वि.सं.: २०८३, वैशाख ४ शुक्रबार
इ.स.: 2026 April 17, FRIDAY
वि.सं.: २०८३, वैशाख ४ शुक्रबार
पत्रकार भेटघाट गरेर कार्यक्रमका बारेमा जानकारी प्रदान
काठमाडौँ । काठमाडौँको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिवार त्यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम सुरु हुने आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । महानगरपालिकाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले यस सम्बन्धी जानकारी दिनुभएको हो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, वडा नं. २५ का अध्यक्ष राजेश डंगोलसहित पदाधिकारी हुनुहुन्थ्यो ।
कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।
कार्यक्रममा प्रस्तुत प्रेस विज्ञप्तिको पूर्ण पाठ
आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जानेछ । पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउनेछ ।
यस क्रममा २०८३ वैशाख ५ गते शनिवारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ हुँदैछन् । आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम थालिने भएको हो ।
मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको छ । परम्परागत चिनारी हराउन थालेका छन् । नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्यु पर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, वीउ विजन र विरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ । यसले वस्तु तथा सामान मात्र नासेको छैन । काठमाडौँको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ ।
यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम ।
सम्पदासँग सम्बन्धित काम गर्दा महानगरपालिकाले गुठियार, समुदाय तथा सरोकारवालासँग समन्वय गर्ने गरेको छ । नेवार सभ्यतामा आधारित काठमाडौँका सांस्कृतिक तथा सामाजिक चालचलन तथा क्रियाकलापहरु कुनै समयमा सरकारबाट कुनै पनि प्रकारको सहयोग नलिइ समुदायले आफ्नै लगानी र सहभागितामा चलाउँदै आएका परम्परा हुन् । जनजीवनसँग जोडिएका संस्कार सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना पनि समुदायकै योगदानमा निर्माण हुने परम्परा हो । समुदायको यो सवलता नै नेवार संस्कृतिको जग हो ।
यो जग जोगाउन असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापहरुको प्रदर्शन र प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन हुनेछन् ।
वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा सुरु हुने कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।
कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइनेछैन । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइनेछैन । वीर अस्पतालबाट महावौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महावौद्ध स्तुपतर्फ प्रवेश पाइनेछैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकल समेत प्रवेश रोकिनेछ । त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि प्रवेश पाइनेछैन । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइनेछैन । कान्तिपथ तर्फ ज्याठा अन्नपूर्ण स्कूलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।
यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । यस्तै यस दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ्, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी साधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्नेछ । यसरी सञ्चालन गरिने कार्यक्रमले स्थानीयबासीहरुको उद्यमशील तथा व्यावसायिक विकास हुनेछ । बालबालिका तथा ज्येष्ठ नागरिकलाई निर्वाध सडकमा हिँड्ने अवसर प्राप्त हुनेछ । यसले असन बजारको मौलिकता बढाउन योगदान दिनेछ । यस्तै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरणीय सुधारमा योगदान गर्नेछ ।
वडा २७ ले सञ्चालन गर्ने कार्यक्रमसँगै वडा २५ क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि वडाले समुदाय स्तरमा छलफल सञ्चालन गरिरहेको छ । छलफलका क्रममा परम्परागत कथन सुन्ने (स्टोरी टेलिङ्), धातु कला, माटोबाट सामान बनाउने कला, महसुस यात्रा, न्यासे बने नु, डवली पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव प्राप्त भएका छन् ।
निःशुल्क वाटर एटीएम मेसिन सञ्चालन
वैशाख ५ गते नै निःशुल्क वाटर एटीएम मेसिन शुभारम्भ हुनेछ । काठमाडौैँ महानगरपालिकाभित्र करिब २ करोड ६० लाख रुपियाँको लागतमा ८ वटा वाटर एटीएम वुथ निर्माण भएका छन् । काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटीएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।
नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौँको खुला मञ्च, महावौद्ध, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कूल बाहिर, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।
धन्यवाद
नविन मानन्धर
प्रवक्ता
काठमाडौँ महानगरपालिका
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App