वि.सं.: २०८३, वैशाख ५ शनिबार
इ.स.: 2026 April 18,SATURDAY
वि.सं.: २०८३, वैशाख ५ शनिबार
आजबाट सुरु भएको कार्यक्रम हरेक शनिवार सञ्चालन हुनेछ : कार्यक्रम विस्तार गरेर वडा नं. २५ मा पनि लगिनेछ
काठमाडौँ । काठमाडौँको प्राचीन सहरी बस्ती असं (असन)को मौलिकता फिर्ता गराउन आज देखि पुनरुत्थान अभियान सुरु भएको छ । असं डवलीमा आयोजित विशेष समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अभियान शुभारम्भ गर्नुभएको हो । उद्घाटन अघि कःमिलाछी (दरबार हाइस्कूल छेउ) देखि असनसम्म, असनदेखि भोटाहिटी, महावौद्ध स्तुप हुँदै क्यलःत्वाः (केलटोल) सम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो । यस क्षेत्रमा १३ वटा गुठि तथा परम्परागत बादन तथा गायन समूह छन् । पदयात्रामा परम्परागत समूहका सदस्यहरुले वादन तथा सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । क्यलःत्वाः पुगेपछि अभियानको निरन्तरताका लागि कार्यक्रम वडा २५ का अध्यक्ष राजेश डंगोललाई हस्तान्तरण गरिएको थियो ।
यसै क्रममा कार्यवाहक प्रमुख डंगोललले, कःमिलाछी र महावौद्धमा निर्माण गरिएका निःशुल्क वाटर एटीएम वुथको उद्घाटन गर्नुभएको थियो ।
यसरी सुरु भएको अभियान अब हरेक शनिवार विशेष कार्यक्रमसहित सञ्चालन गरिनेछ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम चल्नेछन् ।
कार्यक्रम शुभारम्भ गर्दै कार्यवाहक प्रमुख डंगालले, असं (असन) सहरी बस्ती मात्र नभइ काठमाडौँको इतिहास र पहिचान बोकेको स्थान भएको बताउँदै यसको मौलिक स्वरुप फर्काउने अभियानमा स्थानीयवासीको गहिरो अपनत्व रहने अपेक्षा गर्नुभयो ।
‘घरबाहिर हजारौँ वर्षको इतिहास बोकेका जीवन्त वस्तु तथा संरचना छन् । तर, सडकमा गाडी भएका असुरक्षा महसुस गरेर कुनै पनि घरबाट बालबालिकालाई अभिभावकले बाहिर पठाउनुहुन्न । घर बाहिर नआएपछि आँगनमै भएका प्राचीन महत्वका बस्तुसँगको बालबालिका परिचित हुनै पाउँदैनन् । यसरी हाम्रा पूर्खाले सुम्पेको अमूल्य नासो सन्ततिका लागि महत्वहीन बन्ने दिन आउन सक्छ । त्यसैले अमूल्य यी सम्पत्तिलाई मूल्य नै नभएको अवस्थामा पुग्नबाट बचाउन हामीले पुनरुत्थान अभियान थालेका हौँ ।’ डंगोलले भन्नुभयो, ‘सहर सबैका लागि हो । सवारी साधन गुडाउनेको जत्तिकै निर्वाध आवतजावत गर्न पैदलयात्रीले पनि पाउनु पर्छ । पैदलयात्रीको यो अधिकार सरकारले पूरा गर्छ । बालबालिका र ज्येष्ठ नागरिकले घरबाहिर आएर धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा भाग लिन पाउनुपर्छ । हामी यो कार्यक्रममार्फत पैदलयात्रामैत्री सहरी, ज्येष्ठ नागरिक र बालमैत्री सहरी व्यवस्थापनमा महानगरपालिका काम गर्दैछ भन्ने स्पष्ट सन्देश दिन चाहन्छौँ ।’
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, असन क्षेत्रमा हरेक शनिवार हुने कार्यक्रमहरु क्रियाकलाप मात्र नभइ नेवार सभ्यतालाई निरन्तरता दिने अभ्यास पनि भएको बताउनुभयो । ‘नेवार सभ्यतामा संस्कृति तथा परम्परालाई निरन्तरता दिन विभिन्न जातलाई कार्य विभाजन गरिएको हुन्छ । समुदायमा बाँडिएका कामहरु अन्तरसम्बन्धित हुन्छन् । यसरी समाज बाँधिएको र अरुप्रति उत्तरदायित्व वहन गर्ने खालको हुन्छ । यो परम्परा बचाउन कागजमा लेखेर होइन । अभ्यास गर्नुपर्छ ।’ संगतले भन्नुभयो, ‘हामीले वडा नं. ५ नरःदे (हाँडीगाउँ)मा यस्तै कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेका छौँ । वडा २७ पछि वडा नं. २५ मा लैजाँदैछौँ । वडा ८ मा भौतिक पूर्वाधार निर्माण सकेर थालनी गर्छौँ ।’
