Logo
  • वि.सं.: २०८२, माघ ५ सोमबार

  • इ.स.: 2026 January 19,MONDAY

  • वि.सं.: २०८२, माघ ५ सोमबार

  • प्रमुख शाहको राजीनामा कार्यपालिकालाई जानकारी : कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा बैठक सम्पन्न 

    प्रमुख शाहले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिनुभएपछि कार्यवाहक प्रमुखको अध्यक्षतामा बैठक 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको विषय कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका बैठकमा जानकारी दिनुभएको छ । आजबाटै लागू हुने गरी प्रमुख शाहले राजीनामा दिनुभएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै डंगोलले, कार्यपालिका वैठक बोलाएर राजीनामाको विषयमा जानकारी दिनुभएको हो ।

    बैठकमा उहाँले, नेतृत्वमा रहेर प्रमुखका रुपमा शाहले महानगरपालिकाको विकास, सुशासन, सहरी व्यवस्थापन र समृद्धिका लागि पुर्‍याउनु भएको योगदानको प्रशंशा गर्दै पदमा नरहे पनि उहाँबाट निरन्तर सल्लाह, सुझाव र सहयोग प्राप्त भइरहने अपेक्षा व्यक्त गर्नुभयो । 

    उहाँले प्रमुख शाहको आगामी लक्ष्य प्राप्तिका लागि महानगरपालिकाका तर्फबाट शुभकामना प्रकट गर्नुभएको थियो । 

    प्रमुख शाहले आज स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै उपप्रमुख समक्ष राजीनामा दिनुभएको थियो । उहाँले अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गर्नुभएको छ ।  

    स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । 


  • प्रकाशित मिति आइतबार​ ४ माघ २०८२ ०७:१२ PM