Logo
  • वि.सं.: २०८२, माघ ४ आइतबार​

  • इ.स.: 2026 January 18,SUNDAY

  • वि.सं.: २०८२, माघ ४ आइतबार​

  • वडाध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ्लाई च्याम्पियनसिप उपाधि 

    १३ तौल समूहका २१० जना खेलाडी बिच प्रतिस्पर्धा सम्पन्न 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ जय बागेश्वरीमा सम्पन्न वडाध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ्ले च्याम्पियनसिप उपाधि प्राप्त गरेको छ । ३ स्वर्ण, २ रजत र २ कास्यसहित डोजाङ्ले उपाधि जितेको हो । प्रतियोगितामा ३ स्वर्णसहित लायन मार्सल आर्ट फस्ट रनरअप बन्न सफल भयो । दिलिप स्मृति तेक्वान्दो डोजाङ् १ स्वर्ण, ३ रजत र ३ कास्य सहित सेकेण्ड रनरअप बन्यो । महानगरपालिकाको वडा नं. ८ को सहयोगमा श्री पिङ्गला तेक्वान्दो डोजाङले प्रतियोगिता आयोजना गरेको थियो । 

    विजेतालाई वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, नेपाली कांग्रेस क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतलगायत व्यक्तित्वहरुले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । 

    प्रतियोगितामा १३ तौल समूहमा २१० जना महिला र पुरुषहरु खेलाडी बिच छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । क्योरुगी जुनियर पुरुषमा ४५ केजीमुनि, ४८ केजीमुनि र ५१ केजीमुनि तथा महिलामा ४२ केजीमुनि र ४६ केजीमुनि तथा सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि र ६८ केजीमुनि तौल समूहमा खेल खेलाइएको थियो । महिलातर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुनि तौल समूहमा स्पर्धा गराइएको प्रतियोगिता सहसंयोजक सुरेन्द्र डंगोलले जानकारी दिनुभयो । 

    हरेक प्रतिस्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

    उपप्रमुखबाट उद्घाटन
    महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको समुद्घाटन गर्दै खेलका हरेक अन्तरराष्ट्रिय प्रतिस्पर्धामा देशको पहिचान देखिने गरेको बताउनुभयो । ‘यही पहिचानलाई उज्वल बनाउन वडा स्तरबाट सञ्चालन हुने यस प्रकारका प्रतियोगिताहरुले खेलाडीहरुलाई आत्मविश्वाश बढाउँछ ।’ डंगोलले भन्नुभयो, ‘खेलाडीहरुको क्षमता विकास कार्यका लागि महानगरपालिकाले पूर्वाधार तथा मानव पुँजी विकासमा लगानी बढाएको छ ।’

    ‘स्थानीय स्तरका सानातिना प्रयासहरुले राष्ट्रिय र अन्तरराष्ट्रिय खेलका लागि ठुलो योगदान हुनेछ ।’ वडाध्यक्ष संगतले भन्नुभयो, ‘विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघले सञ्चालन गर्ने प्रतियोगिताको नियम खेलाडीहरुमा महसुस गराउनु प्रतिस्पर्धाको उद्देश्य हो । यसमा सहभागी हुने सबै विजेता हुन् ।’ 

    कार्यक्रमका बक्ताहरुले हारलाई सजिलै स्वीकार गर्नु नै खेल क्षेत्रबाट सिक्नु पर्ने महत्वपूर्ण पाठ भएकोमा जोड दिनुभएको थियो । 


     
     

  • प्रकाशित मिति आइतबार​ ४ माघ २०८२ १०:३८ AM