पाण्डे 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • प्रकाशित मिति: आइतबार​ ३० मंसिर २०८१ १९:१२