Logo
  • वि.सं.: २०८३, वैशाख ७ सोमबार

  • इ.स.: 2026 April 20,MONDAY

  • वि.सं.: २०८३, वैशाख ७ सोमबार

  • पूर्वाधार निर्माणसँगै वातावरणीय सुधार, स्वस्थ्य जीवनलगायत योजनामा अपेक्षा रहेको वडा २९ वासीको भनाइ

    आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग अन्तरक्रिया

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २९ वासीले बाढी नियन्त्रण, सडक, ढल तथा खानेपानीका कार्यक्रमसहित पूर्वाधार निर्माण, प्रदुषण नियन्त्रण, हरियाली प्रवर्धन, पार्क निर्माण लगायत वातावरणीय सुधार, ध्यान, योग, व्यायामसहित स्वस्थ्य जीवनका कार्यक्रम सञ्चालनको माग गर्नुभएको छ । वडाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट, कार्यक्रम तर्जुमा गर्न आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा टोल सुधार समिति, उपभोक्ता समिति, स्थानीय क्लव तथा संघसंस्था, साझेदार, सरोकारवालाहरुले यस्तो अपेक्षा व्यक्त गर्नुभएको हो । उहाँहरुले, विपद पूर्वतयारी, उद्यमशीलता, खुला स्थानहरुको संरक्षण र सबैको पहुँच वृद्धि, बालबालिका, ज्येष्ठ नागरिक र महिला लक्षित कार्यक्रमको अपेक्षा गर्नुभयो । 

    त्यस क्रममा धोवी खोलामा आउने बाढीबाट हुने जोखिम घटाउने, करुणाकेशर, वेणुगोपाल मन्दिर व्यवस्थापन, सहरी सुरक्षाका कार्यक्रम, होस्टललगायतका व्यवसाय सञ्चालन, सामाजिक मनोविमर्शका कार्यक्रम सञ्चालनको अपेक्षा छ । 

    स्थानीयको अपेक्षा सुनिसकेपछि वडाध्यक्ष कुश ढकालले भन्नुभयो, ‘सबै मिलेर, सबैका लागि लाभ हुने गरी योजना तर्जुमा गर्छौँ । यसरी तर्जुमा गरिएका कार्यक्रम कार्यान्वयनका लागि सबैले दायित्व बोध गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ 

    वडाबासीले अपेक्षा गर्नुभएका कतिपय समस्याहरु नीतिगत समस्याका कारण समाधान गर्न नसकिएका हुन् । वडा सचिव शम्भु बरालले भन्नुभयो, ‘सहज सहरी आचरणबाट सहरी सुरक्षा, पूर्वाधार एवं सामाजिक व्यवस्थापनका काममा सहभागितामूलक कार्यक्रमलाई प्राथमिकता दिनेछौँ ।’


     

  • प्रकाशित मिति आइतबार​ ४ जेठ २०८२ ११:२३ AM