वि.सं.: २०८२, माघ २ शुक्रबार
इ.स.: 2026 January 16, FRIDAY
वि.सं.: २०८२, माघ २ शुक्रबार
विपदलाई दिवस विशेष कार्यक्रममा सीमित बनाउनु नहुने, संरचना निर्माणको रैथाने सिपको अध्ययन गरिनु पर्नेमा बक्ताको जोड
काठमाडौँ । ‘सबै तहका सरकार, सवै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ । १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्याउने प्रतिवद्धता जोडिएको छ । विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले, भूकम्पीय क्षति घटाउन पूर्व तयारीको संयन्त्र बलियो बनाउनु पर्ने बताउँदै यसका लागि अन्तरसरकार समन्वय बढाउँदै लैजानु पर्ने, स्थानीय सरकारहरुबाट भएका प्रयासहरुलाई संस्थागत गर्दै लैजानु पर्ने बताउनुभयो । आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ । उहाँले भन्नुभयो, ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानु पर्छ ।’
‘समुदायको क्षमतालाई विपद पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउनु पर्छ । विपदका समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो ।’ सभाका अध्यक्ष एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सिपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।’
‘भूकम्पजस्ता विपदको क्षति सम्झना गर्न थालेको धेरै भयो । अब क्षति हुन नदिने प्रणाली विकास गर्नमा काम गर्नु पर्ने बेला आएको छ ।’ कार्यक्रममा महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्धन गरौँ ।’
कार्यक्रममा १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको कम्पन, त्यसले पुर्याएको भौतिक तथा मानवीय क्षति, क्षति पुनःस्थापना गर्न त्यस वेला गरिएका प्रयासका बारेमा चर्चा गरिएको थियो । त्यसपछि २०४५ साल भदौ ५ गते उदयपुर केन्द्र भएको ६.६ म्याग्निच्युडको भूकम्पले ४० सेकेण्ड हल्लाएको थियो । २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएको ७.६ म्याग्निच्युडको भूकम्प, २०७९ कार्तिक २३ गते ६.६ म्याग्निच्युडको डोटी भूकम्प, २०८० कार्तिक १७ गते जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका समयमा भोगेका विपत्तिका सिकाइ सभामा स्मरण गरिएको थियो । यस्तै विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पुर्याएको प्रतिकुल असरको लेखाजोखा गरेर विपदका समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील सहरका रुपमा रुपान्तरण गर्न संकल्पमा जोड दिइएको थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
यस वर्ष काठमाडौँ महानगरपालिकाले आज दिउँसो १ बजे खुला मञ्चमा मूल समारोह आयोजना गर्नेछ । यस अवसरमा विपद पूर्वतयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि, सेवा प्रदर्शन गरिनेछ ।
गएको वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ नारा राखेर दिवस मनाइएको थियो । २०८० सालमा ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ २०७९ सालमा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ २०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’, ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवसका कार्यक्रम मनाइएका थिए ।
विश्वमान चित्रमा भूकम्पजन्य विपदका दृष्टिले नेपाल ११ औँ स्थानमा छ ।
स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनु हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, नगर प्रहरी जवान बिरेन्द्र शाही, नगर प्रहरी जवान पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ्, सशस्त्र प्रहरी जवान जसबिर शाह तेली हुनुहुन्छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App