यस्ता कार्यक्रमहरु सरकारले मात्र गरेर सफल हुँदैनन् । समुदायको सहभागिता र अपनत्व चाहिन्छ । उद्घाटन कार्यक्रममा वडाध्यक्ष योगेशकुमार खड्गीले भन्नुभयो, ‘हामीले नेतृत्व गरे पनि
यसको सञ्चालन सम्बन्धित क्षेत्रका गुठी, क्लव, संघसंस्था, खलपुचः तथा युवाहरुले गरिरहनुभएको छ । यसकारण हामी कार्यक्रम सफल हुनेमा आशावादी छौँ ।’
कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन भइरहेको छ ।
यसरी सञ्चालन हुने क्रियाकलापले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने, पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउने महानगरपालिकाले अपेक्षा गरेको छ ।
महानगरपालिकाले गरेको यो अपेक्षाको प्रशंशा गदै अन्नपूर्ण आरसीटी क्लवका अध्यक्ष राजेश श्रेष्ठ भन्नुहुन्छ, महानगरपालिकाको कार्यक्रमले असन क्षेत्रको पौराणिक महत्व फिर्ता हुने अपेक्षा गरेका छौँ ।
असन नुनदेखि सुनसम्म, हरेक जाति समुदायका जन्मदेखि मृत्यु पर्यन्तका संस्कार, संस्कृति र चाडपर्वमा चाहिने सामान पाइने ठाउँ हो । यस क्षेत्रमा वीउ विजन र विरुवा पनि पाइन्छ । परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ हो । यस क्षेत्रमा धार्मिक, सामाजिक क्रियाकलाप हुने डवली, पाटी, वहाल, बही, चुक ननीहरु छन् । यस्ता सम्पत्ति नासिँदै गएको र भएका सम्पत्तिमा पनि नकारात्मक प्रभाव पर्न थालेपछि यसलाई बचाउन कार्यक्रम थालिएको हो ।
कार्यक्रम अन्तर्गत असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, परम्परागत तथा रैथाने व्यापारिक क्रियाकलाप, समुदायमा परिचित गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्न स्थानीयबासीको आयमा टेवा पुग्ने कार्यक्रम चल्नेछन् ।
कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न रोकिएको छ । भोटाहिटी कलश ढोकाबाट असनतर्फ, वीर अस्पतालबाट महावौद्ध स्तुपतर्फ, वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महावौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध गरिएको छ ।
इन्द्रचोकबाट मच्छिन्द्र वहालतर्फ, त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि सवारी प्रवेश रोकिएको छ । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध छ । न्हकेटलाबाट असनतर्फ जान पाइँदैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कूलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिएको छ ।
यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ । असन आउने आगन्तुकका लागि धरहरा भूमिगत पार्किङ्, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी पार्किङ् गर्ने व्यवस्था गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App