वि.सं.: २०८२, माघ २ शुक्रबार
इ.स.: 2026 January 16, FRIDAY
वि.सं.: २०८२, माघ २ शुक्रबार
विकास र विपदको सम्बन्धलाई देखेको नदेख्यै गर्न नहुने वक्ताहरुको भनाइ
काठमाडौँ । भूकम्पको कम्पनले नभइ कमजोर संरचनाका कारण जनधनको क्षति हुने भएको बताउँदै अधिकारीहरुले भवन निर्माण संहितालाई हरेक भवन निर्माणकर्ताले ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । २८ औँ भूकम्प सुरक्षा दिवस २०८२ का अवसरमा काठमाडौँको खुला मञ्चमा आयोजना गरिएको मूल समारोहमा बोल्ने पदाधिकारीले अन्तरसरकार सम्बन्ध, निजी क्षेत्र तथा समुदायसँगको सहकार्य र नियमित कार्यक्रममा जोड दिँदै सुरक्षित भवन निर्माणमा एक दृष्टिले काम गर्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा गृहमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष ओमप्रकाश अर्यालले, आर्थिक सामाजिक संरचनामा प्रकोपले गहिरो असर पार्ने बताउँदै यस प्रकारको असर रोक्न एकीकृत प्रतिकार्यको खाँचो देखाउनुभयो । ‘शासकीय पद्धतिका रुपान्तरण हुँदै विपद प्रतिकार्यको संयन्त्र विकास हुँदै गएको छ । तर, यो पुग्दो छैन । यसलाई थप विस्तार र परिस्कृत गर्दै लैजानु पर्नेछ ।’ मन्त्री अर्यालले धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै सहरी विकास, भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रा. डा. कुमार इङ्नामले, प्रकोपलाई विकाससँग जोडेर हेर्नु पर्ने खाँचो देखाउनुभयो ।
‘दिवसका कार्यक्रमहरुलाई औपचारिकतामा सीमित हुन दिनु हुँदैन । यसको समीक्षा गर्नुपर्छ । समीक्षाको वस्तुगत तथ्यलाई विपद व्यवस्थापनमा समुदायको क्षमता बढाउनमा प्रयोग गर्नुपर्छ ।’ समारोहका अध्यक्ष एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘प्रचलित कानुन तथा मापदण्डको कार्यान्वयन, प्रविधि तथा प्राविधिक क्षेत्रको विकास र विस्तारसँगै रैथाने सिपसँग सम्बन्धित तथ्यले उत्थानशील सहर निर्माण गर्न सहयोग पु¥याउँछ । विपद प्रतिकार्यको योजना, कार्यक्रमको थालनी यही विन्दुबाट प्रारम्भ गरौँ ।’
कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्ट, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इञ्जिनियर रविन्द्र बोहोरा, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अध्यक्ष आमोदमणि दीक्षितलगायत बक्ताहरुले, सुरक्षित संरचना बनाएर वहुपक्षीय प्रकोपबाट बच्ने दिशामा सबैको संकल्प चाहिएको बताउनुभयो । यसअघिका प्रयास र संस्थागत क्षमतालाई सीमित नगरी विस्तार गर्दै जानुपर्नेमा उहाँहरुको जोड थियो ।
मूल समारोहमा १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको कम्पन सम्झना गर्दै हातेमालो गरिएको थियो । यस्तै भूकम्प आउँदा बच्ने प्रयासका विषयमा प्रदर्शनी तथा सन्देश प्रवाह गरिएको थियो । आज र भोलि २ दिन खुला मञ्चमा विपद पूर्वतयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि, सेवा तथा क्षमता सम्बन्धी प्रदर्शनी राखिएको छ । यसमा प्रकोपको प्रतिकार्य, खोज तथा उद्धार, पुनस्थापना, पुनर्लाभका लागि काम गर्ने सरकारी कार्यालय, सुरक्षा निकाय, गैरसरकारी संघसंस्थाका २४ वटा प्रदर्शनी कक्ष छन् ।
यस वर्ष ‘सबै तहका सरकार, सवै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित २८ औँ भूकम्प सुरक्षा दिवसका विविध कार्यक्रम आयोजना गरिएका छन् । आज विहान काठमाडौँ महानगरपालिकाको आयोजनामा भूगोल पार्कमा भूकम्पबाट ज्यान गुमाउनेहरुको स्मृति र विगतका कमजोरी दोहोरिन नदिने संकल्पका लागि भूकम्प स्मृति सभा आयोजना गरिएको थियो । १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्याउने प्रतिवद्धता जोडिएको छ । विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
१९९० को भूकम्पका कारण ३ हजार ८५० जना पुरुष र ४ हजार ६६९ जना महिला गरी ८ हजार ५१९ जनाको ज्यान गएको थियो । त्यस बेला काठमाडौँ उपत्यकामा मात्र करिब ४ हजार ५ सय जना व्यक्तिको ज्यान गएको तथ्याङ्क पाइन्छ । २०३७ सालमा बझाङ् केन्द्रविन्दु भएको ६.४ म्याग्निच्युडको भूकम्पले २ हजार ५ सय घर भत्किएको र ४६ जना व्यक्तिको ज्यान गएको थियो ।
त्यसपछि २०४५ साल भदौ ५ गते उदयपुर केन्द्र भएको ६.६ म्याग्निच्युडको भूकम्पले ४० सेकेण्ड हल्लाएको थियो । यसबाट ७५० जना व्यक्तिको ज्यान गयो । २०६८ सालमा असोज १ गते ताप्लेजुङ् र भारतको सीमा क्षेत्र केन्द्रविन्दु भएको भूकम्पमा १११ जनाको ज्यान गएको थियो । २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएको ७.६ म्याग्निच्युडको भूकम्पमा ८ हजार ५५६ जनाको ज्यान गएको थियो ।
२०७९ कार्तिक २३ गते डोटी केन्द्रविन्दु भएको ६.६ म्याग्निच्युडको, २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण नेपाली समाजले समयसमयमा विपत्तिको सामना गरिरहनु परेको छ । यी भूकम्पले मानव समाज, भौतिक, सामाजिक तथा सांस्कृतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पुर्याएको प्रतिकुल असरको लेखाजोखा गर्नु र वास्तविकता असर पत्ता लगाउनु अहिलेको आवश्यकता हो ।
यस्ता आवश्यकता स्मरण गराउन मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत गएको वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ नारा राखेर दिवस मनाइएको थियो । २०८० सालमा ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ २०७९ सालमा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ २०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’, ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवसका कार्यक्रम मनाइएका थिए ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App